This page has not been proofread
(१९)
डेरालाई दिई घेरा जबर्जस्ती सबै पसे
जायाजात लिनालाई आएका फौजझैँ बसे
(२०)
कुनै घुच्च्याउने तेसै कुनै चिच्च्याउने पर
गर्न थाले कुनै लुच्चा ठाडै घिच्याउने सुर
(२१)
राँका लिएर आएका डाँका-तुल्य कडा बनी
हाकाहाकी दिए हाँक छाक पार्छौँ यहीँ भनी
(२२)
दुष्टको धुइरो लम्बा पुसको कुइरो सरी
झ्यालैबाट घुस्यो भित्र विचित्र रमिता गरी
(२३)
बाजा गग बजाएर राजाझैँ दङ्ग भै पसे
ताजा रगतका धारा खाजा पारे भुँडी कसे
(२४)
म शिकार थिएँ यौटा ती शिकारी कडोरन
रक्त मानू बिलो लाए थोपाथोपा गनीकन
(२५)
खाई भतेर फालेका टपरीमा बडा छुचा
कागझैँ खल्बलाएर धस्न थाले कडा चुचा