भाइबहिनीहरूको व्यवहार सिद्धिई हलौं भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिवनारान अत्यधिक खुसी छन् । रोपाइँ सिद्धिएदेखि शिवनारान अहर्निश खेतैमा रहेका थिए । खेतमा मिहिनेत र धावा गरेअनुसार सफलताका चिह्नहरू पनि देखा पर्न थालिसकेका छन् । धानका बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू मुजुराउन पनि थालिसकेका हुन् कि जस्तो लक्षण देखा परिसकेको छ ।
शिवनारान निथ्रुक्क पानीमा रुजेर पनि खेतमा काम गरिरहन्थे । किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी छिन् । शिवनारान हाकुमायालाई बराबर आफूले जस्तै खेतमा तपस्या नै गरि रहन आह्वान गरिरहन्थे । उनी हाकुमायालाई भन्थे- "हाकुमाया ! तिमी अलि अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनुपर्छ किनभने किसानको परिश्रम र पसिना नै जगत्को जीवन हो र जिन्दगीको ज्योति हो ।"
"तपाईं त मलाई सधैं सुतेर खाइरहेकी छ जस्तो कुरा गर्नुहुन्छ, के त्यस्तो आराम लिइरहेकी छु मैले ?" एक दिन हाकुमायाले फर्केर भनिन् । "लौन त आराम लिएकी छैनौ भने जाऔं न काम गर्न ।" अलि ठट्टाको भावमा शिवनारानले भने ।
"के काम गर्नु छ र अहिले ?" हाकुमायाले भनिन् ।
"खेतमा धानको शत्रु फार केलाउनु छ । एउटाएउटा फार खोजी खोजीकन उखेल्नुपर्छ हाकुमाया । फार, घाँसले बिरुवालाई साह्रै हानि गर्छ,