Jump to content

Page:Ek chihan.pdf/28

From Nepali Proofreaders
Revision as of 11:04, 13 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

सान्त्वनाप्रद कुरा गर्नमा पनि सिपालु थिए, त्यसैले उनले अरूले भन्दा बढ्ता अष्टनारानको परिवारलाई धैर्य र सान्त्वना दिलाउन सके । गोदत्तप्रसाद पूरा एक घण्टा बसेर गए । उनले अष्टनारानकी धर्मपत्नी लतमायालाई पनि निकै सम्झाइबुझाइ गरी वेदना बिर्साइदिए ।

आफ्नो जाति र समाजमा भएको मर्दापर्दा दानदक्षिणा दिने र भोज भतेर खुवाउने इत्यादि करै लाग्ने चालचलनमाथि अष्टनारान घृणा र आलोचना मात्र गर्ने होइन, आक्रमण गरी उघाड नै खुवाई आइरहेका थिए। मर्दा नजिकका नाता, सम्बन्धीहरू रोएर बिचा: आउने प्रथालाई उनले बन्द गरिदिएका थिए । शिवनारान र उनका अरू भाइहरू पनि बाबुको क्रान्तिकारी विचारबाट प्रभावित थिए । यसैले उनीहरूले पनि बाबुको नाममा दानदक्षिणा दिने र भोजभतेर खुवाउने कुनै पनि काम गरेका थिएनन् । ‘बाबुप्रतिको हाम्रो परम श्रद्धा यही हो’ भन्ने उनीहरूको भनाइ थियो ।

पितृशोकको तेस्रो दिनदेखि शिवनारान आफ्नो खेतको कामधन्दामा हिँडे । ‘बाबुको सिद्धान्त पनि हमेसा आफ्नो कामकर्तव्यमा रुजु हाजिर भएर पूर्णत्व प्राप्त गर्नु हो, यसैले बाबुको मरण भनेर हामीले अकर्मण्य भएर बस्नु ठीक छैन’ भन्ने बोध गराई शिवनारानले भाइहरूलाई पनि आआफ्ना कामधन्दामा हाजिर गराउन पठाए ।