This page has not been proofread
हालमा नयनाऽऽनन्दी हरियो कान्तिमाधुरी।
गहुँबारीसिवा अन्त छैन यो पृथिवीभरी।।
गहुँका हरिया साना पातमा बिन्दु शीतका।
पन्नामाथि जडायेका मोती झैं देखिये निका।।
पापी शिशिरको सेतो शीतको शीतनिर्मित।
छाता झैं रातमा चन्द्र देखिन्छन् शैत्यपूरित।।
उनै पूर्णकलाधारी सुखकारी सुधामय।
इन्दुका चाँदनीबाट हुन थाल्यो सदा भय।।
धामीतुल्य सबै लोक काँपेका देखि थर्थरी।
चन्द्रले चाँदनीरूप खित्का छोडे कि बेसरी?।।
चीसो तपतपाऽऽकार चाँदनीरूप चादर।
ओढी उग्र तपस्यामा मस्त छन् कि निशाकर?।।
हालमा चन्द्रको छैन सूर्यको झैं प्रशंसन।
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा नरम्पन?।।
भयेदेखि हिजोआज उनै साथी उनै मनी।
सहसा शीतबाधाले सकदैन छुनै पनि।।
बढालू रसिला सोझा जातिजम्मा उखूकन।
लोक लाग्यो विजेता झैं चूर्ण पारी चपाउन।।