रामकान्त खूब पढ्न लागिरहेका थिए, रातरातभर । पहिला हुने उनको सुर थियो । प्रवेशिकाको परीक्षाका लागि विशारदसम्मका सब चीज उनी तयार गर्न लागेका थिए । दोस्रो मनुष्य आफूउपर नहोस् भन्ने भावना राजा, मन्त्रीमा मात्र हुँदैन, यो परिक्षाको संसारमा पनि विद्यार्थीवर्गमा पाइन्छ । प्रथम हुनुमा एक साम्राज्यको भावना सिद्ध हुन्थ्यो । रूपमा उनी पछाडि परेका थिए । भ्यागुतोजत्तिकै बौद्धिक सौन्दर्यको प्रतियोगिता थियो । शिक्षाको केन्द्रहरूमा । यसलाई ग्रीकहरूले पूजा गरेका थिए । आफ्नी सरस्वती काँचै थिइन् तापनि जुपिटर सम्राट्को ज्वालामुख साम्राज्य एक भारी विलास हुन्छ जस्तो नराम्रा पण्डितहरू राजसभामा कायम गर्दछन् । उनलाई गौरीशङ्करको मोहनी लाग्यो । यस सङ्ग्राममा म भिक्टोरिया क्रस प्राप्त गर्छु । यस कुभावनामा परेका धेरै फोक्सा बिग्रे, धेरै कलेजा सुके । क्षयको कीटाणु मनुष्यभन्दा चङ्ख हुन्छ त्यस बेला जब मनुष्यले बुद्धू हुने काम गर्छ ।
कीटाणुले भन्यो, "को घाममा कम बस्छ ! को हावामा ज्यादा निस्कँदैन, यो शारदीय निर्मल समयमा, हँ ?" साना सर्पजस्ता काला सूक्ष्मवीक्षण यन्त्रका अल्पजीवहरू जीवनको प्रतियोगितामा पहिला हुँला भन्ने आशाले हावा-धूलोमा घुम्दै आए ।
बस, बिहा गरेको डेढ वर्ष हुनासाथ रामकान्त अधिकारीलाई डाक्टरले कालको वारन्ट दियो … "दुवै फोक्सा प्रभावित, भक्षित भयङ्कर धब्बाहरू … आयु चार महीना …… राम्रो औषधि व्यवहार नभए ।"
रामकान्तले किताबहरू सल्काए । सब मास्टर, प्रोफेसरलाई भयानक गाली दिए । "के यिनीहरूले हामीलाई पहिला हुन प्रेरणा दिएको यत्तिका निमित्त ? ग्रेजुएट भएका कति जीवनमा फेल खाइरहेछन् । बी.ए.मा विश्वास गराउनु के एक भयङ्कर धोखाबाजी होइन ? किन स्पष्ट भन्न सक्तैनन् तिनीहरू बढ्दो फुल्दो नयाँ पुस्तान नौजवानअगाडि, हामीहरू बिलकुल महामूर्ख हौँ । लवज बेचेर खाने हाम्रो यो चालाकी हो । हाम्रो पाठनकलामा विज्ञान छैन । हामी जीवन विकासक होइनौँ । हामी उदरपूरक हौँ । हामी पाश्चात्य सभ्यताले युवक भाँडेर खान्छौँ, पछि गुरु तथा तानाशाहका पन्जाबाट आत्मसंस्कार र