Jump to content

Page:Champa.pdf/12

From Nepali Proofreaders
Revision as of 15:47, 11 June 2025 by Rbn (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

रचना गरेर वास्तविक मांसयुक्त स्वामी मूर्तिको कमी पूरा गर्दछन् ।" त्यति चिसा बूढालाई सम्म हृदयमा सानो डाहाडको अङ्कुर पैदा भयो "के हामी पुरुषहरु यिनका खेलौना मात्र हौं ?… नकली भावले पूजा गरिने त्यस वस्तुको प्राप्तिको निमित्त जसलाई उनीहरू आदर्श सुन्दर पुरुष मान्दछन् !"

"ए निशा !" सुब्बाबाजेले टिप्पणी गरे, "ठाँट अल्लि ज्यादा भएन तिम्रो ?"

सुब्बेनीबज्यैले वरिपरि हेरिन्….."आज कृष्णपूजाको तयारी भएर मात्र । उस्तो ज्यादा मलाई पनि कहाँ मन पर्छ र ?"

नजिकको मेचमा बसेर बूढा भन्न लागे, "विचार गरन, ऋषि- मुनिलाई मूढोको मञ्च कस्तो थियो, वनको छहारी, फूलपातको सिँगार । कृष्णाष्टमी भन्छौ भन्न त तिमीहरु… म त यस चाडमा पनि यन्त्रको युग आएको पो देख्न लागेँ । विचार गर, यो बुलुको कार्चोपीको चोली र चुनुको रेशमी सारी । कति फलामको क्रियाले तयार भए यी त । यो रेशमको युग भनेर तरुणो दुनियाँ सलसलाएर फुरुक्क पर्छ । म भन्छु रेशमको भित्र हजार हत्या छ… अनगिन्ती पुतली मार, ठिटीहो ! यो रेशम निर्दयी छ । यसले तिमीहरूको नसा सुक्नेछ एक दिन । दूधका सिर्का शिशुका मुखमा जाने छैनन्, भोलि-पर्सि हामी बोक्रे भएरहेछौँ, आत्मा आज टाढा गइसक्यो, कुरकुरे बैँसको अन्धो खोल यो रेशम, यसमा प्रशस्त जलन छ, के नेपाल राम्रो भयो ? के तिमीहरु राम्रा भयौ ? यो बरो हो, वैरो होइन । हामी छालामा आएर नाच्छौँ । ठिटीहो ! अहिंसाको व्रत पालन गरन ।"

वाल्ल परेर चकित नजरले दुई बुहारीले ससुराको मुहार जाँचिरहे, एकछिन ।

तब एकले दोस्रोलाई कोट्याएर मुसमुसाए, घुम्टोको पर्दापछाडि ।

उनीहरूलाई बूढोले के भन्न खोजेको हो, राम्ररी चढेन । "ज्यादा सिँगारिए वेस हुन्न भन्या होला । उत्ताउली बनिन्छ रे !"

बूढाले एकछिनपछि थपे "वस्तुको व्यावहारमा चरित्र छ, लसुन नखानु नै बाहुन हुनु हो । तिमीहरू वृत्ति भाँडिरहेछौ । इसामसीहको स्वर्ग गुमेको कथाजस्तो हुनेछ, नेपाल एक दिन माक्क हुँदा बुझौला तिमीहरू ।"