देखिन् । उनलाई भयंकर विचारहरूले घचघच्याउन लागे । मौन वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो के होला ? ……..
एक किसिमको अस्पष्ट डर । वैधव्य ? ……. चुरा पोते नभएको । श्रृंगारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो गोधूली मुहार वैधव्य-सेतो चन्दन र जपमाला लिएको वैधव्य ! जीवनमा उनलाई श्रृंगारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।
चम्पालाई बराबर के के उकुसमुकुस भएझैँ हुन्थ्यो-उनी बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन्- भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित कुमारी सुगन्ध बहिरहेको थियो-शायद यो च्याखुराहरूको जुनेली चैतले बुझ्नसक्दथ्यो ! यस वेला, यस बैंसमा भँवरा मीठो हुन्छ ! कानमा मधुर प्रशंसा, त्यो थिएन । स्वामीजी टोखामा भर्ना भएका थिए । चम्पा केही वस्तुको अभावले चटपटाउँ थिइन् पनि । केही चीजको भावले सशंक पनि । उनको कसूरविना केही चीजसँग गाँसिएर उनको जीवनलाई पनि टि.बी. लागेको थियो ।
चम्पा सोचिन्, "के मेरो जीवनको सौगात यत्ति हो ? यो रुप, यो रंग, यो निशाना ?" स्वामीले बिदाइमा दिएको वचन उपर उनले गौड गरिन् । आजाद भयौ ! …… आजादी भन्या के होला ?
… उनले एउटा केटाकेटीद्वारा माष्टरसँग सोध्न पठाइन् ।उसले माने
बताइदियो, "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन, जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।
उनले बुझिन् स्वामीजले उनलाई अमलेख गरिदिएका रहेछन् । तर यो अमलेखीको माने चान्द्र शासनमा कमाराकमारीलाई थाहा नभएझैँ उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो आग्राह्य ।
चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला ।"
त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा हेर्न झन्-झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् ।