Jump to content

Page:Champa.pdf/47

From Nepali Proofreaders
Revision as of 01:18, 12 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

"सायद रोगी भएकाले स्त्रीसँग फसे मरिन्छ भनेर भाग्या होला, जोगी भा होला अब । एक वचन त बोल्नुपर्थ्यो ? हामीसँग पनि ? … कसरी छोड्न सक्नु ? … कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?" अब उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको लहराजस्तो जगत्‌का हावा आँधीमा उनको के दशा हुने अब ? ….. उनी बरबर रुन लागिन् । चौपट्ट चित्त दुख्यो । यसरी अवहेलित हुनु, आह ! "मैले के गरेकी थिएँ र ? के बिराएकी थिएँ र ?" हामी यिन आँसुको विश्लेषण पूरा तवरले गर्न सक्तैनौँ तर चम्पालाई निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ? यो पत्र अरूलाई देखाउन लायक सम्झिनन् । भागेको पक्का रहेछ अब । "संन्यासी या जोगी भा होला ! कसले के भन्या थियो र ? कसले छुनु भन्या थियो र ? अनैतिक कर्म भए घर वैरागी हुन कल्ले छेक्या थियो र ?" इत्यादि ।

चम्पाको हृदयले उसतर्फ पुरुषको हृदयको महती एकान्त वेदनाको एक रत्ती छेउ पक्रन सक्तैनथ्यो । उनी सम्झन्तिन् कि स्त्री त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव थिएनन् फुस्रा हुनेहरूको त कति पनि हिसी हुँदैन । त्यसै जरजरती परेका, अरिमठे मोराहरू । दया भए पो मान्छे । ती पशुपतिमा नाङ्गा भएर धुनी जगाउने मोराहरू पनि त्यस्तै हुँदै हुन् । तिनीहरू पनि त एक सुवासिनी रुवाएर घरबाट निस्क्या होलान् नि ……. दया हुन्छ र दिलमा जोगी भएर मात्र ? …. मान्छे त्यसै स्वर्ग जान खोज्दछन् ।

दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका भावनाहरू प्रधान थिए । विशेषतः यसकारणले कि तिनीहरूमा एक बलिवेदीमा आत्मआहूतिमा परस्पर प्रदर्शन गरिने मिठासको अब अवकाश बाँकी थिएन । भालेले तीव्र वेदनाले प्रस्थान गरेको थियो । नैतिक तत्त्वका लागि समेत । पोथी त्यस प्रस्थानको निन्दा गर्दथी । साथसाथै र आफ्नो निस्सहायता तथा जीवनप्रयोजनको अपूर्तिको चेतनाले दुःखित थिई- हतियार र हराएका योद्धाहरूझैँ जो सङ्ग्रामका क्षेत्रमा आफ्नो बलियो हातबाट विजयास्त्र चट्ट फुत्केर नभेटिने ठाउँमा उडेर पुगेको पाउँछन् । अस्तु ।