बूढाले आखिर हारे ……. ज्योतिषी बाजे आइपुगे ……… भोलिपल्ट चिना खुल्ने भए । तब चम्पालाई नाच्न लगाएर बूढीले एक सेतो नयाँ डबल हातमा राखेर उठाइन् ………. चम्पाको हाउभाउ अत्यन्त मनोहर थियो । बुहारीहरुले भने ठिक्क सिनेमा ….. ।
बिचरी चम्पा बुझ्दैनथिन् राम्ररी बिहा भन्ने चीजको उत्तरदायित्व, महत्व, खतरा । उनी बरावर बिहा गरी वनमा खेल्थिन् । मजा हुन्थ्यो, नकली रुपमा । कुनै वस्तु, घटना कृत्रिमता या यथार्थ रुपभन्दा राम्रो र आनन्ददायक हुन्छ । वियोगात्मक घटना दुःखदायक हुन्छ तर रङ्गमञ्चमा । दुनियाँ त्यसैमा आनन्द मानेर हेर्न जान्छ । बिहा भन्ने चीज भयङ्कर चीज हुन्छ । त्यसको भीषण नाटकमा वास्तविक स्वरुपले अभिनेत्रीको रुप धारण गर्दा दुलहीहरु रुन्छन् । यो व्यक्तित्वको स्वतन्त्रतालाई सीमित गर्ने वस्तु हो । यति गर्हुँगो, छुट्याउने, अन्धकारसँग जोड्ने, यत्रो भीषण यात्रा र खतरा छ । यसले कलमी गर्छ बिरुवाको, जो एक मृत्युको खतरा हो । परिर्वतन विरोधी पौधा मर्छन् । शैशवमा कोही कोही मात्र सप्रन्छन् । धेरै चढ्दो बढ्दो उमेरमा बिग्रन्छन्, बाङ्गिन्छन्, भाँडिन्छन् । अविरोधी पुतलीहरु घर भन्ने पराई जेलमा पनि उत्तिकै चल्छन्, जस्तो माइतीमा । परिवर्तनानुसारी मनको विकाश हुने फुल्छन् । तर बालखको जेलखानाको स्वरुपमा घर भन्ने यति भीषण वस्तु छ- यो अन्तर्दृष्टिरहित पुरुषको चैतन्यको पकडबाहिर छ ।
चम्पाको बिहाखेल रमाइलो क्रीडा थियो । तर अब बिहा हुने रे ? यसै साल । उनलाई एक किसिमको अनौठो डर लाग्न थाल्यो । मन तरङ्गिन लाग्यो । पोइले गहना, हीराका इस्टार, हजार रुपियाँको सारी इत्यादि- पाउडर, सुनको किलीप, काँटा-अनि त के ?- ल्याउँछन् रे ! जस्तो फलानीको बिहामा । वेस । तर सितै ल्या होला त ? उसको पनि त मतलब होला नि ? हामीलाई दासी रे ! ऊँ ? हो ? हामी कमारी हो र ? अनि सासू हुन्छ रे ! हाम्री आमा त असल । चौपट्ट असल । आँखामा हाले पनि नबिझाउने, ब्यारे ! तर अर्काकी आमा ? छिःमाक परी भने नि ? कसै कसैकी आमा एकदम राम्री हुन्न वा ! यति बाक्लो आँखीभौँ बाबै ? अनि कोही कति दुच्छर हुन्छन् !