Jump to content

Page:Champa.pdf/15

From Nepali Proofreaders
This page has been proofread

नाइँ बा ! मलाई अहिले बिहे गर्न केको चासो ? हामी गर्दैनौँ रे, पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता आप्टे, देविका रानीजस्ती बन्छौँ रे कसैको कर लाग्छ ? वाह ! नाइँ बा ! म त बिहे नगर्ने । त्यो पोइ कस्तो छ, कस्तो ! न मधिसेजस्तो छ ! साँच्ची अस्ति राजाकी छोरी दिया कस्तो कलच्वाँठ थियो छिः… दुरुस्त देहाती मधिसे… कत्रो जुँघा ? पूरा खान पनि घीन लाग्लाजस्तो । कसैको गाला खबटे हुन्छ, मुख चुस्स पर्‍या । हामी बाँदरसँग बिहा गर्ने बा !"

यस्ता अनेक तरङ्ग चम्पाका मनमा दुगुर्न लागे- 'पोइ भन्या' के होला ?… साँच्ची ? हाम्री मुमाको पोइ बुबा रे ! तँ यसको भनेर लाइदिया होला अब । एउटा कोठामा सुतेर एउटै थालमा भात खान लगाइदिया होला अब । तर अस्ति कान्छीको पोइले कसरी पिटेको बाबै ! खुकुरीको दापैदापले । छिः कस्तो चण्डाल मोरो ! म भए नबस्ने बा ! यस्ता मोराको घरमा । लोग्नेमान्छे किन त्यति बलियो भा होला ? उसको हत्केला हातको पन्जा नै कत्रो ? हकि ! एक चट्कन दियो भने रिसा वेलामा । ओहो नाइँ बा । हामी ता अहिले बिहा गर्दैनौँ, हामीलाई केको कर ? यसरी चम्पा त्यस रातको आधा-भागसम्म चिन्तित रहिन् जस्तो ज्यानमारा फाँसीको दिनको अघिल्लो रातमा, जस्तो हरुवा हार्ने अघिल्लो दिन । वैयक्तिक चिन्ता पर्दापछाडि रहन्छ, हामी देख्दैनौँ । प्रकाश नभए, मुखमा देखिए मात्र जाहेर हुन्छ । तर आफू, आफ्नो बाँकी जिन्दगानीको राह भन्ने विषय पर्नासाथ मानवपनमा महती समस्या खडा भएर क्रान्तियुगमा प्रजातन्त्र मन्त्रीको द्वार घचघच्याउने शुभचिन्तकहरूझैँ घचघच्याउन थाल्दछन् ।

घडीले दुवै हात जोर्‍यो विधातासँग पानी बर्साउने परमेश्वरको शिरोबिन्दु पदमा । चम्पा तरङ्गले थाकेर लोलाउँदै सुस्त निदाइन् । त्यस रात उनी झस्किन् र कराइन्, धाईआमाले मात्र सुनिन् रे ।