"माक्क ! मोरी !" भनेर चुनुले तल्लो ओठ ट्वाक्क दाँतले टोकिन् । तब ती दुई बुहारीहरु सासूको काठाभित्र पसे ।
अक्सर बूढाबाजेलाई संसारसँग रीस, डाह लाग्दैनथ्यो । उनी शान्त, गम्भीर थिए । तर यो उत्ताउली वयसीहरुको खिसीटेप्लीले उनलाई आफ्नो धार्मिक कल्पनाको जगतबाट अलिकति यस संसारतर्फ सचेत गराइदियो । बूढाले सोच्न लागे । आजकालका ठिटीहरु के विघ्न उत्ताउला ! अलपक्का नजडी आँग नहिलाई, आँखा नतर्की, नचलमलाई त हिँड्नै नसक्ने । कति सिँगारिनु परेको ? सेतो छाला छँदैछ…. बस, गुलाफउपर रङ थप्याझैँ हेरन कति बाक्लो फा ! अनि लाली । नकलीपनाको यत्रो चहलपहल । रेशमी चूरी………ल…. हेरन कपालका पत्ती…….. मुन्द्रा बटार्छन् बा ! दिनभरी कप्ट्यारो सेकाएर………. भौँ टिप्याछन् उस्तै…….. नामै त कामिनी अब …….. कुरकुर बैँस……… कति हाँस्नुपर्यो ल …….. जे देखे पनि कुतकुती लाग्याछ, लाग्याछ…….. ससुरा भनेर रोकिने हुन र ? ……. माक्क मोरी … भनेर हिँड्छन् ए ! कस्ता बेशरम ल ! यिनको माकल हुन आएँ अब ए चपलचन्डी हो ……….. ।'
तर बूढाले उठ्दो रीस दबाए….. यी यस्तै हुन्, सेती पाडीहरु भनेर चित्त बुझाए । उनी खूब राम्रा, लायक थिए आफ्नो बैँसमा । उनलाई रुपको मोहनीले नै धेरै राजाले सुब्बाङ्गी दिएका थिए ।
"ए ! सुब्बा हुन लायक त यिनी पो रहेछन् ए ! जेठ्ठा ! यस्तो रातोपिरो मोटोघाटो मान्छे पो सुहाउँछ, कसो ?"
"महाराज !"
"होइन त ? …….. हेर्न यिनको बल्दो चेहरा, रातोपिरो मान्छे मात्रै मन पर्छ ए ….. मलाई त ! … च्याँसे सुब्बाले कल्की भिर्या राम्रो देखिन्छ त !"
"सुब्बाङ्गी बक्सिन खूब लायक हुन सरकार !"
"अँ ? ऐना स्रेस्ता हेर्या छौ पण्डिता ?"
"ल………. चौबीस सयको मीर सुब्बा भयौ……. रुपियाँ राख ।"
"बस……… त्यो जमाना कहाँ गयो, अब यी मुकुँडीहरुले खिर्र खुर्र गरेर हँस्सी उडाउन लायक रे ए आज त ? …… तरुनीहरु हाम्रा टायममा