म त अब वन बस्ने, जान्नँ प्रासादतर्फ ।
प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्व ॥
प्रचुर धन यहाँ छन्, रत्न-पन्ना-जुहार ।
विजय बहु यहाँ छन् राज्य विस्तार सार ॥
(२१)
हरित कुसुम हाँगा मग्मगी पत्रदार ।
किरण मधुर छिर्ने छन् जहाँ छत्र सार ॥
कुसुम रज छ लावा कीर्तिका गान-पङ्खी ।
पवन चमर डोल्ने हुन्छ सम्राट् अपार ॥
(२२)
खलबल नमचाओ, शान्त यो वन्य छाती ।
कलिसदृश कलीलो भावले भाँतिभाँती ॥
नगर पर छिपेको पत्रले चट्ट छाई ।
समर स्वर सुनेकी बालिका झैं बनाई ॥
मृदु सुख सपनामा झट्ट झस्का पसाई ।
(२३)
घरतिर सब जाओ सुस्तरी चूपचाप ।
बरु हृदय भएका प्रेमले कान थाप ॥
श्रवण ऋषिहरूका सुन्दछन् मञ्जरीमा ।
मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥
(२४)
पछिपछि म त हेर्दै सुस्तरी आउनेछु ।
थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥
अलि छिन पर गर्दा झोँकका कामकाज ।
अमर वन-विहारी बन्छु झन् देवराज ॥"
(२५)
अनुचर तब फर्के, रामका भक्ततुल्य् ।
गिरि-शिखर कुटीका कुञ्ज छाडी अमूल्य ॥
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर ।
वनभ्रमण विलासीको इरादा बुझेर ॥
(२६)
Page:Shakuntala.pdf/144
Appearance
This page has been proofread
