अब वनतिर डुल्दा छन् मिलेका सँगी ती ।
शर चतुर यिनी छन्, तीक्ष्ण त्यो मर्मभेदी ॥
नृपति दश दिशामा किर्तिका हास भर्छन् ।
द्विज चतुर ठट्यौला हास्यले वश्य गर्छन् ॥
(२७)
"छि ! छि ! वनअमिली यी" च्वाट्ट टड्कारिएर ।
चतुर चतुर भन्छन्– "दौंतरी हेर ! हेर !!
अतिशय अमिला छन्– देख्न जिभ्रो रसायो ।
तर पछि रसनामा स्वादले रन्थनायो ॥
(२८)
हुन त सब बिजूलीतुल्य तीखा उज्याला ।
तर ज्वर पछि आई रन्न पार्नेछ गाला ॥
म त यदि दुइ पैसाका मिले चार चार ।
छि! छि ! कति अमिला यी भन्दथें बार बार ॥
(२९)
किन हरि हरि सित्तैं, यो कुरुङ्गी कन्याई ।
रहनु वन अँध्यारो बीचमा रग्मगाई ॥
झिलिमिलि महलैमा ठाँट शृङ्गार पारी ।
मदनविजय गर्ने छन् परी दिव्य भारी ॥
(३०)
चपल नयनवाला रङ्गका चारु गाला ।
कुसुमसदृश छाला चल्मले भौँ छ भाला ॥
शरम सरस चाला, बैंसवाला उज्याला ।
सुकठिन उरवाला चारु रम्भोरुवाला ॥
(३१)
ढलमलसित हिंड्छन् हंसका ढङ्गवाला ।
भ्रमरसदृश काला केशमुन्द्रा उज्याला ॥
जुन चटु नखरामा गर्दछन् मात नाला ।
उनकन किन छोडी लाउने वन्य माला ॥
(३२)
न छ पहिरन राम्रो, शुष्क बोक्रा भिरेका ।
युवतिहरु वनैया छाँट ठिङ्गा परेका ॥
पशुहरु पछि लागून् यी मुकुण्डीहरूका ।
जब उदर छ रित्तो छन् पिँडौला गहूँका ॥
(३३)
Page:Shakuntala.pdf/145
Appearance
This page has been proofread
