Jump to content

Page:Champa.pdf/44

From Nepali Proofreaders
Revision as of 09:54, 20 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread

तँ यसैको लागि जन्मिइस्, तँ मरे के बेफाइदा छ ? ... तेरो जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्य उपयोगको बाटोमा । तँ बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानव–धर्मको वेदीमा । किन डराइस् ?"

तर जीवन–संरक्षिणी शक्तिले जिती । स्वार्थी भावहरु ज्यादा प्रबल हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, त्यो अदृष्ट कसैलाई महामूर्ख बनाएर, गिल्ला उडाएर ।

रामकान्तको हालसालको मूक, निन्याउरो, अलग्गीपना देखेर त्रस्त चम्पा भित्री प्रेरणाले झन्झन् बराबर कोठाभित्र झल्याकझुलुक देखिन थालिन् ।

तब एक रातभर चिन्तनशील युवक रामकान्तले बिहानी तोपका साथ घर छोड्ने निश्चय गरे । उनले भने, "म जिउन चाहन्छु, मर्न चाहन्नँ ।" तब एक चिठी लेखेर चम्पाको शृङ्गारको बाकसभित्र हालिदिए र माताकहाँ मिरमिरे उज्यालोमा गएर भने— त्यस दिन साथीभाइहरुसँग उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख मात्र फर्कने थिए ... घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले झ्यालबाट एक बार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे । आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के ।