Jump to content

Tarun tapasi/tritiya bishram

From Nepali Proofreaders
तृतीय विश्राम


म पनी मुनि-वाक्य-माधुरी-
मुहुनीको वश बेसरी परी ।
चुपचाप थियेँ शनै: शनै:
फिर निस्के मुनिका कुरा उनै ॥


बित्यो वर्षा, प्यारो जलन जल-धारा छरिछरी
हरी ग्रीष्म-ज्वाला, सकल पृथिवी शीतल गरी ।
पखेरामा लागी तुहिनगिरिको शङ्कर सरी
बस्यो यद्वा लेट्यो सुखमय हँसीलोपन धरी ॥


कुवा, खोला-नाला, सर, दह तथा ताल, तटिनी
सबै सङ्ले, झल्के, अति विमल ऐनामय बनी ।
जहाँ हेर्दा नीलो गगनतल चुर्लुम्म सकल
डुबेको देखिन्थ्यो मुनि-मन सरी स्वच्छ विमल ॥


खुले उद्योगीका शुभ दिवस जस्तै दश दिशा
निशाभन्दा राम्रा दिवस, दिनभन्दा अझ निशा ।
शरत्‌को शोभाले सब मलिनता दोष दबियो
अहा ! द्यावा-पृथ्वीमय भुवन यो कञ्चन भयो ॥


तपस्याको छाया भुवनभर पारेर सबमा
बढूँ सुस्तै सुस्तै, पर पर चढूँ नील नभमा ।
म भन्थेँ त्यो वेला पलपल ठुलो साहस धरी
बिचैमा चौतर्फी पशु धुरिन आये गरगरी ॥


कहाँ मेरो त्यस्तो तप-नियमको सिद्धि-सपना
कहाँ छोटा पेटू अधम पशुको त्यो पशुपना ।
शिँगौरी खेल्दै ती निहुँ-पिहुँ झिकी लाखन थरी
निशाना मैलाई गरि खनिन आये वरिपरि ॥


कुनै मुन्टै टोकूँ भनि नयन दिन्थे उपर ती
कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन ती ।
कुनै दल्थे, मल्थे, हरकिसिमका युक्ति-बलले
कठै ! यस्तै चालासित कठिन धेरै दिन चले ॥


यताको यो बाधा, तल पयरमा कीट कठिन
तिखा दाह्रा धस्थे हरकिसिमले जीवन लिन ।
झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलको
सहाराले सारा मरि मरि सहेँ घात खलको ॥


कतै छाला लत्क्यो, बलसित कतै चर्र चिरियो
कतै पल्ट्यो आलो उकुच, उसमा सूच भरियो ।
कतै तर्क्यो मर्क्यो, तन सब भयो घायल अति
मलम्पट्टी गर्थी फगत बिचरी नर्स नियति ॥

१०
कठै ! त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन
परेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ कहन ।
परीक्षा हो वा त्यो पर-हित-महामन्त्र-जपको ?
थियो यद्वा दीक्षा-विधि नियम त्यो तीव्र तपको ॥

११
ममा त्यो वेलाको विकट खत वा दाग अझ छन्
कसैले जान्दैनन्, मनुज सब अन्धा अबुझ छन् ।
कुनै जान्दो हो ता मनुज पर-पीडा अलिकति
मलाई के पर्थ्यो उस बखत त्यो घोर फजिती ॥

१२
हजारौँ ती धक्का रगडहरु खाँदै हरघडी
अडी काँपी काँपी कठिनसित; पुर्लुङ्ग नलडी ।
किशोराऽवस्था त्यो जिनतिन बित्यो व्याकुल बनी
हटे सुस्तै सुस्तै नियति-गतिले ती पशु पनी ॥

१३
नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पवनको
सुबिस्ताको साथै धृति र बल उत्साह मनको ।
उपाधि-ज्वालाको प्रशम, सब यो सिद्धि-तरिका
जुट्यो, जस्ले गर्दा पिर सब भुलेँ जन्मभरिका ॥

१४
हवाको, पानीको, धरणि-जननीको रस-बल
लिँदै, प्यूँदै, गर्दै पल पल सबै अङ्ग सबल ।
म त्यो चौबाटोमा अटल बलियो आसन कसी
जमेँ, मेरो भित्री हृदय हुन थाल्यो अति खुशी ॥

१५
थियो मानू मेरो उस बखतको भाग्य हँसिलो
बहन्थ्यो चौतर्फी चमचम सफा कान्ति रसिलो ।
चरा तेही मेरो मधुर मुहुनीको वश परी
परी जस्तै झर्थे प्रणयसित गर्दै चिरिचिरी ॥

१६
कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा
कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा ।
कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा
यसैमाथी पारौँ अब गुँड बनायेर बचरा ॥

१७
चुचो ठाडो पारी वरपर निहारी गम गरी
कुनै भन्थे भारी श्रुति-मधुर झारी रसझरी ।
खुला यो चौबाटो, बहुत घचिलो ठाम छ सब
यहाँ चल्छन् लाखौँ शठ पथिक गर्दै कटु-रव ॥

१८
गुणी, ज्ञानी, ध्यानी, ऋषि, मुनिहरूसम्म सकल
चरामाथी गर्छन् हरतरहको बन्धन-छल ।
यहाँ बस्ता हाम्रो उपर पछि पर्ला कि खतरा
भनी गर्थे कोही बहस बहुतै नीति-चतुरा ॥

१९
कुनै भन्थे यस्को रुचिकर जटा-मण्डल जब
हुँदै जाला बढ्दै गगनतल-चुम्बी अनि सब ।
सबै भन्दा माथी बसिकन गरौँला चहचह
झुली गाना गाई रसिक-गुरु गन्धर्वसरह ॥

२०
कुनै मेरो बढ्दो वय-मधुरिमाको वश परी
परी जस्तै नाची पलपल ठुलो कौतुक गरी ।
गला फारी भारी प्रणयसित गर्थे कलरव
म त्यो सुन्दा भन्थेँ, अब सफल भो जीवन सब ॥

२१
छरीता फुर्के ती बहुत रसिला सुन्दर चरी
जती खेल्थे झिक्तै मधुर सुर-सङ्गीत-लहरी ।
उती मेरो अन्तःकरण उनको रङ्ग-रसमा
डुबी गोता लिन्थ्यो, पलपल थियो दिव्य-सुषमा ॥

२२
म तेही लीलाले विकसित भयेकै समयमा
ठुलो शङ्का पारी चटुल चिडियाको हृदयमा ।
कुनै चङ्गा आयेँ गगन-बिच खेल्दै लडिबुडी
थियो जस्को डुब्दो बहुत धमिलो जीवन-घडी ॥

२३
हवामा बिस्तारै ढुलु र मुलु गर्दै तल झरी
जटामा त्यो अल्झयो अलिछिन बन्यो लर्कन सरी ।
उदेकाई थालेँ सरल मनले गम्न म पनि
विधाताले टाँस्यो यसरि कुन विज्ञापन भनी ॥

२४
जटामा त्यो त्यस्तो किसिमसित उल्टो मुख गरी
ढलेकै वेलामा विधिवश चल्यो आँधि र हुरी ।
त्यसैले त्यस्लाई हरकिसिमले जर्जर गर्‍यो
भयो टुक्रा टुक्रा, फतफत सबै त्यो तल झर्‍यो ॥

२५
थिये खाली दोटा करङ बिचराका, तिनि पनि
उडायो कौवाले लगिकन बनाऊँ गुँड भनी ।
जटामा अल्झेको फगत रिलधागो अलिकति
रह्यो बाँकी, त्यस्ले फनफन घुम्यो मस्तक अति ॥

२६
कहाँ त्यो चङ्गाको ललित-गति-शोभा गगनको
कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको !
विधाताले मानू क्षणिकतम उत्थान-पतन
क्रियाको झल्कायो झलक करुणासाथ मकन ॥

२७
अहो ! हेर्दा हेर्दै अबुझ दुनियाँ लाखन थरी
मसीनू धागोमा कठिनसित गर्दै थिरिथिरी ।
उही चङ्गा जस्तै छिनभर उडी बन्धन चुँडी
बिलायेको देखेँ गगनबिच खेल्दै लडिबुडी ॥

२८
लटाईको धागो तरलतम सङ्कल्प मनको
कका मस्कायेको उभय-गति सुर्के पवनको ।
सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी
चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि ! हरि !!

२९
कुनै ज्यादा माथी नयनयुगले भेट्न कठिन
कुनै ती लत्रेका तल तल धुलोमा जिनतिन ।
कुनै थोरै माथी गननबिच भर्ने फुलजडी
अनौठाको शोभा हृदय-बिच भास्यो उस घडी ॥

३०
उता हेर्यो नौलो गगनतलमा लाखन थरी
उनै नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी ।
उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमा
थियो कस्तो कस्तो क्षणिक तिनको केलि-सुषमा ॥

३१
यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता
उठ्यो अर्कै चर्को लिइकन कडा घात-कटुता ।
बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये
कठै ! भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये ॥

३२
उभिण्डो भै लर्के तलतिर, बिपत्तासित गये
नयाँ निस्के, आये, अलिछिन उडे, त्यै पथ लिये ।
सदा यै ढाँचाले निमिषभर विश्राम नगरी
चलेको देखेँ त्यो चटकमय लीला हरि ! हरि !!

३३
अहो !! आफू भिन्नै बसिकन ठुलो खायस गरी
ठुला साना चङ्गा त्यस किसिमले लाखन थरी ।
उडाई चौतर्फी चटचट चुँडालेर यसरी
बिपत्ता गर्ने त्यो कुन सकस होला हरि ! हरि !!

३४
त्यसै वेला यौटा विधि-नियमको दर्पण बनी
चुँडेको चङ्गा झैँ शिथिल रविको मण्डल पनि ।
गये ढल्दै ढल्दै, तल तल हुँदै, कत्ति नअडी
गुते अग्ला अग्ला हिमशिखरले कान्ति-पगडी ॥

३५
झर्‍यो मैलो पर्दा भुवनभर अर्कै प्रकृतिको
विवेकाऽऽलोक-श्री रहित मनझैँ मन्दमतिको ।
म डूबेँ त्यै कालो तम-जलधिमा त्यो समयमा
घुम्यो त्यै चङ्गाको चटक सब मेरा हृदयमा ॥

३६
यसरि हृदय-हारी भाव-गम्भीर भारी
सरस सरस सानू सूक्ति-निस्यन्द झारी ।
मुनिवर बनिहाले मौनभावाऽभिराम
अलिछिन मन मेरो चक्करायो तमाम ॥