Jump to content

Tarun tapasi/saptam bishram

From Nepali Proofreaders
सप्तम विश्राम


मुनिका उस सूक्ति-सिन्धुको
रस प्यूँदा हर-एक बिन्दुको ।
मनले गहिरो मनुष्यता
पहिचान्यो, तर त्यो कता कता ॥


हुँदोहोला तोलाभर फगत फुर्के जुन चरी
उही मारी, पापी कठिन करको लर्कन गरी ।
चल्यो व्याधा, साथै पवन पनि तातो हररर,
बह्यो मानू सारा प्रकृति-पथमा भित्र जहर ॥


म ठिङ्गा, त्यो नङ्गा पथ, वधिकको त्रास मनमा
परी भागीहाले विगह बिचरा दूर वनमा ।
बिझ्यो काँढो जस्तै कठिन घटना त्यो नयनमा
घृणा ज्यादा लाग्यो मनुज-मतिको त्यो पतनमा ॥


चरीले छादेको फगत दुइ थोपा रगतमा
डुबेकी नै देखेँ सकल पृथिवी त्यो बखतमा ।
दिशा देखेँ मैला, वरपरि सबै शैल धमिला
नदी देखेँ काली शिव शिव ! उनै पुण्य-सलिला ॥


यती चाँडै मेरो किन कसरि आँखा धमिलियो ?
तमासा यो क्या हो ? भुवन किन मैलो सब भयो ?
भनी हेर्दा हेर्दै वर पर कठै ! विश्वभरमा
उही देखेँ कालो कुरुचि भरियेको इथरमा ॥


अहो ! यस्तो कालो विकट परहिंसा-कुरुचिले
बिगारेको वातावरण कुन दैवी सुरुचिले ?
सफा होला भन्ने लिइकन ठुलो तर्क मनमा
म एक्लै झोक्रायेँ नयन युग चिम्ली विजनमा ॥


उडेँछू त्यै वेला चपलगति सङ्कल्प-रथमा
चढी ज्यादा माथी गगनबिच वा शून्य पथमा ।
त्यहाँ खेल्दा खेल्दै मयल अथवा दोष मनको
गयो गल्दै गल्दै, स्थिति अगम झल्क्यो भुवनको ॥


मजा मानी नीलो नभ-जलधिमा निर्भय बुडी
घुमी पौडी खेलेँ, प्रणयसित यद्वा लडिबुडी
सुनेँ त्यै वेलामा अगम रसिला लाखन कुरा
खुशीको बल्लीमा पटपट फुटे पट्ट मुजुरा ॥


न चेला त्यो वेला, गगन गुरुजी, शान्त मुहुडा
थियो शिक्षा-दीक्षा ध्वनिमय बडो अद्भुत कडा ।
अहो ! पढ्दा पढ्दै गुरुमय भयो विश्व-विभव
म कच्चा विद्यार्थी, शकिन सहसा सम्झन सब ॥

१०
जबर्जस्ती मेरो अति जरकटे कान पकडी
तपस्याका खोले सकल गुरुले दुर्गम कडी ।
भयो त्यस्ले गर्दा श्रवणपुट मेरो झमझम
पछाडी यो झन्क्यो अमृतमय मीठो स रि ग म ॥

११
कुनै चाहे नङ्गा भइ फगत दङ्गा गरिरहून्
कुनै चाहे चङ्गा भइ गगन-गङ्गाबिच बहून् ।
अँध्यारो स्वप्नाका सुख दुख खुशी भै सब सहू
सबै भन्दा भिन्नै भइ फगत हाँसी खुश रहू ॥

१२
डुब्यो त्यस्तो चालासित किन चराको रगतमा ?
भुली त्यो, निःस्वार्थ प्रणय गर सारा जगतमा ।
त्यसैले त्यो काँढो नयनबिचको झर्छ सहसा
तुरुन्तै देख्नेछौ अनि पछि उज्याला दश दिशा ॥

१३
लियेथेँ त्यो शिक्षा जब अनि घट्यो कष्ट कसला
उदायो निःस्वार्थ-प्रणय-विधुको शीतल कला ।
घृणाको, निन्दाको सब शिथिल भो बाह्य विषय
भयो साह्रै हल्का सुखमय अनासक्त हृदय ॥

१४
जती आँखा चिम्ल्यो किन किन उती लाखन थरी
रसीला उर्लन्थे हृदय-दहमा दृश्य-लहरी ।
घडी देखा पर्थ्यो गगनबिच अर्धेन्दु विमल
घडी अग्ला अग्ला हिमशिखर सेता झलमल ॥

१५
घडी बग्थिन् गङ्गा परम शुचिता सेचन गरी
घडी आई-पुग्थे हरकिसिमका देव-नगरी ।
घडी नीलो तारा-जडित गगनै झ्वास्स छिनमा
स्वयं आई पस्थ्यो हृदयमय सानू सदनमा ॥

१६
घडी देखा पर्थ्यो चमचम गरी दीर्घ बिजुली
घडी आत्मज्ञानी पुरुष अथवा सिद्ध सकली ।
घडी पानी पानी सबतिर छताछुल्ल धरणी
घडी आगो बल्थ्यो धपधप, घडी वासरमणि ॥

१७
न मिल्थ्यो त्यो शिक्षा सितिमिति कुनै शास्त्रहरुमा
न वा ज्ञानी ध्यानी धरणितलका सिद्धहरुमा ।
लिँदा एकै गोता निमिषभर चुर्लुम्म जसमा
रसीलो निस्कन्थ्यो पल पल चमत्कार-सुषमा ॥

१८
अहो ! यस्तै यस्ता अघट घटनारूप चटक
मजा मानी भित्रै अनुभव गरी धेर पटक ।
पछी सुस्तै मेरो चपल मन त्यो कौतुक भुली
झुली लिन्थ्यो निद्रामय अतुल शय्या मखमली ॥

१९
उषाले यस्तैमा पवनमय पङ्खा सिरिसिरी
ममाथी हम्कन्थी, तर मकन लाग्थ्यो किरिकिरी ।
म झोक्रिन्थेँ, भन्थेँ किन सब टुट्यो कौतुक, भनी
कडा रातो देख्थेँ गगन-गुरुजीको मुख पनि ॥

२०
बित्यो रात्री सारा, तम पर सर्‍यो, सर्र रविको
प्रभा झुल्क्यो, टल्क्यो टलक कलना-तुल्य कविको ।
बनी अर्कै निस्किन् प्रकृति-जननी, विश्वभरमा
रमायिन् चौतर्फी विकसितमुखी जागृति-रमा ॥

२१
निशामा त्यो प्यारो पठन-विधि गर्दै दिवसमा
उदासी भै हेर्दै हरकिसिमको बाह्य सुषमा ।
जगायेँ निःस्वार्थ-प्रणय-सुखको जोति भरिलो
निकै नै कम्ती भो, विहग-वध-बाधा जहरिलो ॥

२२
गये बढ्दै बढ्दै पयर तल, आँखा गगनमा
जम्यो, फेरी नीलोपन गगनको टम्म मनमा ।
जटाशाली अग्लो शिर पवनको रङ्ग-रसमा
रमाई छर्कन्थ्यो छुनुमुनु गरी शान्ति-सुषमा ॥

२३
कसैले त्यै वेला पनि हृदय पारीकन कडा
दिये भारी धक्का मकन अथवा उग्र रगडा ।
लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लिये
कठै ! मेरा लेखा तर अबुझ ती बालक थिये ॥

२४
जुँघा दाह्री तान्ने सरल शिशु जस्तै पथिक ती
म सम्झन्थेँ, हुन्थेँ प्रणयरसले गद्‌गद अति ।
बित्यो एवंरीत्या समय, वयले उन्नति लियो
रसीलो छायामा प्रणय-विधुको कान्ति फिँजियो ॥

२५
सँभाली वा खारी चपल मनका वृत्ति यसरी
म रस्तामा बस्ता प्रणय-शिवको पूजन गरी ।
बित्यो मेरो निक्कै समय उस चौकी उपरमा
जहाँ वासा बस्थे विविध बटुवा ती रहरमा ॥

२६
यति भनी तपसीले मन्द निःश्वाससाथ
मुख-कमल झुकाये, बन्द भो सूक्ति-पात ।
म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र
मनन मन लगाई गर्न थालेँ पवित्र ॥