Tarun tapasi/saptadasha bishram
१
परिपूर्ण पवित्र सुन्दर
मुनिको शान्ति-सुधा-सरोवर ।
अलिबेर पछी छचल्कियो
श्रुतिमा शीतलता भरी-दियो ॥
२
डुबी एकाम्मे भै अगम परमाऽऽनन्द चितिमा
म उत्रेँ बिस्तारै अविदित कुनै दीर्घ मितिमा ।
खुल्यो थोरै आँखा, हृदय कलनाले फिरिफिरी
हिलायो तत्कालै मृदु पवनले पल्लव सरी ॥
३
उदेकायेँ केही, मगज तह लायेँ, पवनको
थमौतीमा ल्यायेँ गति, कल चलायेँ वचनको ।
घुमायेँ चौतर्फी नयन, मुसुकायेँ, अलिकति
सबै देख्दै आयेँ क्षणिक दुनियाँको परिणति ॥
४
म फेरी टोह्लायेँ, स्मृतिपथ सबै उज्ज्वल भयो
अँध्यारोमा मानू नियतिवश सूर्योदय भयो ।
उताको त्यो भास्यो घन चिति-चमत्कार बिपना
यताको यो सारा तप र तपसी-जन्म सपना ॥
५
बिलायो निद्रा वा जटिल ममताको घनघटा
मुटूले भेट्टायो बहुत रसिलो जागृति-छटा ।
जता लायो आँखा झलमल उतै राम-रमिता
अनौठाको भास्यो प्रथम कविको विश्व-कविता ॥
६
तिनैपत्रे कापी, कलम तिनचुच्चे, तिन थरी
मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी ।
मिलाई लेखेको क्षरमय सफा अक्षर सब
सबै मर्मस्पर्शी उस कवि-कलाको अनुभव ॥
७
मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती
सबै छोटा लामा लय-मिलित छन् छन्द अझ ती ।
मिलेको शैली त्यो, मिलित पदविन्यास रचना
अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्य-कलना ?
८
नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा
पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कार-सुषमा ।
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता
कठै ! कस्ले जान्ने प्रथम कविको काव्य-पटुता ?
९
झरीलो यो लामो तप तप चुहेको मह सरी
चमत्कारी, भारी मधुर, भरिएको रस-झरी ।
सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा
नजान्नेका लागी तर अति विषालू मधुरिमा ॥
१०
हजारौँ के लाखौँ रसिक रसिलो जीवनभरी
सबै टण्टा छोडी विविध कवि-सम्मेलन गरी ।
मजा लिन्छौँ भन्दै प्रथम कविका काव्य-रसको
बिलायेको देखेँ नबुझिकन क्यै मर्म उसको ॥
११
झुकेँ केही तेही सकल कविता हेर्न म पनि
चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी ।
फुक्यो त्यस्ले गर्दा कमलफुल झैँ फर्र हृदय
उडीहाल्यो कालो मधुकर सरी बन्ध-विषय ॥
१२
उडेथ्यो त्यो कालो भ्रमर उरदेखी जब अनि
रुवा झैँ हल्का भो निमिषभरमा जीवन पनि ।
बिलायो बिस्तारै विशद बिपनाभित्र सपना
जुटीहाले मानू प्रणयसित गङ्गा र यमुना ॥
१३
तिनै ढोका भत्के उस नगरका जीव जसमा
करोडौँ सङ्ख्यामा हरबखत रुन्छन् सकसमा ।
म छू त्यै चौकीमा, तदपि उस भन्दा पर भयेँ
थला मारी मारी नउठिकन अर्कै घर गयेँ ॥
१४
त्यहाँ पुग्दासाथै मन मगज राम्रै बदलियो
सदा पीछा गर्दो विकट भयको भूत छलियो ।
म सुस्तायेँ सुस्तै तनविषयको मान, ममता
गयो गल्दै गल्दै, विलय हुन थाल्यो विषमता ॥
१५
मर्यो ताल्चा ताल्चाउपर, परनिन्दा पर सर्यो
निराशाले आशाउपर अति खासा घर गर्यो ।
तितीक्षाको शिक्षा हृदय लिन लाग्यो हरघडी
गये डुब्दै डुब्दै कठिन सपनाका सब घडी ॥
१६
बनी वाञ्छा दासी, मतलब उदासी हुन गयो
दया भै अंखासी, शठ हठ हट्यो वा लय भयो ।
चितामा गै चिन्ता, सकल शकियो शोक बिचरो
बिदा माग्यो, भाग्यो द्रुतगति असन्तोष छिचरो ॥
१७
हवामा हल्लेको शिमल-फुल झैँ कर्मगतिमा
रह्यो यद्वा लड्क्यो तन, नयन भो मुग्ध चितिमा ।
शुक्यो देख्दादेख्दै अगम गहिरो मोह-जलधि
सबै बिर्सीहालेँ विषयतिरको रोदनविधि ॥
१८
म यस्तो, त्यो त्यस्तो, किन ? कसरि ? भन्ने सब गयो
छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो ।
जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी
अलग्गै बस्ने भो हृदयबिच संसर्ग नगरी ॥
१९
यसो भो, यो होला अनि म गरुँला कार्य यसरी
यहाँको यो भन्ने अति गहन सङ्कल्प-लहरी ।
हराये, बाँकी भो हृदयबिच खाली परहित
फुर्यो पन्था अर्कै बहुत सजिलो पापरहित ॥
२०
नसा, मासू, हड्डी, रगतहरुको देह-गठरी
सदा, फैर्दै बोक्तै थकित भइ चल्दो जुगभरी ।
कठै ! निर्धो दुब्लो गतरुचि अहङ्कार-भरिया
ढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया ॥
२१
झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली
छरीतो भै फुक्तै मधुर परमाऽऽनन्द-मुरली ।
खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा
ममा मिल्दै आयो विमल जल झैँ दूधबिचमा ॥
२२
म हाँसेँ, त्यो हाँस्यो, पर पर सर्यो भेद फरक
डुब्यो त्यै हाँसोमा बहुत जुनिको स्वर्ग-नरक ।
त्यहाँ देखी दोस्रो जड-भरतको छाडन गरी
म हाँसेको हाँस्यै अझतक छँदैछू हरि ! हरि !!
२३
यहाँ जो पृथ्वीमा अबुझहरुका दृष्टि-पुटमा
म रुन्चे जस्तो छू, तर उस पिताको निकटमा ।
सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको
पितालाई मात्रै अनुभव छ यो हास्य-सुखको ॥
२४
यसरि अगम भित्री भाव वा सच्चरित्र
भनि मुनि अलमस्ती मस्त भै भित्र भित्र ।
फिर मुसुमुसु हाँसे, किन्तु भो वाक्य बन्द
कमलबिच निदायो मुग्ध मानू मिलिन्द ॥