Jump to content

Tarun tapasi/panchadasha bishram

From Nepali Proofreaders
पञ्चदश विश्राम


पिउँदा पिउँदै प्रतिक्षण
मुनिको वाक्य-सुधा विलक्षण ।
कविको मन त्यो पुग्यो वहाँ
गहिरो नीरवता थियो जहाँ ॥


अहो ! सुन्दासुन्दै अबुझ दुनियाँको रिमिझिमी
अकस्मात् टोल्हायौ कविवर ! बिचैमा किन तिमी ?
तिमी सुन्दै जाऊ विविध घटना-चक्र सब त्यो
जहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो ॥


थियो त्यो मौकामा उभय जुगको सन्धि-समय
सबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय ।
न जाने के होला ! भनि सब थिये शङ्कित अति
सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति ॥


दुवै लड्दालड्दै नियतिवश विज्ञान बलियो
विजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियो ।
थिये मैले हेर्दा तिनि उभय निस्सार नकली
विजेताले पायो तर पनि ठुलो नाम सकली ॥


कठै ! त्यस्ले गर्दा कठिन जडवादीपन बढ्यो
कुनाकानी दैवी गुण जति थियो त्यो सब उड्यो ।
घुम्यो मेरो माथा, गम अगमतामा बदलियो
बग्यो आँशू, आँखा किन किन बिझायो, धमिलियो ॥


कडा बेचैनीले सकल मुटुको चाल जकड्यो
उही आकाशैको पथ नयनले टप्प पकड्यो ।
निमेषैमा मानू कठिन पिँजराबाट सहसा
चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा ॥


उता हेर्नासाथै अगम नभको नील परिधि
यताको यो बिर्सें उभय जुगको सङ्क्रम-विधि ।
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै
चल्यो माथी मेरो नयन नभमा चक्कर लिँदै ॥


पलाको आधामा गगनमय त्यो शून्य नगरी
घुमी फन्का मारी हरकिसिमको कौतुक गरी ।
खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्‍यो
हवाको झोक्कामा जलद उसको सम्मुख पर्‍यो ॥


सफा चिल्लो काठी घनपटल, घोडा पवन भो
लगामैको शोभा चपल बिजुलीमा उदित भो ।
चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा
लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर अखडा ॥

१०
कतै स्वर्गङ्गाका चपल मसिना सीकर झरी
बतासिन्थे, गर्थे पवनसित हाँस्तै मसखरी ।
जहाँ पर्नासाथै रवि-किरण-माला सुनहरी
हजारौँ निस्कन्थ्यो विशद नभमा रङ्ग चुनरी ॥

११
सुगन्धी कस्तूरी-प्रभृति चिजको लेप उरमा
धरी भर्दै मीठो महक उसका यक्षपुरमा ।
कतै घुम्थे फिर्थे चपलनयना यक्षयुवति
थियो जस्को लीलामय लचकिलो मञ्जुल गति ॥

१२
कतै नामी विद्याधर-युवक विद्या सब शिकी
रसीलो सङ्गीत-स्वर-मधुरिमा लाखन झिकी ।
अगम् ताना लिन्थे गगनतल पारी घुनुनुनु
सुरस्त्रीको गर्थ्यो मुदित मन जस्मा छुनुमुनु ॥

१३
कतै नानारङ्गी कुसुमित लता-कुञ्जहरुमा
बसी गाना गर्थे अमर कुँवरी मस्त सुरमा ।
अहो ! जस्ले गर्दा मधुर मुहुनीको वरिपरि
मिठो झर्ना झर्थ्यो श्रवण सबको शीतल गरी ॥

१४
चढी धागो जस्ता अमृतमय शीता शु-करमा
सुरेलीको साथै ललित झुलनाको रहरमा ।
कतै हाँस्तै खेल्दै सुरयुवति भन्थे चह चह
छचल्किन्थ्यो जस्ले प्रणय-सुखको शीतल दह ॥

१५
कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी
बसी आकाशैमा नियमसित सिद्धाऽऽसन कसी ।
डुबेका देखिन्थे अगम परमाऽऽनन्द-रसमा
थियो जस्को साह्रै मधुर मुखको शान्ति-सुषमा ॥

१६
कतै विद्युल्लेखा-ललित छरिता उन्मद परी
बिखेर्दै चौतर्फी महकमय माधुर्य-लहरी ।
हवामा पौडन्थे जुन पवनको स्पर्श-सुखमा
तपस्वीको पुग्थ्यो जप-तप सबै मृत्यु-मुखमा ॥

१७
विमान-श्रेणीमा भ्रमणपटु वैमानिकहरू
कतै उड्थे लम्बा सफर-सुख भोगी हुरुरुरु ।
अहा ! जस्को छाया ध्वनि-मधुरिमाले छक परी
तमासा त्यो हेर्थे तल सकल ठाडो शिर गरी ॥

१८
कतै शोभा छर्दै कठिन तपको सिद्ध-रमणी
लटामा लर्काई सुर-कुसुम वा शङ्कर-मणि ।
बहन्थे वा उड्थे सररर निरालम्ब पथमा
चढी ज्यादा तेजी हृदय-कृत सङ्कल्प-रथमा ॥

१९
कतै उस्तैउस्ता कुसुम-भरले मत्थर-गति
वसन्तश्री जस्ता मगन-मदिरा-मस्त युवति ।
हठी सिद्धि-प्रेमी कठिन तपमा मस्त जनको
तपस्यामा गर्थे नयन-शरले घात ननिको ॥

२०
कतै लुर्के फुर्के फुल र मुजुरा पल्लव पनि
उनी वन्य-श्रीले खचित वनदेवीमय बनी ।
मजा मानी गर्थे उपवनविषे किन्नर-सुता
लुकामारी साथै हरकिसिमको रङ्ग-रमिता ॥

२१
कतै राम्रा रत्न-द्युतिमय दिशापाल-सदन
कतै घुम्थे साक्षात् कुसुमधनुका साथ मदन ।
कतै चन्द्र-ज्योत्स्ना-धवल सुरगङ्गा-निकटमा
तपस्वी देखिन्थे तप-शिखर झैँ टम्म तटमा ॥

२२
कतै रक्षो-भूत प्रभृति गणका बाल वनिता
गला फारी पढ्दै हरचरितका गीत कविता ।
निशामा उफ्रन्थे हरतरहको ताण्डव गरी
थियो जस्को केही पर उपर कैलास-नगरी ॥

२३
तमासा ती खासा उपसुर-पुरीका सब थरी
निहारी त्यो भन्दा पनि उपर जाने सुर धरी ।
चढ्यो फेरी मेरो नजर नभमा साहस गरी
सबै त्यागी साना कुसुम-कलिका षट्पद सरी ॥

२४
तडिल्लेखा भन्दा त्वरितगति सङ्कल्प-रथमा
चढी उड्दाउड्दै अति वितत आलोक-पथमा ।
पर्‍यो सामुन्नेमा अति चहकिलो दिव्य नगरी
थियो जो शोभाको निरुपम महासागर सरी ॥

२५
त्यहाँ पुग्नासाथै गति शिथिल भैगो नयनको
खुशीको हावाले विकसित भयो भाव मनको ।
जता फर्की हेर्‍यो सुखमय उतै राम-रमिता
थियो कस्तो कस्तो प्रथम कविको उच्च कविता ॥

२६
विधाताको यद्वा नियति-गतिको लाखन थरी
चमत्कारी लीला सबतिर सदा सूचित गरी ।
बनेका बेगिन्ती उस नगरमा रङ्गमहल
मिही ज्योतिर्धारा पलपल उकेल्थे झललल ॥

२७
झुलेका इन्द्रेनी सब भवनमा तोरण बनी
ध्वजामा नाचेको चपल बिजुलीको सनसनी ।
अटाली वा बुर्जा सब गगनचुम्बी चहकिला
नगीचै देखिन्थे शशधर जहाँबाट धमिला ॥

२८
कतै छन् स्वर्गङ्गाजल-रचित छाँगा र छहरा
कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा ।
कतै अग्ला ज्योतिर्मय मणिशिला-शैल हँसिला
कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला ॥

२९
हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको
प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको ।
जमायेको जस्तो उस नगरको अद्‌भुत छवि
कलम्‌द्वारा सारा लिन कसरि शक्ला कुन कवि ?

३०
जरैदेखी हेर्दा जुग जुग जहाँ शून्य छ जरा
जवानीको मात्रै लहलह जहाँ गर्छ लहरा ।
जहाँ आँधी, व्याधि, क्षय, जननको छैन शरण
वहाँको को जान्ने अतुल सुखको त्यो विवरण ?

३१
बगेकी चौतर्फी कलकल सदा शान्ति-सरिता
हँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता ।
रसीलो आनन्दी हृदय सब ती पौरहरुको
फुकेको फक्रेको सुरभि फुल झैँ कल्पतरुको ॥

३२
दया, मैत्री, श्रद्धा, प्रणय-रसले शीतल सब
सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव ।
सबै मर्यादा वा विधि-नियमको पालन गरी
रमायेका दैवी विषय-सुखमा निर्जर सरी ॥

३३
न ता शङ्का, सुर्ता, भय, विरह-बाधा छ उनमा
न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा ।
न देखिन्थ्यो काहीँ कटु वचनले दूषित गला
अहा ! कस्तो राम्रो अमृतमय त्यो जीवन-कला ॥

३४
त्यहाँको त्यो दैवी गुणमधुरिमाको चहकमा
फसेको यो मेरो नयन मनमोजी बहकमा ।
भयो घुम्दाघुम्दै उस बखत आश्चर्य-चकित
जसै देख्यो ढोकाउपर कविता निम्नलिखित ॥

३५
"धरित्रीमा सत्य, श्रम र पसिनाको भर परी
तपस्या जो गर्छन् सरल मनले जीवनभरी ।
तिनैको त्यै सत्य, श्रम र पसिना-रूप तपको
चिरस्थायी यै हो परिणति उज्यालो गजबको ॥

३६
गरी झुट्टा, बाङ्गा, छल, कपट वा जाल बहना
पियेका छन् जस्ले मुफत, अरुका उष्ण पसिना ।
यहाँ त्यस्ता दम्भी पुरुष धरणीका धनपति
कुनै छैनन्, ज्यादै तल छ तिनको गर्हित गति ॥"

३७
पढी त्यो ढोकाको सरल खँदिलो श्लोकयुगल
उदेकाई केही समयतक फेरी तल तल ।
म फर्कें, फर्कायेँ नयन, तर त्यो दिव्य नगरी
रह्यो मेरो भित्री हृदयपटमा चित्रित सरी ॥

३८
निरुपम पसिनाका स्वर्गको सार सार
मसँग सब बताई भित्र अर्कै विचार ।
लिइ मुनि बनिहाले मौन भावैक धाम
म पनि मनन त्यस्को गर्न लागेँ तमाम ॥