Tarun tapasi/navam bishram
१
अलि बेर अडी चल्यो जब
मुनिको मञ्जुल ओष्ठ-पल्लव ।
अनि वाक्य-सुधा बह्यो उही
अथवा जीवनको फुक्यो बही ॥
२
ठुला साना लाखौँ पथिकहरुका लाखन थरी
चमत्कारी चाला हरबखत आलोकन गरी ।
बसेकै वेलामा शिशिर ऋतुको रात्रिबिचमा
लड्यो भोको यौटा अतिथिजन आई नगिचमा ॥
३
न त्यस्ले क्यै खायो, न त पिउन पायो द्रवहरू
न केही बिच्छ्यायो, न त धुनि जगायो हुरुहुरु ।
घुँडो मण्टो जोडी विधि अधम हो निर्दय भनी
बितायो वा काट्यो कटकट किटी दन्त रजनी ॥
४
निशाको त्यो कालो तम सकल पोको परि परी
उही निर्धो भोको विकल बटुवामा घर गरी ।
मडारिन्थ्यो खेल्थ्यो पल पल उकेल्थ्यो विकलता
थियो उस्को लेखा शरण मृति-मूर्छा, शिथिलता ॥
५
कठै ! चिल्थो कन्था फगत लिपिटो मात्र हरमा
कलेटीको खस्रो अति मलिन रेखा अधरमा ।
गडेका खोपा झैँ नयनयुग, आँशू गहभरी
बगेको देखिन्थ्यो, कर चरण काम्थे थरथरी ॥
६
सुखा जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन
अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन ।
खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी
कठै ! मानू गन्थ्यो कठिनसँग त्यो जीवन-घडी ॥
७
क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको
अवस्थाले गर्दा लय-समय वा मृत्यु-तिथिको ।
दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि
म शक्थेँ त्यो सारा सहन कसरी निष्ठुर बनी ॥
८
कठै ! त्यो दुःखीको उस बखत जो हालत थियो
सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो ।
भयेँ केही वेलातक म पनि जीवन्मृत सरी
पछी उर्ले मेरो हृदय-दहमा तर्क-लहरी ॥
९
विधाता माताको स्तनयुगलमा स्तन्य-रसको
भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको ।
विना खाने दाना धरणितलमा जन्म कसरी
कहाँ कस्ले लेला ? कुन कठिनता यो हरि ! हरि !!
१०
किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब
जती जो जन्मन्छन् सकल तिनको योग्य-विभव ।
धरित्रीको छाती उपर पहिले नै छ खचित
अहो ! भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित ?
११
धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी
खनी, खोस्री, जोती, कर-चरण माटोमय गरी ।
निकाली खाये त्यो अमृतमय खाना मिलिजुली
जगत् सारा बन्थ्यो अमर नगरी झैँ झिलिमिली ॥
१२
धरित्रिको माया-प्रणय नरदेखी कृमितक
सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक ।
उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी
सबैलाई पुग्ने किसिमसँग त्यो लाखन थरी ॥
१३
सबै प्राणी बाँच्ने किसिमसित खानाहरु दिन
नशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन ।
तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी
हजारौँ के लाखौँ किसिमसित धाँजा परि परी ॥
१४
सबैकी साजा छन् धरणि जननी, जीव सकल
उनैका छोरा हुन् हृदय-रसमा लुब्ध चपल ।
भुली माता-नाता अझ सब उनै मालिक बनी
वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी ॥
१५
भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी
कसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि ।
वृथा मेरी भन्दै डुबिकन कडा मोह-विषमा
उनैको छातीमा सब लय हुँदैछन् निमिषमा ॥
१६
गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरको
सिपालू, उद्योगी, गुरु-सदृश यो विश्वभरको ।
बुझोस् ता यस्ले त्यो परहित-महामन्त्र-महिमा
दरिन्थ्यो पृथ्वीको 'अमर नगरी' नाम बहिमा ॥
१७
कडा, पीरो, मैलो लिइ मतलबी ग्याँस उरमा
बनी अन्धो जस्तो इतर जनको कष्ट पिरमा ।
खियेको देख्दा यो चतुर नरजाति प्रतिदिन
कठै ! मेरा आँशू तरतर बहन्छन् किन किन ?
१८
हजारौँ यै जस्ता मनुज मनमौजीपन धरी
हिँडे वा हिँड्दैछन् सब सरसरी यै पथ गरी ।
खुला नै छन् आँखा तर विकट अन्धोपनसित
मित्यारी लायेका अति कठिन कारुण्य-रहित ॥
१९
बडा बाठा, टाठा, सकल तर बाटोबिच परी
लडेको त्यो भोको पथिकतिर लाटोपन धरी ।
हिँडेका छन् त्यस्तो तुजुकसित ठाडो शिर गरी
अहो ! कस्तो कालो समझ तिनको त्यो हरि ! हरि !!
२०
गुहे, काला, कौवा, अपढ वनका बन्दर पनि
पर्यो यौटामाथी विधिवश जसै सङ्कट अनि ।
धुरिन्छन् दर्शाई प्रबल नमुना बन्धुपनको
अहो ! त्यस्तो नीचो पतन किन यो मर्त्य-मनको ?
२१
यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ
धरित्रीको छातीउपर यसको उत्ति हक छ ।
हर्यो होला कस्ले कसरि बिचमा भाग यसको ?
कठै ! जस्ले गर्दा नर-जुनि डुब्यो रङ्ग-रसको ॥
२२
न ता यो अल्छी हो, न त छ यसको अङ्ग विकल
न ज्यादा ढल्केको वय छ, न भिखारी छ शकल ।
अहो ! यस्तो सादा कृषक मिहिनेती कृश-बल
लडी भोग्दो होला कुन अधमको कुत्सित छल ?
२३
न त्यो भन्थ्यो मौरी बनि मह सदा सञ्चय गरूँ
न भन्थ्यो ऐशी भैकन फजुलखर्चीपन धरूँ ।
धरित्रीको भित्री विधि-नियमले प्राप्य यसको
गुम्यो होला खाना कुन छल परी हाय ! कसको ?
२४
कुनै त्यस्तो खाना विन विकल या मूर्छित सरी
कुनै खाना देख्दा अरुचिवश बस्छन् पर सरी ।
तमासा यो हो वा विधि-नियमको घोर भुल हो ?
दुवैको यद्वा त्यो इतर जुनिको कर्म-फल हो ?
२५
गरी खाना जम्बा अरुचिवश त्यो खान नशकी
शुकेका जो जो छन् मनुज तिनले त्यो सब झिकी ।
इनै भोका शोकाऽऽकुल गरिबका दीन मुखमा
चढाये बढ्थ्यो कि अभिरुचि कठै ! खाद्य-सुखमा ?
२६
नहेरी अर्काको मलिन मुख, लोभीपन धरी
समेटी सोहोरी सब खचित पारी घर भरी ।
भनी मेरो मेरो कति कति बिते व्याकुल बनी
अहो ! उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि ॥
२७
थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी
उनैलाई पार्यो मनुजगणले मङ्गलमयी ।
कठै ! जान्दो हो ता नियम परपीडा-हरणको
छुटी-जान्थ्यो यस्को कठिनतम पीडा मरणको ॥
२८
ममा चल्दा चल्दै पल पल इनै तर्क-लहरी
उठी काँपी काँपी विकल बटुवा त्यो थरथरी ।
कठै ! पानी ताकी जिनतिन पनेरातिर गयो
मलाई त्यो देख्दा मनुज-जुनिमा नै घिन भयो ॥
२९
यति भनी तपसीले आँशु फेरी खसाले
विकल मन समेटी केन्द्रमा नै बसाले ।
म पनि अति हलुङ्गो हातले अश्रु-धारा
पुछिकन चुप लागेँ, सन्न भो देह सारा ॥