Jump to content

Tarun tapasi/ashtam bishram

From Nepali Proofreaders
अष्टम विश्राम


यसरी बहँदो घरी घरी
मुनिको शीतल सूक्ति-माधुरी ।
बिचमा जति रोकियो उति
दिन थाल्यो नव भाव-जागृति ॥


फराकीलो चौकी-उपर बलियो आसन कसी
म रस्तामा बस्ता मनुज, पशु, पक्षी सब खुशी ।
थिये, ती झुम्मिन्थे अतुल सुख लिन्थे, प्रणयले
मलाई सुम्पन्थे पल पल शुभाऽऽशी हृदयले ॥


मल्हामी आऊन् वा मलिन मुख लायेर मुडुला
बिसाऊन् वा जन्तीहरु वर-बधू-साथ सुकिला ।
समानै दिन्थेँ ती उभयकन छाया म तिनको
स्वयं लिन्थेँ छाया प्रणयसित सम्पूर्ण मनको ॥


छुती विद्वान् होस् वा मलिन कुलको मूर्ख अछुती
कुनै त्यागी होस् वा विषयरस रागी लखपति ।
समानै ठान्थेँ ती विधि-विहित चैतन्य-पुतली
पछी हेर्दा हेर्दै तर हृदय हाँस्थ्यो अलिअलि ॥


समै भित्री श्रद्धा, सम अतिथि-सत्कार-विधि त्यो
समै प्यारो चौकीमय चहकिलो शान्ति-निधि त्यो ।
थला मारी झुल्थेँ म पनि समताकै रहरमा
थियो बढ्दो चढ्दो तर विषमता विश्वभरमा ॥


जगद्धात्री देवी प्रकृति-जननीमा विषमता
हुनाले झल्केको भुवनबिच के मिल्छ समता ?
भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी
हवा दौड्यो, हल्ल्यो फरफर जटामण्डल पनि ॥


अलापे पन्छीले प्रणयसँग त्यै राग रसिलो
त्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो ।
बटोही जो कोही उभयतिर चल्थे तिनि पनि
लपेटेकै देखेँ उस विषमताले फनफनी ॥


घडी झुम्रे-झाम्रे मल-मलिन ढाक्रे र भरिया
घडी साहू राम्रा सुघर सुर जस्ता शहरिया ।
घडी घाँसी ग्वाला, कृषकहरु झुत्रे नगिचमा
थियेँ साक्षी जस्तो सकल बटुवाको म बिचमा ॥


झिकी सुस्केराको बहुत खिरिलो सूत उसमा
उनी माला मोतीसदृश पसिनाको दिवसमा ।
मलाई दिन्थे जो पथिकहरु ती बीच पथमा
सबै शोची (षी) लिन्थेँ म पनि गहना त्यो सुपथमा ॥

१०
जती प्यूँथ्यो चौकी गरम पसिना पान्थ-जनको
उती बढ्थ्यो मेरो हरबखत उत्साह मनको ।
म भन्थेँ तत्कालै पर पर पुर्‍याईकन भुजा
यता झर्ने चर्का रवि-किरण पार्छू सब कुजा ॥

११
कडा राँको जस्ता रवि-किरणको ताप फिँजिँदा
कठै ! बाटोघाटो रिपु-मुलुक झैँ दुर्गम हुँदा ।
उनिन्थे छायामा मनुज, पशु, पक्षी जुन जति
थियो बेग्लाबेग्लै सकल तिनको अद्भुत गति ॥

१२
जटाका लट्टामा चपल चिडियाको चहचह
उता त्यो चौकीमा विविध बटुवाको तह-बह ।
दगुर्थे लोखर्के-प्रभृति बिचरा बीच-बिचमा
थियो मानू मेला मधुर उस वेला नगिचमा ॥

१३
लगाई गालामा कर-कमल कर्के शिर गरी
बगाई आनन्दी सरस रसियाको रस-झरी ।
कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुली
मुटूमा चम्कन्थ्यो चमचम चमत्कार-बिजुली ॥

१४
कुनै वेला ढाक्रे कृषकहरुलाई हट भनी
हटाई हप्काई तमकसित ताक्तै, छडि पनि ।
थला मारी बस्ता चतुर पुरवासी जनहरू
चिरिन्थ्यो यो छाती, किन किन म रुन्थेँ धुरुधुरु ॥

१५
कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी
लगी गाग्री-गाग्राहरुबिच मिठो सर्बत भरी ।
कहन्थे यो खाऊ, पथ-जनित गर्मी मथर होस्
म भन्थेँ त्यो सुन्दा मनुज-मति यस्तै स्थिर रहोस् ॥

१६
बुढा, पाका, बाला, युवक, अधबैँसे सब जना
बसी त्यो छायामा अलि छिन शुकायेर पसिना ।
उठी-जाँदा हेरी खुशिसित जटामण्डलतिर
कहन्थे वा भन्थे जुग जुग जियोस् भाग्य-शिखर ॥

१७
बित्यो एवंरीत्या सकल दिन, सन्ध्या-समय भो
जटामा त्यो सारा रवि-किरण-धारा विलय भो !
धुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनी
गये आगो फुक्ने नियत लिइ अस्ताऽचलमनि ॥

१८
उता यौटा ढाक्रे चरम गिरि भन्दा तल झरे
यता त्यो चौकीको वरपरि हजारौँ अगि सरे ।
चुल्हा लाये, आगो सबतिर जगाये पिलिपिली
जुट्यो दीवालीको घडिभर त मानू झिलिमिली ॥

१९
कठै ! चाँडो चाँडो जठर-हरिको पूजन गरी
सिह्रानैमा भारी, हर-उपर बर्कोकन धरी ।
डुबे ती निद्राको अतुल परमाऽनन्द सुखमा
उठ्यो भारी हेर्छू म भनि घुरणा घुर्र मुखमा ॥

२०
नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनि
पला झैँ गैहाल्यो थकित तिनको दीर्घ रजनी ।
तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी
चिर्‍यो त्यो सन्नाटा सकल 'कुखुरीकाँ' रव गरी ॥

२१
टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरव-पना
गयो गल्दै गल्दै सकल दुनियाँको तम घना ।
सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी
फुके साना ठाडा अरुण-रुचि-रेखा मिरिमिरी ॥

२२
कुनामा ती रागी दिवसकरको चुम्बन परी
खुशीले मस्केकी सरल धरणीको स्मित सरी ।
उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि
झिके यौटा दोटा चपल चिडियाले खलबली ॥

२३
उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको
गुलाफी खोपी वा अति चहकिलो केलि-घरको ।
खुला पारी ढोका, विहगकुल त्यो चञ्चु-चपल
प्रभातीको ताना मधुर लिन थाल्यो पल-पल ॥

२४
हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी
छरी रातो रोरीमय चहक राम्रो नट सरी ।
उदाये वा आये जब रवि खुला नाट्य-घरमा
तमासा अर्कै भो अनि सकल संसारभरमा ॥

२५
ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि
त्यसै झल्केँ टल्केँ रवि-किरणले कञ्चन बनी ।
चरा मानू नीराजन-विषयको कीर्तन गरी
उडे सारा चारा लिन चपल चञ्चूपुट धरी ॥

२६
उता जोड्छन् नाता उदयगिरिमा वासरमणि ।
यता छोड्छन् ताता सुखशयनको वासरमणी ।
उनी बन्छन् आफैँ गिरिशिखरका स्वर्णकलश
इनी भन्छन् पारौँ अब त जलले पूर्ण कलश ॥

२७
नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे ! हर हर
म सुन्थेँ, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर ।
उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय
अहो ! कैले द्यौला मकन तिमि त्यो स्नान-समय ?

२८
अहो ! त्यो वेलाको रवि-किरण-माला सुनहरी
धरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी ।
थियो मानू वर्षा अमृतरसको शान्ति-सुखको
सबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको ॥

२९
सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो
हुँदै-आयो मेरो सकल हृदय-ग्रन्थि खुकुलो ।
थिये त्यो वेलाका सकल रसिला जीवन-घडी
विधाताले अर्कै मकन दिन थाल्यो तर छडी ॥

३०
यति भनि तपसीले माथ केही झुकाये
मधुर वचन-धारा कण्ठभित्रै लुकाये ।
म पनि सकल गर्दै वाक्यको सार सार
पुलुपुलु तपसीको हेर्न थालेँ मुहार ॥