Jump to content

Tarun tapasi/akonambimshati bishram

From Nepali Proofreaders
एकोनविंशति विश्राम


कवितुल्य बनी गरे खुला
तपसीले जुन काव्यको कला ।
मनले सब त्यो गमेँ पनि
फिर बोले मुसुकाउँदै मुनि ॥


अघी देख्नासाथै मकन, सहसा भक्तिरसले
भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले ।
मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित
सबै छाती खोली कविवर ! बतायेँ तिमिसित ॥


रहेँछू कस्तो वा कुन किसिमको यो म तपसी
सहेँछु, भोगेँछु कति कति कुरा आसन कसी ।
बुझे हौला मेरो कठिन सब त्यो जीवन-गति
भये केही बाँकी बुझन, सुन फेरी अलिकति ॥


म मात्रै के ? मेरा अगणित सबै बान्धव जति
तपस्या यै गर्छन् सहिकन इनै कष्ट फजिती ।
धरित्रीमा यस्ता विविध नभये धीर तपसी
खरानी भै उड्थ्यो भुवन अथवा केवल मसी ॥


भयेथ्यो यो पैले जुन बखत भूगोल-रचना
बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना ।
भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि
बिपत्ता भो जस्को लय-जलधिमा जीवन बगी ॥


पछी हामी प्यारा विविध उनका सन्तति भयौँ
धरामा बिस्तारै क्रमसित सबै फैलिन गयौँ ।
बढ्यौँ डाँडा-काँडातक सकल छोपी अलि दिन
पछी घट्तै आयौँ नियतिवश लाग्यो र कुदिन ॥


विधाताको हाम्रा उपर करुणा-गौरव छँदै
धरित्रीमा अन्धो मनुज-कुलको जन्म नहुँदै ।
बितेका हाम्रा ती शुभ दिवस यद्वा शुभ घडी
थिये मानू भाग्योदय-जनित बुट्टा फुलजडी ॥


पछी उस्ले अन्धो मनुज जहिले सिर्जन गर्‍यो
वहाँदेखी हाम्रो सकल कुलमा संशय पर्‍यो ।
घट्यो आयुर्दाको अवधि, भयको सङ्क्रम भयो
कठै ! हाम्रो हत्या उस मनुजबाटै शुरु भयो ॥


खुला यद्वा नाङ्गा विकट पट मैदान छ जहाँ
धरित्रीको छाती अपढ दुनियाँ चिर्दछ जहाँ ।
वहाँका बासिन्दा अघि सब उनै बान्धव थिये
जथाभावी जस्को मनुजहरुले जीवन लिये ॥

१०
धरा प्यारी छोरी, प्रकृति जननी खास, उनले
दियेका, छोरीका उपर खुशि भै शुद्ध मनले ।
थिये नानारङ्गी विविध तपसी-रूप गहना
उतार्दा ती सारा मनुज गनियो मूर्ख कमिना ॥

११
सहन्छन् जो बाधा मनुज, उस भन्दा शतगुणा
सही चर्को बाधा जलदसित मागी जलकणा ।
धराको वर्षेनी ज्वर मथर गर्ने सब इनै
तपस्वी हुन्, यस्ता सुर-असुर छैनन् अरु कुनै ॥

१२
हुरी, आँधी-ब्यारी, विकट हिम-वर्षा र असिना
कडा लूको धक्का, तरतर लगातार पसिना ।
सहन्छन् सम्झन्छन् उस कठिनताको परिणति
तपस्वीको एकै व्रत छ दुनियाँको उपकृति ॥

१३
सदा त्यो निस्स्वार्थी व्रत नियम थामी अटल भै
रही ठाडै नङ्गा किसिमसँग ती बान्धव सबै ।
सहन्छन् जो चर्को तप-विषयको कष्ट कसला
कठै ! उस्को दिन्छन् प्रतिफल करौँती र बसिला ॥

१४
गरी कब्जा लोहाउपर उसका शस्त्र ननिका
निकाली त्यैद्वारा तप-कुसुमका मञ्जु कलिका ।
जथाभावी तोड्दै मनुज-कुल सर्वत्र छरियो
अबादीको चारैतिर चहकिलो रङ्ग भरियो ॥

१५
त्यही बढ्दो चढ्दो मनुजहरुको रङग्‌-रसमा
गयो डुब्दै डुब्दै विपुल कुलको वृद्धि-सुषमा ।
रहे बाँकी थोरै, हरकिसिमको छेदन-विधि
खडा भो, साथै त्यो नगिच नगिचै मृत्यु-परिधि ॥

१६
ठुला सोझा सोझा जरठ तपसी बान्धवहरू
कटानीको टाँचा हृदयबिच हेर्दै धुरुधुरु ।
रुँदैछन्, ढल्दैछन् उपकरण लाखौँ थरि बनी
जगत्‌को गर्दैछन् हरकिसिमले मङ्गल पनि ॥

१७
कसैका देखिन्छन् शिर विकट नङ्गा र मुडुला
कसैका काटिन्छन् कटकट कठै ! हात डुँडुला ।
कसैका ताछिन्छन् कमर, बिचरा रक्तमय छन्
तपस्या त्यो कत्रो ? तदपि सब आनन्दमय छन् ॥

१८
जटा, मासू-छाला सहित हितको जीवन पनि
जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी ।
कसैलाई गर्छन् मनुज खलमा खूब खलल
लिनालाई भित्री कठिन तपको अद्‌भुत बल ॥

१९
यहाँ जो जो बस्छन् घर, महल वा गोठ, झुपडी
कुटी, पाटी, पौवा, मठ, विविध शाला, कचहडी ।
सबैमा यै हाम्रो कठिन तपको अन्तिम कला
म देख्दैछू धेरै किसिमसँग त्यो गर्छ सुकला ॥

२०
कडा ग्रीष्म-ज्वाला जुन बखतमा खप्न नशकी
तपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी ।
कठै ! त्यै वेलामा अझ विकट हालाहल सरी
डढेलाको ज्वाला मनुजहरु दिन्छन् हरि ! हरि !!

२१
कडा ती कालैका अति कठिन जिभ्रामय तिखा
दगुर्दा बस्तीमा उस बखत दावानल-शिखा ।
हुँदो होला त्यस्ता अटल तपसीको कुन गति
कठै ! त्यो हत्याको मनुज कुन सम्झोस् परिणति ?

२२
हवाले दन्केको उस दहनको त्यो लपलपी
सहन्छन् वर्षेनी तिनिहरु तिनैको हित जपी ।
तमासा त्यो देख्छन् मनुज, तर छन् पत्थर सरी
महत्ता को सम्झोस् तप र तपसीको ? हरि ! हरि !!

२३
यती भन्दाभन्दै तरुण तपसीका वदनमा
प्रभा अर्कै दौड्यो, सकल बदले रङ्ग छिनमा ।
म हेर्दैछू, सारा तन किरण-रेखामय भयो
ठुलो त्यै चौकीको जरठ तरुमा त्यो अलपियो ॥

२४
बिहानैको चीसो पवन बहनाले सिरिसिरी
खुल्यो आँखा, देखेँ सबतिर उज्यालो मिरिमिरी ।
उही चौकीमाथी विजन पथको त्यै रुखमनि
रहेँछू त्यै कापी, कलमहरुकै साथ म पनि ॥

२५
उदेकायेँ, फेरी उपरतिर हेरेँ टुलुटुलु
अहो ! हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु ।
बिलायो त्यो कालो सकल अघिको संशय-निशा
रँगायेको देखेँ तप र तपसीले दश दिशा ॥

२६
विजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य,
उस तरुवरको त्यो फेदको वास धन्य ।
अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्य
सतत मनन उस्को गर्छ जो, त्यो छ धन्य ॥