Jump to content

Sunko bihani/masterji

From Nepali Proofreaders
मास्टरजी

बोके दाढी चुस्स परेको सानो चिउँडोको आधार ।
तहलाइन्छन् काला जूँघा दुइ औंलाले वारंवार ॥
हात दाहिना बेत छ लामो अथवा चड्कनच्यूरा ॥
लुले लुले भै दहरा चड्कन दिन सक्छन् ती एक हजार ॥

आँखासाँखा सकल बिगारे अक्षरहरूले काला सार ।
चक्का काँच लगाई दोटा जिनतिन देख्छन् ती संसार ॥
ज्यादै घाम परीकन मुखमा ट्यूशन गर्दा तीन हजार ।
काला हाम्रा मास्टरजी छन् तर सुइँखुट्टे सारसंसार ॥

पतलो जिभ्रो टपटप गर्दछ लालमुसा झैं छरितो चाल ।
बोझा झुक्छ किताबहरूको विचारहरूका लिन्छन् याल ॥
लाग्छ शनैश्चर मंगल धेरै बन्छन् भृकुटी भीम कराल ।
पाठ नघोक्ने लडकाहरुका कान र गालाहरूका काल ॥

सारङ्गी झैं पेट छ खोक्रो ताजुबको यो कस्तो बात ।
त्यसमा टम्म छ पुस्तकहरूको ठेलंठेली डाँडा खात ॥
त्यत्रो सानो शिरमा बस्ने भारी भारी कत्रा बात ।
त्यत्रो सानो मुखको भित्र लबजहरूछन् तेतिस हात ॥

छैन नजानेको केही नै कण्ठ छ पृथिवी सब भूगोल ।
सक्छन् सहज बताउन कण्ठै शहर र पेरिस, लंडन टोल ॥
संस्कृत सोधे मात्र उ भन्छन् 'भो भो झर्को लाग्छ नबोल ।'
पढाउँदा तर उनले किन हो चक्कर बन्दछ खप्पर गोल ॥