Sunko bihani/ful pari
(१)
बगैंचामा मेरा रङबिरङका छन् कति परी
कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि ।
सिंगारेका छाँटी मगमग छिटो अत्तर मिही
लगाएका सारी नरम रँगिला रेशमसरि ॥
(२)
हरीया खोपीमा टहल छ हवाको हरहर
सधैं नाच्ने झुल्ने चलमल हुने नै छ रहर ।
लगाई हीराको टप झलल हाँसी मुसुमुसु
इशाराले डाकी मसँग सब गर्छन् खुसुखुसु ॥
(३)
चरा पंखी राम्रा नरम रङ पत्ती फरहर
उडूँ झैं बस्छन् ती वरपर हररर ।
कलीला यस्ता छन् कि त छुन पनी लाग्दछ डर
फुका छाती बोल्छन् मसँग परबाटै सब तर ॥
(४)
"कहाँदेखिन् आयौ भनन सुकुमारी वनपरी ?"
भनी सोद्धा भन्छन् मुसुमुसु बनी लज्जितसरि ।
"जहाँ झुल्छन् रंगी नरम कलिला बादलभरी ।"
जहाँ फुल्छन् ऊँचा धनु रंग मिसेका बहु थरी ॥
(५)
"छ कस्तो त्यो रंगी चहकहरूले झल्ल दुनियाँ" ?
पखेटा पाइन्छन् रँगबिरँगका सुन्दर त्यहाँ ।"
"कहाँ जन्म्यौ नानी ?" प्रभु हृदयका बालसपना ।
बनी जन्म्यौं हामी झलमल सबेरै उदयमा ॥
(६)
"नबोल्ने पंछी भै रँगबिरँगले नाच्नु फरर ?"
कुरा गर्दै मीठा हृदयसँग वर्ली तलतिर ।
भनी आज्ञा मिल्दा हृदय सब खोली फररर ।
सधैं हाँस्छौं लाईकन प्रभु टुना यो जगभर ॥
(७)
हजारौं भाषाका तहतह बनेको हृदय छ ।
जगत्को मायाले झलल गहनातुल्य जल छ ॥
बनाए माटैले तर हृदय क्या स्वर्ग-रस छ ।
पसी साना राम्रा मगमग मिहीं भाव खुप छ ॥
(८)
उज्यालो पारौं यो जगत, रँग राम्रा कति थपी ।
बहाई बास्ना नै हरहर हवामा सुख जपी ॥
खुशाई साराको दिल, दुख हटाई दिनभर ।
टुना भन्छौं हामी प्रभुतिर खिंची बाल नजर ॥
(९)
दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर ।
बनी दानी दिन्छौं हृदय–मह मीठो बुझ कुरा ॥
भए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभर ।
कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥
(१०)
दिए हामीलाई नरम गहना, रंग रसिला,
"बनाओ ए भन्थे" जन हृदय आनन्द हँसिला ।
अरूलाई पोस्ने हृदय छ कचौरा रस भरी
त्यसैले हो बास्ना मगमग चलेको हरहरी ॥