Jump to content

Shakuntala/trayodasha-sarga

From Nepali Proofreaders
त्रयोदश सर्ग
(मालिनी)

मधुकर महिषीले पङ्ख कूँजा फिँजारी ।
मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥
हँसमुख सखि यौटी साथमा ली अकेली ।
कुसुमहरु हवामा जिस्किँदा हाँसिखेली ॥
मधुकर सुइँकोले खोज्दछन्‌ भुन्भुनाई ।
वनविचरण गर्दी भक्तको भक्तिलाई ॥
वरिपरि छरिँदा ती तुल्य भिन्नै दिशामा ।
नृपजनहरु डुल्छन्‌ भूप खोज्दा दशामा ॥
(१)

खलबल पहिले ता भुन्भुनाएसमान ।
अलिकुल छरिँदाको खोजको 'गन्न' गान ॥
निकट छ अन मानो शब्द सारौं-कराई ।
हलचलहरु भर्दै पङ्ख झैं खल्बलाई ॥
(२)

कुसुमसदृश राम्रा वन्यबाला कुरङ्गी ।
शरसदृश छ आँखा, चाल कल्लोल-भङ्गी ॥
भ्रमर मधुर भौँका कण्ठका कोयली ती ।
खलबल हुन जाँदा भूप छोड्छन्‌ त्यहीँ ती ॥
(३)

उदित रवि उज्यालातुल्य ती सामु आए ।
विहगहृदय तृष्णा ती प्रजाको बुझाए ॥
वन छ जलद जस्तो कीर्तिको रङ्ग फुल्ने ।
दिनभर जुन छेक्थ्यो ज्योति भर्ने मुहार ॥
छविमय छ बनेको मिष्ट मुस्कानदार ।
(४)

"अब सब घर जाओ एकलो बस्छु पाई ।
सुखमय वन राम्रो शान्तिको झैं रजाई ॥
मुनिवरहरु बस्ने यो हरीयो निवास ।
मधुर कुसुम फुल्ने स्वर्गको भावना छ ॥
(५)

तप, जपसित बस्दा मोहिनी दिव्य आई ।
हृदयकन छुनेछन्‌ प्रेम झैं मुस्कुराई ॥
जुन ऋषिहरु खोज्छन्‌ वन्य मीठो विभूति ।
नयननिकट बन्छिन्‌ आज मेरी यहीँ ती ॥"
(६)

विहसित मुख हेर्छन्‌ अर्थले ती सँगीमा ।
मुखविकृत अनौठा भट्ट आकारिँदामा ॥
"अब वन वनचारी जङ्गली-प्रेम धारी ।
द्विजउपर हुँदामा आज रित्तो भकारी ॥
(७)

वन कुसुम मुसारी कन्द कोक्याउँदाले ।
उदरकन बटारी ह्वौ वनैया भिखारी ॥
म त रहन नसक्ने, लड्डुको ढड्डु भारी ।
शहरतिर हिँडें है हात ठण्डा बटारी ॥"
वचन यति लगाई हिँड्न तम्सेर भन्छ ।
"महल धन म पाउँ ताजलाई सिँगारी ॥
रिपुहरु सब धुस्नो पार्छु जूँघा मुसारी ।"
(८)

मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे ।
बकबक बतुरेको वाक्‌ बनेको बतासे ॥
स्वजनतिर निहारी भन्दछन्‌ छत्रधारी ।
"वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥"
(९)

"सुनन कति सुरीला बोल्दछन्‌ वृक्षमाथि ।
रँग बिरँग फुलेका चारु शाखा सगाती ॥
कसुमहरु उडे झैं बोल पाएर नाना ।
मुखरित महिमा झैं साँझ आई छुँदामा ॥
(१०)

अगणित महिमाका रङ्ग फुट्छन्‌ हजार ।
जलद-लसित ज्योत्स्ना दृश्यका छन्‌ किनार ॥
बहुल अधर हालूँ भाव भन्दो सुभाषी ।
कुसुम, विहग, लाली, प्रेममा चल्छ गाँसी ॥
(११)

सुखमय दिल जो जो बोल्न सक्तैन बोल ।
पुलकित तरु बोल्छन्‌ नीड पाली अमोल ॥
अनुभवहरु राम्रा फैलिँदी कल्पनामा ।
स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥
मुखरितसरि बोल्छन्‌ अर्थ नाघ्नेपनामा ।
(१२)

लहलह हरियोमा जिन्दगी झुल्छ रङ्गी ।
समररहित मीठा शान्तिका भाव-भङ्गी ॥
चचह चचह गर्छन्‌ फुल्छ रङ्गिन्छ फुट्छ ।
प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥
(१३)

अतिशय मृदु राम्रा फूलका जो जरामा ।
अधर मृदुल खोज्ने बोल्नलाई धरामा ॥
किरण मधुर भज्ने मोहिनी वन्य चारु ।
पवनसँग हिलेका छन्‌ हँसीला शिकारू ॥
(१४)

ध्वनि मृदु मुरलीका चल्दछन्‌ श्वाससाथ ।
स्वर मधुर बनेका मञ्जरी फूल पात ॥
अनि विहग गलाले टिप्दछन्‌ रङ्ग रङ्गी ।
ऋषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥
(१५)

विटप बहु-प्रशाखा जिन्दगी झैं खडा छन्‌ ।
खबरहरु चरा छन्‌, स्वर्गसन्देश-चारु ॥
बहुविध रस खोज्ने, गुप्त तृष्णा जरा छन्‌ ।
कुसुमहरु कला छन्‌ रङ्ग चढ्दा सुरा छन्‌ ॥
(१६)

दिन दिन छ खुलेको वन्य आनन्द दिव्य ।
कुसुम मधुर पाना रेखिँदो रङ्ग सभ्य ॥
तह तह छ किताबी अक्षराऽऽभास भारी ।
प्रकृतिहृदयमा छन्‌ पाठ राम्रा विहारी ॥
(१७)

अलि पर बहँदी छन्‌ मालिनी कल्कलाई ।
जलधि भजन तृष्णा बोलमा झल्मलाई ॥
ऋषि सहृदय सिक्छन्‌ छन्द त्यो भावभित्र ।
विपिनसरि जगत्‌ यो फुल्छ बन्दै विचित्र ॥
(१८)

प्रकृतपन नशामा, अङ्गमा वन्य भाव ।
हृदय-कुसुम-गन्धी वल्लरीका स्वभाव ॥
नयन मृदु कुरङ्गी बोल कल्लोलवाला-
सहित मधुर बैंसे फुल्दछन्‌ वन्य-बाला ॥
(१९)

झिलिमिलि न छ खल्लो चाहना चारु थोर ।
प्रकृत गति र गाना शान्तिको तुल्य शोर ॥
ऋषिमहल हरीयो पात झुम्का सिँगार ।
विटप विविध खम्बा कुञ्ज खोपी हजार ॥
सुखद विपिनवल्ली छन्‌ नटी बैंसदार ।
मधुर लय गला छन्‌ राज्य यो क्या अपार ॥
(२०)

म त अब वन बस्ने, जान्नँ प्रासादतर्फ ।
प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्व ॥
प्रचुर धन यहाँ छन्‌, रत्न-पन्ना-जुहार ।
विजय बहु यहाँ छन्‌ राज्य विस्तार सार ॥
(२१)

हरित कुसुम हाँगा मग्मगी पत्रदार ।
किरण मधुर छिर्ने छन्‌ जहाँ छत्र सार ॥
कुसुम रज छ लावा कीर्तिका गान-पङ्खी ।
पवन चमर डोल्ने हुन्छ सम्राट्‌ अपार ॥
(२२)

खलबल नमचाओ, शान्त यो वन्य छाती ।
कलिसदृश कलीलो भावले भाँतिभाँती ॥
नगर पर छिपेको पत्रले चट्ट छाई ।
समर स्वर सुनेकी बालिका झैं बनाई ॥
मृदु सुख सपनामा झट्ट झस्का पसाई ।
(२३)

घरतिर सब जाओ सुस्तरी चूपचाप ।
बरु हृदय भएका प्रेमले कान थाप ॥
श्रवण ऋषिहरूका सुन्दछन्‌ मञ्जरीमा ।
मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥
(२४)

पछिपछि म त हेर्दै सुस्तरी आउनेछु ।
थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥
अलि छिन पर गर्दा झोँकका कामकाज ।
अमर वन-विहारी बन्छु झन्‌ देवराज ॥"
(२५)

अनुचर तब फर्के, रामका भक्ततुल्य् ।
गिरि-शिखर कुटीका कुञ्ज छाडी अमूल्य ॥
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर ।
वनभ्रमण विलासीको इरादा बुझेर ॥
(२६)

अब वनतिर डुल्दा छन्‌ मिलेका सँगी ती ।
शर चतुर यिनी छन्, तीक्ष्ण त्यो मर्मभेदी ॥
नृपति दश दिशामा किर्तिका हास भर्छन्‌ ।
द्विज चतुर ठट्यौला हास्यले वश्य गर्छन्‌ ॥
(२७)

"छि ! छि ! वनअमिली यी" च्वाट्ट टड्कारिएर ।
चतुर चतुर भन्छन्‌– "दौंतरी हेर ! हेर !!
अतिशय अमिला छन्‌– देख्न जिभ्रो रसायो ।
तर पछि रसनामा स्वादले रन्थनायो ॥
(२८)

हुन त सब बिजूलीतुल्य तीखा उज्याला ।
तर ज्वर पछि आई रन्न पार्नेछ गाला ॥
म त यदि दुइ पैसाका मिले चार चार ।
छि! छि ! कति अमिला यी भन्दथें बार बार ॥
(२९)

किन हरि हरि सित्तैं, यो कुरुङ्गी कन्याई ।
रहनु वन अँध्यारो बीचमा रग्मगाई ॥
झिलिमिलि महलैमा ठाँट शृङ्गार पारी ।
मदनविजय गर्ने छन्‌ परी दिव्य भारी ॥
(३०)

चपल नयनवाला रङ्गका चारु गाला ।
कुसुमसदृश छाला चल्मले भौँ छ भाला ॥
शरम सरस चाला, बैंसवाला उज्याला ।
सुकठिन उरवाला चारु रम्भोरुवाला ॥
(३१)

ढलमलसित हिंड्छन्‌ हंसका ढङ्गवाला ।
भ्रमरसदृश काला केशमुन्द्रा उज्याला ॥
जुन चटु नखरामा गर्दछन्‌ मात नाला ।
उनकन किन छोडी लाउने वन्य माला ॥
(३२)

न छ पहिरन राम्रो, शुष्क बोक्रा भिरेका ।
युवतिहरु वनैया छाँट ठिङ्गा परेका ॥
पशुहरु पछि लागून् यी मुकुण्डीहरूका ।
जब उदर छ रित्तो छन्‌ पिँडौला गहूँका ॥
(३३)

न सरस नखराले भौं छरीता उचाली ।
नयन मृदुल तिर्छीको इशारा निकाली ॥
चलचल चतुरा छन्‌ स्नेहका चट्ट छाले ।
मुसुमुसु अधरे यी लाज लाम्चा कुनाले ॥
(३४)

कुसुम तरु खडा झैं फुल्दछन्‌ ठिङ्गरा यी ।
शरम पनि नजान्ने जङ्गली क्या बरा यी ॥
बरु सब गमलामा राख्नु तस्बीर पारी ।
युवति सदृस चाला एक नै छैन भारी ॥
(३५)

न त मसित कुनै यी जिस्किए एक ठट्टा ।
न त विपिनविषे यी पाउँछन्‌ एक पठ्ठा ॥
वरिपरि सब सेना देख्दछन्‌ ज्ञानलट्टा ।
यिनसँग म नबस्ने दूर बस्ने छु छुट्टा ॥
न त वचन म बोलूँ बन्द पार्नेछु बट्टा ।
बरु वन-मृगिणीको पुच्छरै लाग्नु सट्टा ॥
बरु कमल फुलेको हेर्नु सौगन्धगट्टा ।
(३६)

छि! छि! छि! छि! यिनलाई एक कौडी नमानी ।
हिँड महल उज्यालो दौँतरी, विन्ति जानी ॥
दहि-महि अमिला छन्‌, सातु छन्‌ कन्दमूल ।
यिनसँग रहनेको पेटमा हुन्छ शूल ॥"
(३७)

नृपवर तब भन्छन्‌- "जङ्गली यी प्रसून ।
प्रकृत तवरका छन्‌ पौर-चापल्यहीन ॥
सहज ललितताका छन्‌ लता झैं फुलेका ।
मृदु अधर खुलेका, अङ्ग राम्रा मिलेका ॥
(३८)

यिनसँग नखराको नक्कली भाव छैन ।
छल कपट सुधाको जिन्दगी नै छुँदैन ॥
सरस सरल वार्ता गर्दछन्‌ मिष्टभाषी ।
वन हृदय बने झैं ओठ रङ्गी सुवासी ॥
(३९)

वचन मृदु चरा छन्‌, वन्य यी अप्सरा छन्‌ ।
प्रकृति कलित राम्रा कोपिलाका कुरा छन्‌ ॥
रँग सुवदन बैंसे बीच चढ्दा सुरा छन्‌ ।
सब वनदुहिता यी बैंसका आँकुरा छन्‌ ॥
(४०)

मृग-शिशुसँग खेली प्राकृत स्वादु केली ।
कुसुमित रँग चढ्दा वन्य आनन्द बेली ॥
मदन शर बनाई बस्दछन्‌ कुञ्जभित्र ।
हृदयसँग बढालू भाव मागी विचित्र ॥
(४१)

वन विरचित स्वप्नातुल्य राम्रा मुहार ।
प्रकृत तवर खुल्ने शान्त खोपी जुहार ॥
किरणहरु पसेका स्वर्गका स्वर्ण रङ्ग ।
स्वर विहगहरूको भित्रिँदो बोल ढङ्ग ॥
(४२)

सलिल मृदुल रेखाबाट आकारिँदा यी ।
तुहिनधवल झल्कासाथ पाई सफाइ ॥
'कुसुमकलि कि नारीरूपमा मूर्ति ल्याऊँ ?'
भनिकन विधिले यी आधि दोधारभित्र ॥
मसृण छिनुहरूले छन्‌ कुँदेका विचित्र ।
(४३)

यिनकन जलका छन्‌ बोल लोलाउने जो ।
गुनुगुनुसित चल्ने बालकल्लोल भाव ॥
पवन वन झुलौना झूल छन्‌ पात झुम्का ।
हरित शिशु जगत् छन्‌ मालिनीतीर थुम्का ॥
प्रकृति सरल शिक्षा ज्ञानको सत्‌ प्रभाव ।
मधुर विहगवाला-तुल्य मीठा स्वभाव ॥
(४४)

जलद गगन ज्वाला रङ्गवाला उज्याला ।
रविकर मृदुमाला स्वप्नका रङ्गशाला ॥
हृदय-सर-विभासी भावका मञ्जुनाला ।
प्रकृत रस छ भर्ने बैंसको स्वर्ण प्याला ॥
(४५)

विधुवदनसुधाको शीतलो शीत थाली ।
टहटह वनमा जो दिव्य जादू खसाली ॥
कुसुम मृदु नशामा स्वप्निलो भर्छ पानी ।
मगमग मृदु वास्ना पत्रमा चारु छानी ॥
त्यस रससँग फुल्दा बैंसका यी शिरामा !
'बल बल'- सित बल्की रङ्ग चढ्दछन्‌ सुरामा ॥
(४६)

मृग-शिशुहरु पाई शैल सींढी तहालु ।
लघु पयर उचाली फुर्फुरे सौखचालु ॥
प्रकृति-कलित उत्री टीपको रङ्गशाला ।
हरित मृदु दुभोको शैलको खातवाला ॥
खुरखुरसँग चढ्दै ओर्लिँदै छन्दसाथ ।
प्रकृतसुख सिपालू चालका स्निग्धगाथ ॥
जुन सरस सजीव स्वादु नृत्य-प्रसन्न ।
विपिन सरल हुन्छन्‌ चाल त्यो चारु वन्य ॥
कति मधुर घुसेका कामिनी हेर धन्य।
(४७)

हृदय किरण न्यानो कोपिलाले फुकाई ।
पवन रसिकलाई चोर्न खोली मिठाई ॥
हिलमिलसँग हिल्ने भावना नृत्यदार ।
कुसुमित छ उज्यालो बैंस खुल्दो मुहार ॥
(४८)

निशिभर सपनामा तारका छम्छमाई ।
मृदु वन सहभावी भावमा चम्चमाई ॥

तदनुसरण गर्ने चालका प्रेरणामा ।
मुकुलित वन-वल्ली हल्लिँदा झैं नशामा ॥
प्रकृत मृदु कलामा नृत्य खुल्दो दशामा ।
अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥
किरणसँग सुनौला सूर्य बन्ने दिशामा ।
कति सरस उज्याला हास्यका चालदार ॥
मदनवनकुरङ्गी लच्किए अङ्गदार ।
(४९)

प्रथम छवि उषाको बाल झैं वारिवाह ।
उदय-नभ सँघारे टुक्रिएको अथाह ॥
लघु मधुर बुनेको माकुरो-जालतुल्य ।
कवि-दिल सपनाको सूत जस्तो अमूल्य ॥
(५०)

लसित मधुर ज्योत्स्ना स्वर्णलाली मिलेर ।
जब मुसुमुसु बन्दै जिन्दगी लिन्छ हेर ॥
जब पट सपनाको देश झैँ खुल्छ धेर ।
प्रथम विहग बोल्दा स्वर्णको गर्भनेर ॥
त्यस रँग मधुरोले छोइएका कपोल ।
विपिन कुसुमवाला देखिए क्या अमोल !!
(५१)

मदन वनविहारी पुष्पको वाणधारी ।
अतिशय सकुमारी नग्न शोभाधिकारी ॥
मधुर मधु नशाले बैंसको वन्य मस्त ।
कर-धृत कलिप्याला कुञ्जमा चारु लस्त ॥
(५२)

तर सब तिनमध्ये एक ती छन्‌ पहीली ।
प्रकृत सरलताको पानी-आँखे छबीली ॥
अलक मृदु शिरीषी जो झुकेका परेला ।
लघु तवर उचाल्छिन्‌ पर्खदै हेर्न वेला ॥
(५३)

कुसुमउपरका ती मिष्ट छन्‌ स्वर्णदाना ।
सुरवन सुषमाकी रत्नरूपी खजाना ॥
मधुर विधिकलाकी शिल्पको स्वर्ण पाना ।
अमर तरु फुलेकी बैंस लावण्य नाना ॥
(५४)

कवि-हृदय रसीली ज्योति जस्ती सजीव ।
अरुण सुमन-गाला वल्लरी लोल चाला ॥
मदनकि बहिनी झैं, ती उषाकी सँगी छन्‌ ।
अविदित महिमा झैं स्वप्न यात्राहरूकी ॥
(५५)

अवनितिर झरेकी रत्नको व्योम ज्योति ।
पयर मधुर चल्ने फूलको झैं छ लोती ॥
मधुर मधुर गिर्छन् मुस्किँदा चारु मोती ।
अरुसरि तिनि छैनन् चारु सङ्कोचकी ती ॥
(५६)

अलि परतिर सर्ने मर्द देखेर सामु ।
प्रकृत शरमवाली कोपिला झैं खुला छन्‌ ॥
रँग सुमधुर चढ्दी कोपिला झैं सुगन्ध ।
सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥
(५७)

डर छ भ्रमर बस्ला चट्ट काहीँ भनेर ।
छिन घिन मृदु गाला छोप्दछिन्‌ ती नुहेर ॥
शिर रससित कर्के, कान यौटा उचाली ।
छिन छिन अलि छोपी छैन झैं भान पारी ॥
(५८)

अलिकति पर सर्दी फेरि झस्केर छर्दी ।
अलक अनि 'कहाँ गो' झैं भनी चट्ट हेर्दी ॥
मृदुल सरस लच्कासाथ रम्भोरु घुम्थिन्‌ ।
नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन्‌ ॥
(५९)

जलभृत घट बस्दा लच्किएका कटी ती ।
छचल जल छचल्की झल्किएकी छचल्का ॥
तरुण रस ककल्‌ कल्‌ फूलका बोट पोषी ।
हृदयज-जल जस्ता भावना छाल पोखी ॥
विपिन कुसुम-पोस्ने देवकन्यासमान ।
उपवनकन दिन्थिन्‌ स्वर्गको चारु भान ॥
(६०)

कमलसरस भाल स्वेदले भो झिझिल्ल ।
उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥
अलकतिर शिरीषी माधुरी साम्यभावी ।
रँग विलसित गाला कर्म-टूना अमूल्य-
सरि युवति थिइन्‌ ती कामकी झैं विलास ।
(६१)

सहन कठिन बन्छन्‌ बैंस ठट्टा तिनीमा ।
किन शरम हुने ती चाल गर्छन्‌ भनेर ॥
चकित मधुरता झैं अप्रसन्न प्रभा छन्‌ ।
तर अरु कति त्यस्ता मोहिनी दिव्यता छन्‌ ॥
(६२)

पयरतिर बिझेको शल्यले 'आच्छु' पारी ।
सखितिर जब फर्की बन्दधिन्‌ ती गुहारी ॥
निठुर सरसता झैं दैवले पङ्गु पारी ।
नजर सरस दिन्धिन्‌ कर्किंदी स्वर्ग प्यारी ॥
(६३)

महल छ सब खल्लो छट्टका राज्य जस्ता ।
रँगहरु अति चड्का, पौर छन्‌ चाल सस्ता ॥
झिलिमिलि सब बोक्रा, बैंस खोक्रा त्यहाँका ।
सुमन मृदु खिरीला डाँठमा छन्‌ यहाँका ॥
(६४)

अप्रकृत नखराका धूर्तताका शिकार ।
अति चपल प्रदर्शी भावका शून्य सार ॥
अधर अति रँगाई बैंस ज्यादै सजाई ।
अतिशय नकली ती नाक भौं शानदार ॥
विकृतिमय र कामी-भावनाका शिकार ।
युवति शहरका जो छन्‌ सितारा-सिँगार ॥
उनअघि वनबाला स्वर्गका छन्‌ जुहार ।
विकृत मुख न तीतो नक्कली चाल पार ॥
अब म त वन बस्ने रोज सानन्द चार ।"
(६५)

यति पछि नृप लागे डुल्न तस्वीर प्यारा ।
हृदयपट सिँगार्ने मौन खिच्दै हजारा ॥
तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा ।
मुख विकृत लगाई खोज्दथ्यो व्यङ्ग्यपर्रा ॥
घन जन घर छोड्ने भूपमा हान्न छर्रा ।
(६६)

शशयुवति हँसीली पुष्प जस्ती रसीली ।
कुसुमित जब देखे छन्‌ त्यहाँ बैंस-ढीली ॥
त्यससँग मुटु पोल्दा च्याखुरा एक बोल्दा ।
अलि गलित भएछन्‌ दुब्लिँदा ज्योति ढल्दा ॥
चतुर विपिन तित्रासाथ लाई मितेरी ।
हृदय सब खुलाई गर्दछन् एक विन्ति ॥
"स्वकरगत बनाऊँ ती उज्याली हँसीली ।"
चतुर विपिन तित्रा भन्छ "ओर्लेर आऊ ॥
सलिल-तिर डुबुल्की स्नेहको एक लाऊ ।"
तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥
सलिलबीच डुबुल्की लाउँदै चट्ट हल्ले ।
शशयुवति उज्याली ती हिमाली कपोल ॥
जलतिर जब झर्थिन् स्नानका निम्ति हेर ।
तब कर हलुकाले चट्ट टिप्छन् शशीले !
तब शशधर बन्छन्‌ पूर्णतामा खुशीले ।
अहह ! कति मजाको प्रेमलीला छ वन्य ॥
भज अब शशवाला चन्द्रवंशी सुधन्य ॥
महल धन मजा ती स्वर्गको छोड रम्य ॥
घनविपिन विहारी दौँतरी क्या अचम्म ।
पतिसित बतुरे ती ओठ तीता लगाई ॥
छि छि छि छि ! सँग थुक्छन् वन्य पैयूँ चपाई ।
तर अब निशि ओर्लिन् रङ्ग सारा पखाली ॥
गगन मधुर पारी मिर्मिरे भाव हाली ।
वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥
उटजतिर हिँडे ती घोरिँदै फेरि भूप ।
(६७)