Jump to content

Shakuntala/saptama-sarga

From Nepali Proofreaders
सप्तम सर्ग
(उपजाति)

सानी उज्याली वनबालिका ती ।
हालेर जादूमय स्वप्न जाली ॥
बन्थिन् तरङ्गीपट भाँति भाँति ।
अनेक राम्रा मृदु भाव काती ॥
(१)

हेर्थिन वसन्ती कलिदार डाली ।
कल्लोल झैं स्वर्णप्रभातमा ती ॥
आनन्दका पाउ छिटा उचाली ।
(२)

दिन्छन् मुना, पल्लव, पुष्प, ताली ।
विहङ्ग बोल्छन् रसिला कुरा ली ॥
छन् वल्लरी नै उनलाइ आलि ।
चल्छन् हवाले मृदु अङ्ग चाली ॥
(३)

कल्लोलले निर्मल नृत्यवाली ।
नाला बगेका गिरिकुन्जभित्र ॥
भाषा छ तोते नवपल्लवीय ।
वसन्त झैं शब्द हुने मुनामा ॥
(४)

रेखाहरूको नव कोपिलाको ।
मुनाहरूका मृदु चालबाट ॥
आकाशका सुन्दर मेघबाट ।
भाषा छ बग्दो तिनको अचम्म ॥
(५)

जो भाव बन्छन्‌ हरिया र रङ्गी ।
वसुन्धरामा नव रश्मिद्वारा ॥
ती भाव राम्रा मसिना मिहीन ।
छन्‌ रेखिएका दिलमा नवीन ॥
(६)

ती चारु प्यारी वनकी कुमारी ।
आनन्दकी शासनमा हरीयो ॥
बन्थिन् कहीं फूल कहीं चरा ती ।
अलौकिकाऽऽभास लिएर जाती ॥
(७)

जो सिर्जनाको झलमल्ल ज्योति ।
सेतो भई राप, बनेर मोती ॥
निशापरीका घन केश काला ।
भरी सधैं झल्मल छन्‌ उज्याला ॥
(८)

हामीहरू नाम दिएर तारा ।
जो हेर्दछौं झल्मल नित्य सारा ॥
ती रत्न देखेर शकुन्तला ती ।
प्रवाह लिन्थिन्‌ कति भाँति भाँति ॥
(९)

परीहरूले सपना दिएर ।
मिठासको स्वप्नसुसार गर्थे ॥
प्रभाततारा सुनतुल्य आशा ।
अनेक राम्रा दिलभित्र भर्थे ॥
(१०)

उषा उज्याली घनकेशवाली ।
सुवर्णवातायनबीच बत्ती ॥
बाली, जसै "स्वागत अंशुमाली ।"
भन्थिन्, हवाभित्र सुगन्ध हाली ॥
भन्थिन् तिनी "स्वर्ग खुल्यो मुमाको ।"
गुलाफबारीहरुको सुगन्ध ॥
सुँघेर बग्दी सुनमा सुगन्ध ।
(११)

(वसन्ततिलका)
ऐनासमान हलपी जलतुल्य साफ ।
निष्पाप शुद्ध दिलमा नभएर ताप ॥
मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग ।
आनन्दको सुन सुगन्ध लिएर भल्की ॥
(१२)

नालासमान तिनका पद नृत्य गर्छन् ।
चाञ्चल्यको सरल सुन्दरता लिएर ॥
जान्छिन् जहाँ शिशु घुमी मृदु कल्कलाई ।
फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई ॥
(१३)

जादूनिकेतनसमान समस्त विश्व ।
आनन्दको छ जसको गहिरो रहस्य ॥
जो रूपरङ्गहरुको छ अनन्त टूना ।
त्यो बालनिम्ति छ अरू सब दुःख भन्छन् ॥
(१४)

जो साधुले भजिरहे युगसम्म लाखौं ।
जो भाव दुर्गम सधैं छ सरस्वतीको ॥
जो भोग्छ ईशपति बाल बनेर आई ।
त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ ।
(१५)

पन्ना छ पल्लव जहाँ, जब बन्छ मोती ।
मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥
भाषा बुझिन्छ खगको अनि नाटकीय ।
त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥
(१६)

जो पात एक महलैसरि दिव्य ठानी ।
बन्छिन् अनन्तसित गद्गद दिव्य रानी ॥
नानी जहाँ जलदले छ चमक्क चारु ।
आनन्दका महल हुन् शिशु नै फुलेका ॥
(१७)

छन् प्रौढभाव उनका मनमा मुना झैं ।
स्वप्ना छ प्रौढ बिपना मृदुकल्पनामा ॥
ती रङ्ग रङ्गहरुमा दुनियाँ बनेर ।
बिग्रिन्छ फेरि नवता लिन चारु हेर ॥
(१८)

बोल्छन् प्रबाल तरुका उनसाथ सुस्त ।
खोलेर ओठहरु सुन्दरता प्रशस्त ॥
संवादबीच दिल शैशवको छ मस्त ।
अज्मेर उत्तर अनेक सुनाउँछिन ती ॥
(१९)

देखेर ऐक्य सब रूप र रङ्गभित्र ।
जो भाव टिप्दछ कुरा मृदु आँकुराको ॥
मीठोपनासँग समाउँछ भित्र छाती ।
त्यो भाव लग्छ अझ क्यार कि स्वर्गमाथि ॥
(२०)

निर्जीव छैन तटनेर शिला सलक्क ।
जो हुन्छ चारु लहरी जलको झलक्क ॥
त्यो गर्छ भाषण मनोहर कल्कलाई ।
आनन्दको मुटुसितै लय नै मिलाई ॥
(२१)

विश्वासको मृदुलता जुन हो मुना झैं ।
जो नित्य हुन्छ हरियो सुरबागभित्र ॥
खस्दैन आँधिहरुबाट, ढलेर जाँदा ।
ठूला महीरूह, यिनीसँग त्यो छ भित्र ॥
(२२)

आधारदार सुकुमार विचारधारा।
सौन्दर्यसारसित लिन्छ अडान दिव्य ॥
देखेर मूर्ति प्रभुका सब रूपभित्र ।
आनन्द झैं मधुर ज्योति लिने विचित्र ॥।
(२३)

आनन्दको मधुर ज्ञान अनन्त निल्ने ।
जो हुन्छ साधु, ऋषिमा सहजै नमिल्ने ॥
पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली ।
जादूसमान मृदु गुह्य प्रभा निकाली ॥
(२४)

आँखा अनन्तसित गर्छ कुरा चमक्क ।
धप्किन्छ दीप दिलमा क्षणमै धपक्क ॥
बन्छन् कथा सरसतासित चारु छन्द ।
ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥
(२५)

जो व्यास हुन् शिशु थिए शिशुलाइ सारा ।
त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥।
झल्किन्छ त्यो प्रगतिमा सुरगुह्य झल्ल ।
जो भावमा विवुध छन्, शिशु छन् त्यहीं नै ॥
(२६)

पाऊँ म त्यो मधुरता यदि आज थोर ।
बन्थें परी, विवुध, स्वर्ग नलाई बेर ॥
जो कल्पना छ खँदिलो प्रकृतिप्रभाकी ।
विश्वाससाथ सब विश्व उ राज गर्छे ॥
(२७)

हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई ।
पूजा गरेर दिलले जलसाथ हेर्छौ ॥
छन् बालनृत्यहरुले सब स्वर्ग टम्म ।
कल्पद्रुमादि जसमा लटरम्म फुल्छन् ॥
(२८)

बिग्रिन्छ प्रौढहरुको जब बुद्धि सारा ।
वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा ॥
त्यो कालमा शिशु अविकृत शान्त हाँसी ।
रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥
(२९)

त्यो इन्द्रको धनुपछाडी दगुर्न खोज्ने ।
देखेर सत्य खँदिलो नभबीच ऊँचा ॥
जो भावको गति छ त्यो यदि आज पाऊँ ।
यौटा नयाँ निगम यो जगमा बनाऊँ ॥
(३०)

खेली कुँदेर छरिता पदसाथ नाची ।
हाँसेर हेर जगतैकन यो उदासी ॥
आह्लादको रस भरूँ कि भनेर ईश ।
आए बनेर शिशु गर्न सुचारु लीला ॥
(३१)

यो दुःखको जलधिमा यदि मिल्छ एक ।
आनन्दको लहर रश्मिप्रसन्न चारु ॥
तारा कतै छ तममा यदि जिन्दगीको ।
त्यो हो वसन्त मुजुरा, शिशुता शिखारु ॥
(३२)

सानी शकुन्त-सँगिनी हँसिली भएर ।
पन्छीहरूसँग मिलीकन बार बार ॥
उड्थिन् सुवर्णनभमा सुप्रभातभित्र ।
रङ्गीनपङ्ख मनमाफिकले विचित्र ॥
(३३)

देखिन्छ ईश्वर त्यहाँ शिशु छन् जहाँ यी ।
श्रीकृष्ण छन् ऋषि कुनैकन पातमाथि ॥
चिल्लो हरा मृदुलता नव पालुवाको ।
पाएर ईश्वर बसे शिशुरूप बन्छन् ॥
(३४)

यो कोपिलाकन सुगन्ध दिने जरामा ।
हो स्वर्ग, हैन जलरश्मि यहाँ धरामा ॥
त्यो शब्दको मधुर तान थियो चरामा ।
तोते मिठास अझ छैन कि स्वर्गमा नै ॥
(३५)

यो काँचको घर न हो बहुरत्न-छाना ।
छन् इन्द्रका धनु विभूषण रङ्ग नाना ॥
प्रत्येक रश्मि रविको पनि हुन्छ झल्ल ।
त्यो कल्पना अझ छ रङ्ग दिने झलल्ल ॥
(३६)

के फूल् हुन् र कविजी जग-सिर्जनाका ।
आदर्शरूप दिलका मृदु गुह्यवाला ?
मेरा निमित्त शिशु नै सब फूललाई ।
जित्छन् सुगन्धमय जीवन दिव्य पाई ॥
(३७)

ती अप्सरा र नृपकी दुइ-अंशवाली ।
पृथ्वी र स्वर्गकन साथ लिएर घुम्छिन् ॥
आनन्दलाइ ऋषिको तपको गिज्याई ।
आनन्दतुल्य खँदिलो नव स्वर्ग लिन्छिन् ॥
(३८)

दाढी सफा सकल ज्ञान छुने हिलाई ।
"नानी" भनेर जब कण्व पुकार गर्थे ॥
नानी दुवै चमकले दुइ स्वर्गतुल्य ।
हेर्थे मनोहर बनी ऋषिमा प्रफुल्ल ॥
(३९)

त्यस्ती जुहार घरमा हँसिली हुनाले ।
टूनासमान छविदार गयो अँधेरी ॥
दारिद्र्य नै धन भयो र कुबेर हाँसे ।
लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥
(४०)

ती गौतमी पनि बनी जननी तिनैकी ।
शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥
मीठा प्रभावहरुका अब आज पाई ।
छन् मस्त, गीत रसिला उसमा सुनाई ॥
(४१)

मारेर सुस्त ठुँग मस्त हुँदी ठिटीका ।
मुद्रा मुनासरि सुकोमल केशमाथि ॥
ती बाललाइ पृथिवी जननी बनेर ।
बूढी लुटुक्कसँग फूल बनाइलिन्थिन् ॥
(४२)

राम्रा कथाहरु सुनी ऋषि कण्वबाट ।
राम्रो लिएर शिशुचाल रमाइलोले ॥
ती कल्पनासरि भइन् रसिली सजीव ।
देखेर झल्ल सब जो ऋषि थोर देख्थे ॥
(४३)

यौटा थियो घरविषे मृग सानु बच्चा ।
कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥
बढ्दै गएर दुइ साथ बसेर वार्ता ।
गर्थे, बुझेर मृगशावक दङ्ग पर्थ्यो ॥
(४४)

तारा विभातहरुका सरि एकली भै ।
एकान्तमा मृदुमुखी पनि हॉँसिदिन्थिन् ॥
यौटा प्रभा सुनहला तब विश्वमित्र ।
स्वप्नासमान नव जागृत बन्न जान्थ्यो ॥
(४५)

(अनुष्टुप्)
अनसूया तथा 'चारु' अर्की एक प्रियम्वदा ।
खेल्थे साथी भई तीन हाँगामा पुष्प झैं बनी ॥
(४६)

रानी पारी तिनैलाई ताज फूल बनाउँदै ।
सिँगारी नाच्दथे आफू, मानो विपिनका परी ॥
(४७)

वसुन्धरा कतै नाच्थे कतै "छम् छम् छनानना ।"
पुष्पका तालमा नाच्थे सुखतुल्य सबै जना ॥
(४८)

बिहा गरेर ती खेल्थे 'चारु' राजा बनीकन ।
रानी शकुन्तला बन्थिन् प्रजा बन्थे अरू जन ॥
(४९)

(शालिनी)
यस्तै लीला बाल्यमा चारु खेली ।
मीठो पाई सौख्य जस्ती हवेली ॥
चोरी गाना मालिनीका उज्याली ।
बढ्थिन् हाम्री अप्सरारूपवाली ॥
(५०)

जूनै जूनैबाट मानो , कुँदेकी ।
फूलै फूलैबाट मानो बनेकी ॥
राता गाला दीर्घ आँखा उज्याला ।
विश्वश्री झैं प्रातमा चारुचाला ॥
(५१)

बढ्थिन् हाम्री बालिका दिव्य राम्री ।
तोते बोली अप्सरा शब्द घोली ॥
झुप्रोलाई एक थुप्रो जुहार ।
जस्तो पारी रूप भारी कुमारी ॥
(५२)

(स्रग्धरा)
नाच्दी कुद्दी उज्याली चपल मधुर छन् बोल तोते तरङ्गी ।
बढ्थिन् ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी ॥
सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उमङ्गी ।
रङ्गी रङ्गी अनेकौं मृदु लयहरुमा बग्दछिन् चित्त-गङ्गी ॥
(५३)

ढङ्गी ढङ्गी तरङ्गी रँगरँगहरुका खेलमा चित्त बङ्गी ।
उल्लङ्घी ती कहीले जनकवचन नै जो छ क्रीडाप्रसङ्गी ॥
इन्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी ।
रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बढ्दछिन् चित्तचङ्गी ।
(५४)

भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र ।
त्यस्ती मीठी उज्याली विहगशिशुसँगै दाँजिँदा आज भित्र ।
जो जो लेखें सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र ।
झल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस् भूलभित्र ॥
(५५)