Shakuntala/saptadasha-sarga
धेरै लामो सुख प्रकृतिले जिन्दगीलाइ दिन्नन् ।
सारा हाम्रा ऋतुहरुविषे अल्प लाग्ने वसन्त ॥
लाली राम्रो गगनपटमा बस्छ है थोर काल ।
स्वर्णाभाका पथि तिमिरले दुःखको फिँज्छ जाल ॥
(१)
साना झल्का बहल रसिलो पाउँदा छन् निमेष ।
निभ्छन् ज्वाला तर हृदयमा अन्धकारै छ शेष ॥
राम्रा मीठा मुख कुसुमका फुल्दछन् थोर काल ।
प्रेमीलाई पर गिरिदिने छन् यहाँ क्रूर जाल ॥
चाँडै आयो खबर, सुखको रोजको पार्न अन्त्य ।
दुःखी थोपासित जलद झैं पार्न कालो दिगन्त ॥
(२)
हेर्नेपर्ने भुवन-पतिले सत्यका ती विरोध । ।
गर्नेपर्ने समर रिपुका दुष्टतानिम्ति शोध ॥
"पाई मौका रिपुदल बढी राज्यमा दी चढाइ !
डुब्ने आपद् निकट छ" भनी दूतले भन्छ आई ॥
(३)
देखी ठूलो निकट खतरा भूपले प्रीतिलाई ।
भन्छन् "हामी दिलदिलसँगै बन्दछौं नित्यलाई ॥
छुट्टिन्नौं है तर अब यहाँ एक आपद् मलाई ।
दुःखी बोलीसित विनतिमा माग्छु तिम्रो बिदाइ ॥"
(४)
टल्पल् आँखा वदन नृपको हेर्दछन् भै पुकारा ।
'छोडी जाने हृदय नहवोस्' भन्दछन् 'आज प्यारा' ॥
देखी रोई हृदय नृपको नेत्र ठूला रसाए ।
रोकी बोली क्षणभर रूँदो चित्तलाई अडाए ॥
(५)
भन्छन् "हामी दुइ पर नभै साथमा नै रहूँला ।
तिम्रो तस्वीर हृदय लिई कष्ट सारा सहूँला ॥
हामी हौंला रवि विधु दुवै दूर यो अङ्कमाल ।
गर्दे प्यारो निशिभर भरी प्रेमको ज्योति-जाल ॥
(६)
कर्मै ठूलो समरधलमा हाजिरी माग्छ विश्व ।
तिम्रो टूना विजयहरुको बन्छ भित्री रहस्य ॥
लाग्छन् वैरी अनृतदल झैं दुःख दी सत्यलाई ।
लड्नैपर्ने सकलसँगमा धर्मको दी रजाइँ ॥
(७)
चाँडै होला विजय रिपुको, छौ तिमी नै सहारा ।
तिम्रो टूना हृदय रहने शास्त्रमा दिन्छ ज्वाला ॥
सड्छन् आत्मा समर नभजे सत्य राख्ने उपाय ।
तिम्रै होला विजय गहना कीर्तिको पुष्पमाला ॥
(८)
छोडी जानै अब कर पर्यो युद्धको भूमि ताकी ।
चाँडै फिर्नेछु बुझ, महिषी बन्नु तिम्रो छ बाँकी ॥
लामो आँखा भरभर लिई वेदनादार बिन्दु ।
झन् झन् भर्छ्यौ हृदयभर यो शूल, सौन्दर्य सिन्धु ॥
(९)
मर्ने आत्मा न छ, अमर पो छैन हाम्रो वियोग ।
सत् विश्वासीकन समर छन् प्रेमका नै परीक्षा ॥
मिथ्यालाई विजय गरिने युद्धमा मृत्यु आए ।
प्रेमी नाता अमर लहराबीच झन् फुल्न पाए ॥
(१०)
जो विश्वासी हृदय गहिरो त्रास त्यल्लाइ छैन ।
शङ्का गर्ने हृदय धृतिले दुःखमा लिन्न आश ॥
विश्वासी भै डर पर गरी सम्झना होस् सजीव ।
तिम्रै छाती प्रचलित हुने ढुक्ढुकीमा म आई ॥
मीठो तालीसँग त रहुँला नित्य आत्मा समाई ।
(११)
बिर्से मेरा हृदय नरहोस् खाक होस् विश्व सारा ।
मेरो आत्मा नरकगत होस् बिर्सिए यो मुहार ॥
साना पर्दा समयकन छन् जिन्दगीका वियोग ।
खारी आत्मा विमल गरिने हो परीक्षा वियोग ॥"
(१२)
भन्दै प्यारी विपिनदुहितालाइ सम्झाउँदा ती ।
आँखा ठूला टलपल भई दुःखदाना झरेकी ॥
आफै रुन्छन् मन मन त्यहाँ रोक्दछन् किन्तु आँसु ।
"चाँडै फर्की लिन विपिनमा आउँला" है भनेर ॥
(१३)
सीधी आत्मा विरहहरुमा आशले रोज गन्थिन् ।
औंठीको ती प्रतिदिन हने वर्णको रीस गर्दी ॥
सारा संसार तिमिर भरी दुःखको राज्य देख्थिन् ।
आशा राख्थी हृदय जलले नत्र ता खाक बन्थिन् ॥
(१४)
उड्दै आए निठुर नभमा क्रूर ती दीर्घ रोज ।
जल्दा ज्वालासदृश रविका ग्रीष्मको स्पर्श पाई ॥
यौटा दोटा अनि जब गयो रोज तेस्रो उडेर ।
रोइन् आँखा जल जल गरी वाक्य मिथ्या बुझेर ॥
(१५)
लामा लामा अझ हुन गए दुःख जस्ता निमेष ।
शङ्का बढ्थ्यो मनमन डरै जित्दथ्यो नित्य वेश ॥
दुब्ली दुःखी सँगिनिसँग नै सुस्तरी सुस्किएर ।
आँखा ठूला सजल रहँदी बस्दथिन् घोरिएर ॥
(१६)
कोही भन्थे तब रणकथा हास्यका ढङ्गसाथ ।
सुन्थिन् आधा तर विरहले झन् तरङ्गी छ माथ ॥
कस्तो होला समर कसरी युद्ध गर्छन् भनेर ।
सोच्थिन् लाग्थ्यो डर मनमनै बोल्नु लज्जा बनेर ॥
(१७)
बस्थिन् सोची प्रथम सुखको दृश्यलाई जगाई ।
शोभा सम्झी मधुर मुखको, त्यो बिहाको मिठास ॥
स्वर्गै जस्तो वरिपरि थियो दिव्य आनन्दभित्र ।
पन्छी बोल्ने सुखमय लता झुल्दथे क्या विचित्र ॥
(१८)
ज्यादा बढ्दा विरह मरु झैं शून्य संसार बन्दा ।
आत्मा खोज्यो मधुर मुखको सम्झनाको मिठास ॥
बिर्सू भन्थ्यो प्रकृतपनले दुःखको बाह्य दृश्य ।
आफ्ना प्रेमी परतिर हुँदा शून्य जस्तो जगत्मा ॥
(१९)
जो पाइन्नन् निकट सुखका चीज सोन्दर्यवाला ।
फोस्रो बन्दा मरुसरि जगत् झल्किँदा तापज्वाला ॥
सो सो पाऊन् हृदयतिर नै यो दयाको विधान ।
जादूगर्नी मधुर सृजना कल्पनाको छ जान ॥
(२०)
बन्दै आयो मन मन जगत् सौख्यको रङ्गशाला ।
रानी देखिन् महल रसिलोमा रहेकी उज्याली ॥
आफैंलाई भनि टहलमा धेर राम्रा सुसारे !
राम्रा राम्रा युवतिहरुले वस्त्रलाई सिँगारे ॥
(२१)
'आजै फिर्छन् विजय सुखमा भूप' भन्थे मुसुक्क ।
हाँसी कोरी मृदुल उनका केश, बैंसे सुसारे ॥
ऐना हैरिन् विजय महिमा चित्तमा झल्ल झल्क्यो ।
आँखा चम्के मुख अलि पुछिन् लाल केही बनाई ॥
(२२)
त्यस्तैमा ती समरविजयी रत्नका ताजवाला ।
भालालाई अलिकति बढेका उज्याला र अग्ला ॥
बन्थ्यो रेखा असि कमरमा, स्वर्णको म्यानसाथ ।
हाँसी आए अरु सब उठे, ती उठिन् आँसुधार ॥
(२३)
'प्यारी' भन्दै विजय करले पातलो आँग बेरे ।
स्वर्गै वर्लेसरि हुन गयो चारु आँखा उचालिन् ॥
भेटे दोटा, दिल दिल गई नेत्रका ज्योतिभित्र ।
भिन्नै छिप्दा बहुत दिनका भाव झल्के विचित्र ॥
(२४)
"मेरो कस्तो विरह रहको मत्स्यको झैं दशा भो ।
भन्दी आत्मा सजलनयनी टल्पलाएर आइन् ॥
दुर्वासाले यस दिन कटी कण्वको सम्झिएर ।
देखे आँखा सरस विरही स्वप्नका देशभित्र ॥
(२५)
धेरै पर्खे तर युवतिले देखिनन्, स्वप्नमग्ना ।
'कस्ती अन्धी' मन मन भने शब्द यौटा उठाए ॥
"सुन्छन् कानै पनि' अनि त्यहाँ चित्त आयो रिसाई ।
'हाम्रा कस्ता ऋषि-कल-सुता बिग्रिएका बिकम्मा ॥
प्रेमी कामी विरह रहका मत्स्यका बालिका झैं
के गर्छन् यी ? ऋषिहरु कहाँ जन्म दिन्छन् यिनैले ?
बिग्रे भत्के द्विज अब सबै ! जाति पार्छन् खियौटे ।
(२६)
कस्ती अन्धी ! प्रकत महिमा मात्र देख्दी दशामा ।
सुक्छन् तेरा रस, तनु सुकी बन्छ मूढो चिताको ॥
कर्म्मै बिर्सी सब कलमको, दूर सत्कार फ्याँकी ।
कामी अन्धी त्रिभुवनविषे अन्धकारै छ छर्दी ॥
(२७)
कामै कालो कलुष मनको जातिको नाश गर्ने ।
कालो धुवाँ समरहरुको, शान्तिको भङ्ग गर्ने ॥
यै बाधा हो सकल ऋषिको, विश्वको प्राण हर्ने ।
कस्ती अन्धी, म अघि छु खडा यो छ मर्दा नहेर्ने ॥
(२८)
माया जस्ती तरुण मुखकी हेर ! सेती मकुण्डी ।
आत्मा बिर्सी अनृत ढँगले कामकी उग्र चण्डी ॥
यो पापी हो नजर नदिने सत्य कर्तव्यतर्फ ।
विश्वै डग्ला द्विजकुल सबै बिग्रिई जान्छ नर्क ॥
(२९)
"को छन् ए यो घरतिर, कनै कान छैनन् यहाँ के ?"
भन्दा ऊँचा स्वरसित, तिनी क्रोधले दन्दनाए ॥
बेपर्वाही युवति नसुनी नासिकातर्फ झुक्थिन् ।
बायाँ फर्की कर शिर झुकिन् भालले छुन्छ औंला ॥
(३०)
दुर्वासा भन्छन नि "जडता यत्तिको देखिएछ ।
कस्ती अन्धी उपल-बहिरी शून्यकर्तव्यचित्त ॥
काली माया धवलमुखकी ! जाड्यकी अन्धकार !
देख्दै दन्की हृदय तपको सल्किने बारबार ॥
(३१)
यस्तै मूढा यस विपिनमा पर्दछन् जाड्य-मूर्छा ?
बोल्दा कोही द्विज ऋषि यहाँ छैन केही जवाफ ?
यस्तो कालो तिमिर निशिको स्तब्धता पानहीन ।
फर्कन्छन् के ऋषि, द्विज तथा साधु यस्तै गरेर ?
(३२)
यो बेहोशी क्षणभर लिए मारका मार खाई ।
नासी जाने द्विजकुल सबै च्याँठलाग्दो मलाई ॥
देखिन्छे यो मदन सपने शिष्ट आचार त्यागी ।
ध्वाँसो बन्छे कलुषहरुकी कल्पना बन्छ दागी ॥
(३३)
मेरो आत्माकन पिर दिने खिर्खिरी यो लगाई ।
सारा राम्रा मृदुल वनमा च्याँब हाल्दी जगाई ॥
बल्दी ज्वाला विरहहरुकी कामकी रूपलाई ।
बिर्सोस् यस्तै प्रियतम पनि प्राण दुःखी गराई ॥"
(३४)
रन्की आँखा नयन दुइका बीच भौनेर रन्न ।
फन्की जाँदा ऋषिकन सुने झट्ट साथीहरूले ॥
ढुङ्गा बन्दा क्षणभर सफा त्रास पर्दा कुँदेका ।
आए आँखा टलपल गरी ती पुकारी दगुर्दै ॥
(३५)
जोडी भन्छन् कर विनतिले "मूर्तिमान् हे तपस्या !
सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन् ॥
बेचाराले झकभर न ली रातमा नीद ठण्डा ।
गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥
(३६)
ती छन् पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म ।
त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥
हुन्छन् ठूला ऋषि हृदयका कोमल ज्ञानसिन्धु ।
राखी माया झुकिदिनुहओस् शापको तीक्ष्ण शूल ॥
मर्नेछन् ती नत नयन झैं भै जगत् अन्धकार ।
साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ?
(३७)
लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी ।
पर्छौ पस्री चरण दुइमा हे कृपाका पयोधि !
ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै ।
फिर्ता बक्स्योस् स्मृति वचनले बक्सियोस् प्राणदान ॥"
(३८)
भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।'
भन्ने ठानी नजर दुइले रीसले चट्ट हेर्दा ॥
आधा सुन्दा प्रखर तपका ग्रीष्मका सूर्यज्वाला ।
दुर्वासा ती अलि पर अडे प्राणबाधा सुनेर ॥
(३९)
सोची भन्छन् "अब पनि यसै गर्दछ्यौ के मुकुण्डो ?
कर्म्मै धर्म्मैकन सब त्यजी साधु श्रद्धा नराखी ॥
कानै छैनन् जुन घर पुकाराहरूमा तपस्वी ।
त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि
(४०)
भैगो जो भो तर अब यहाँ फेरि यस्तो नगर्नू ।
यौटा औंठी स्मृति दिन रहे शाप मेरो नलागोस् ॥
जाओ ! ग्वाङ्ग्रीहरु, अब गरे होशले कामकाज ।"
भन्दै हाँसी परतिर चले क्रोधका उग्रमूर्ति ॥
(४१)
सल्लाहाले युवतिहरु ती भन्न तारा खुलस्त ।
व्यर्थै मानी विरह सखिको खालि बढ्ने हुनाले ॥
ब्यूँझेकी ती सरस सपनाबाट केही हँसाई ।
ठट्टा गर्दा मन मन भए चिन्तिता आजलाई ॥
(४२)
यस्तैमा ती परतिर हुँदा कालमा नाटकीय ।
फर्की आए धवल वयका श्मश्रुका मूर्ति कण्व ॥
छोरी-प्यासी कशल रहने तीर्थयात्रा घुमेर ।
आशीर्वादी वचनसँगमा ल्याउँछन् जो प्रसाद ॥
(४३)
सोध्छन् वार्ता तरुणवदनी त्रासले रङ्ग फेर्दी ।
झुक्छिन् मानो त्रिभुवनभरी दोष मेरै छ ठूलो ॥
कस्ती सीधी जनकमुखमा हेर्न खोज्दी सभीत ।
देख्छिन् बाबा अघिसरि सफा बन्दछिन् साहसी ती ॥
(४४)
सारा बन्दा तर पछि खुला गौतमीबाट बात ।
डाकी भन्छन् विपिनदुहितालाइ ती बुद्ध ज्ञानी ॥
"राम्रै वार्ता सुखसँग सुनैं" ती झुकिन् लाज मानी ।
"त्यस्तै खोज्थें म पनि" यतिमा हर्षले चाख मानी ॥
(४५)
बित्दै जान्थे दिन विरहका शून्यमा अल्पिएर ।
हृद्व्योमी झैं जलकण सफा तारका झल्किएर ॥
यस्तै गर्दा पछिपछि भयो याद यौटा कुराको ।
बढ्दै आयो अरुचि उनको अन्नमा रोज रोज ॥
(४६)
हाँसी भन्छन् सखिहरु "सखे ! गर्न आए शिकार ।
सारा हाम्रा हृदय-वनमा एक राम्रा कुमार ॥
छिप्छन् कोही निकट रहने कन्दरामा अँध्यारो ।
राजा छैनन् निकट त भने, भित्र छन् गुप्त क्यार ?"
(४७)
हाँसी लज्जा सरस गतिले झट्ट ती फर्किजाँदी !
"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥"
भन्दी झुक्दी अघि पछि दुवैतर्फ हेर्दी उज्याली ।
राम्री सारै मृदुल महिमा काव्य राखून् उचाली ॥
(४८)