Shakuntala/panchama-sarga
यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन ।
आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन् दिन ॥
बन्दो कुड्मल फुल्दथ्यो हृदयको संवादसौगन्ध्यमा ।
बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥
(१)
चल्छन् वन्य समीर मन्द गतिका आनन्दमा मन्दमा ।
हुन्छन् रङ्ग अनङ्ग वाणहरुमा भूङ्गादिका सङ्गमा ॥
स्वादु स्पर्श प्रसून शीतल लिँदै ती छालको छन्दमा ।
आनन्दी वनका सुगन्ध मनका छर्छन् फुली रङ्गमा ॥
(२)
उड्दा स्वर्ण-पखेरु चारु दिन छन् लाली सुनौलासँग ।
गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥
प्याला फूल छ, चाँदनी रस भरी पङ्खा छ हाँगाभरी ।
कल्लोली मृदु अप्सराहरु नटी छन् नाच्न कल्कल् गरी ॥
(३)
राम्रा वन्य कुरा सबैतिर त्यहाँ स्वादिष्ट छन् रञ्जन ।
मिल्छन् पुष्पसुरा र मूल, फलका आनन्दका व्यञ्जन ॥
त्यस्तो प्राकृत मञ्जरी रँग फुटी हिल्दा लतागेहमा ।
पाउँ बस्न त बन्दथें त्रिभुवनी राजा भई रङ्गमा ॥
(४)
चिल्लो आसन भो हरा मखमली औ मेनका कामिनी ।
फुल्दी कोष्ठ यता लता सुरभिता प्यूँदी सुधा चाँदनी ॥
राम्रो स्वर्गसमान कानन कुटी जो प्राकृताऽऽभूषण ।
मेरा मित्र, सुचित्र भित्र मनमा यो मात्र होस् चित्रण ॥
(५)
झुल्दा छन् सब हिल्ल हिल्ल हँसिला हाँगा तथा वल्लरी ।
फुल्दा छन् रँग रश्मिका कति थरी बास्ना भरी भै झरी ॥
झल्झल् गर्दछ शीत पुष्प ऋतुको वर्षा परी झर्झरी ।
पानी रोकिदिने हरा छत फुली रङ्गीन भै माधुरी ॥
बुट्टा जून छिरीबिरी मुख परी तेर्सी बनिन् सुन्दरी ।
(६)
फुल्दो हार छ बाटुलो र हँसिला पुष्पाङ्गिनीले रची ।
बुट्टा भर्दछ व्योममा र मनमा त्यो दृश्य हेर्दा सजी ॥
यौटा शावक साथमा सरस त्यो साक्षी छ लज्जा दिन ।
गाई नित्य तरङ्गिणी छ सरिता सानन्द सम्भाषिणी ॥
(७)
नाच्छन् चित्र विचित्रका छ बहिनी जो नामका छन् ऋतु ।
सातौं स्वर्ग पुर्याइ सर्व सपना लाखौं भरी माधुरी ॥
कस्तो वन्य सुगन्ध शान्त वनको एकान्तको शासना ।
के मिल्ने तपबाट चीज र अरू ? के दिव्य आश्वासन ?
(८)
हाँसी काल दगुर्छ चारु पदमा कल्लोलका चालमा ।
नाच्छन् भाव मिठाससाथ नखरे नाच्दा परी तालमा ॥
लुर्कन्छन् हँसिला जुहार हरिया पन्ना सजी सालमा ।
विश्वामित्रसमान बन्न कसको भाग्यै थियो भालमा ॥
(९)
त्यस्तो वन्य कुटी, विलास रसिलो आनन्दको नन्दन ।
धेरै रोज बगिन् तरङ्गसलिला यो काव्य झैं गुन्गुन ॥
लागेछन् सहकारमा फल, चुसी माधुर्य त्यो दृश्यको ।
लज्जा भो दिन एक ती युवतिमा बेढङ्गले अङ्गको ॥
(१०)
झन् झन् कोमलता लिएर मुखले छाला भयो पातलो ।
लज्जा मुस्किन खोज्छ झैं हुन यो बाक्लो बनी व्यर्थमा ॥
नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कुती ।
भागूँ क्यार अगाडिबाट उनको जस्तो गराई कति ॥
(११)
धेरै रोज बिते बसेर वनमा अर्कै फुटी मञ्जरी ।
अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली ॥
मीठा जन्म लिने अनेक कुसुमी नानीहरू ब्यूँझिए ।
केही कष्ट नभै वसन्त ऋतुमा आमा भइन् मेनका ॥
(१२)
देख्तामा शिशु काखमा युवतिको राजर्षिमा ज्ञान भो ।
केही क्रोध उठ्यो झनक्क मनमा सन्ध्या रिसाएसरि ॥
चाँडै नै तर अग्नि शान्त हुने गो ठण्डा बनी क्यै अलि ।
हाँसे मुस्स सुधांशु झैं घनहरू थाङ्ना बनेका दिन ॥
(१३)
औंलालाइ चुसी बनेर हँसिली हाँस्दी दुवै नेत्रले ।
गूँ गूँ गर्न तयार दुग्धमुख ती सानी सफा मोहिनी ॥
सग्ली सुन्दरता सलक्क रसिला राम्रा छिटा अङ्गको ।
देखी दङ्ग हुँदा झसङ्ग मनमा झस्के त्यहाँ ती ऋषि ॥
(१४)
लागे सोच्न "डगेछ स्वर्गपुरमा के इन्द्रको आसन ?
बूढोलाइ बिगार्न शान्त तपमा के मेनका यी झरिन् ?
लौ बित्यास परेछ ! नारद डुबी मायाविषे विष्णुको ।
आश्चर्यान्वित दृष्टिले वरिपरी हेर्थे म उस्तै भएँ ॥"
(१५)
चुट्की दी चुचु ! साथ चारु नयनीलाई हँसाईकन ।
"धाई बन्न त आज सक्तिनँ शिशो ! थाङ्ना सह्यारीकन ॥
पापा खोज्न म जान्नँ जान्छु तपमा" भन्छन् उठी ती ऋषि ।
थाङ्ना बादलमा प्रभानिकर झैं छाड्दा गुलाफी हिउँ ॥
(१६)
सानो कुड्मलपङ्खमा मलयका हावा परीले धरी ।
नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं थरी ॥
उड्दो झैं मधुमासमा तुहिनका श्रीपेचका देशमा ।
आइन् पङ्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥
(१७)
लज्जाले मुख लाल भो तर जसै दाढी सफा कण्वको ।
देखिन् चाह कमी हुने उटजमा, धूवाँ उठी घुम्रिँदो ॥
फर्किन् थोर यता हवा मलयको बोक्दी गुलाफी शिशु ।
मीठो चुम्बन दी थपक्क वनमा राखी त्यहाँ मुस्किइन् ॥
(१८)
छोपी चादरले मिहीन पतला ती बालिकाचन्द्रिका ।
राखी फूल सुगन्धदार तकिया पारी बडो कोमल ॥
हेर्थिन् ती रजनीसमान नभकी ओर्लेर पृथ्वीतिर ।
आफ्नै बालशशी लुटुक्क घनमा फुल्दो महाशाखमा ॥
(१९)
"बच्ची छौ सुरसुन्दरी चुस तिमी यी दूध मीठा स्तन ।
आमातुल्य दयावती प्रकृतिका खाए सबै व्यञ्जन ॥
मेरो आशिषसाथ दिव्य सुषमा पाई बढे फूल झैं ।
आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल झैं ॥
(२०)
कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी ।
तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन् धराका परी ॥
हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन ।
राख्नेछन् महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥
(२१)
मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्, छन् बीज राम्रा जहाँ ।
कालो मुण्मय छन् धरा पनि जरा पोस्दी यहाँ स्वर्गका ॥
खाली स्वर्गिक बीज पर्छ हुनु है ! छन् पङ्कमै पङ्कज ।
कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज ॥
(२२)
हिंसाका जगमा छ शैशव जहाँ यो दिव्यता पाउने ।
त्यस्तो बालमिठासको अमृतमा छन् सिंह भोकाउने ॥
छाडी शावकलाइ बालक यहाँ ती सिंह आत्मा पनि ।
देख्छन् शैशवको अहिंस्रकपनाको स्वर्गको मोहिनी ॥
(२३)
एकै केन्द्र छ ऐशभित्र दिलमा सारा त्यहाँ भाइ छन् ।
हिंसा नै तमको विकार बुझिने छन् दिव्य क्या सूचना ॥
आत्मा हेर, विभिन्न रूपहरुमा ती फूलमा जन्तुमा ।
एकै ऐक्य सहानुभौतिक गुँथे क्या प्रेमका तन्तुमा ॥
(२४)
भाषा एक छ प्रेम शब्द रसिलो जो भित्रका भावमा ।
सुन्छन् बुझ्न समर्थ छन् शिशुहरू यो प्राकृतोद्यानमा ॥
जे बोल्ने मन गर्दछन् कुसुमले लाली लिँदो ओठले ।
सो टिप्दै मुखरी छ मानव-चरो त्यो शैशवी खोजले ॥
(२५)
यत्रो विश्व बनाउने छ करुणाको दिव्य तस्वीर झैं ।
आनन्दै दिन जीवमा गगनमा तारा भर्यो झिल्मिली ॥
सोही कुँद्छ मुना, छिनो छ मसिनो कुँद्ने जगन्माधुरी ।
खाना दिव्य खुवाउलिन् प्रकृतिले नानी परी सुन्दरी ॥
(२६)
यो शिक्षालय हो सबै कुसुम छन् रङ्गीन अध्यापक ।
पानी दिव्य खुलेर अक्षर सफा छन् रोज नै पाठ यी॥
खुल्दो प्रेम समष्टिसार रसिलो साफल्य हो पाठको।
हामी नित्य परीक्षित प्रकृतिमा छौं प्रश्नले आठको ॥
(२७)
आत्मा मानव चुस्छ ओठ कलिला यी पुष्पका सुन्दर ।
ताराबाट झझल्किँदो छ महिमा जो बन्छ विश्वम्भर ॥
गर्छन् खुस्खुस कानमा अनिलले सन्देशको चारुता ।
पन्छी गर्छ कुरा त्यही ऋषिहरू जो खोज्न छन् बेपता ॥
(२८)
जो छन् नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू ।
त्यस्तामा पनि शस्त्ररूप उसका छन् दिव्य प्रेमी क्रिया ॥
सानो सुस्त छिनो लिएर करमा कुँद्दो छ सौन्दर्यको ।
प्रेमै मात्र पछाडि प्राप्त बुझियो यो नीतिको विश्वमा ॥
(२९)
रोगैमा पनि शुद्धिका कति क्रिया देखाउँछन् लक्षण ।
डोरामा शिव नीतिका उडुभरी झल्की प्रभा-मोहिनी ॥
कालै हो यदि राह ता अमृतको क्या दिव्य त्यो अक्षर ।
हाम्रा कण्टक दुःखका कुसुमको भर्दो छ पत्तीहरू ॥
(३०)
धोका हुन्न कहाँ कतै प्रकृतिमा हे दिव्यताकी शिशु ।
बुझ्नेलाइ बिरादरी तरु, लता, कल्लोल पन्छी पशु ॥
मिल्ला त्यो मह जो अनेक कुसुमी मौरीपरी हाल्दछन् ।
जो मीठो मृदुभाव खोजहरुका मौनीहरू जान्दछन् ॥
(३१)
पन्छीले सुरकी लता फुलिदिने जानेर प्रेमी बनी ।
हेर्चाहासित बोलमा मधुरता खोजी महान् प्रेमको ॥
हेर्नेछन् शिशुलाइ जन्तुहरुले दिन्छन् इशाराहरू ।
जेले ती पशु पाउँछन् हृदयमा आत्मा-सुखी आबरू ॥"
(३२)
यी शिक्षा शिशुकानमा मधुर दी छोडी चलिन् ती परी ।
हाँस्दै पङ्ख फुकाउँदी कुसुम झैं वैशाखका अन्त्यमा ॥
औंलाले भुइँमा दिई भर यसो थोरै उचाल्दी तन ।
उड्नालाइ तयार भै नजरमा पानी भरी हेर्दछिन् ॥
(३३)
मौरी झुम्मिगएर कुञ्ज त्यसमा मीठा गिराए मह ।
मीठो भुन्भुन तत्त्वपूर्ण शिशुको आत्मा बन्यो सौरभी ॥
टिप्तै स्वादु मुना फुरुक्क वनमा "खान्छौ कि नानी ?" सरि ।
लाग्यो शावक चर्न चारु जननी जान्थी पिलाईवरी ॥
(३४)
नौलो स्वादु जगत् अनन्त छ मुना टूना त्यहाँ गुन्गुन ।
नाच्छन् नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥
"बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि बोलूँ गरे ।
पन्छीले नभबीच नृत्यहरुले बोले बनी फर्फरे॥
(३५)
"को को हो" सित कोकिला मृदुगला सोध्थी सुखी चञ्चल ।
"पाक्यो काफल" सोद्धछन् खग सुनी हाँस्थे फुकी कोपिला ॥
लागै खेल्न अनेक पातसँगमा क्या पासली पोसली ।
साना ढुक्कुर कुर्लिए हृदयमा कुर्कुर् गरी कोरली ॥
(३६)
फुल्थिन् लाल उषा सुवर्ण सुषमा स्वर्गीयता साथमा ।
खोली लाल गुलाब-बाग सुरको त्यो स्वर्णको देशमा ॥
भर्थे जूनपरी मुसूमुसु गरी आधूत छन् वल्लरी ।
हीरा लुर्कन लाउँदा वनभरी ती रातमा झल्लरी ॥
(३७)
पन्ना प्रस्फुट त्यो वसन्त ऋतुको कुँद्थ्यो छिनोले कुनै ।
हीरा खेल्न विभिन्न रङ्गहरु छन् भूस्वर्ग गर्ने वनै ॥
टुक्रा वारिदका बनेर सपना त्यो नीरमा उड्दथे ।
पग्ली पङ्ख त्यहाँ बिहानपखमा मोती बनी गुड्दथे ॥
(३८)
छल्कन्थिन् जल ढल्किंदा किरणमा भङ्गीमयी निम्नगा ।
झल्कन्थिन् अनि माघुरी प्रकृतिकी चल्मल् गरी रत्नदा ॥
बल्कन्थिन् कलिला नशा लहरमा लाली बनी कल्कली ।
ढल्कन्थिन् जब स्वर्ण साँझ वनमा वैकुण्ठको झल्झली ॥
(३९)
ताजा स्वादु हरा रँगीन मदिरा पोख्थे त्यहाँ अप्सरा ।
बन्थे ती रँग ओठमा कुसुमका बैंसालु चढ्दा सुरा ॥
टूना सूक्ष्म लिने मुना पनि फुटी, स्वप्ना बनेकी धरा ।
मीठा वन्य तरङ्ग रङ्ग दगुरी गर्थिन् विरङ्गी कुरा ॥
(४०)
आँखा भर्दछ चाँदनी हृदयले प्यूँथिन् सुधा तन्तनी ।
साना ती घुँगुरा विचार शिशुका नाच्थे त्यसै छन्छनी ॥
बोल्थे झ्याउ, शिला बनी जलगला त्यै माधुरी गुन्गुनी ।
जो बोल्छन् शिशु छालले जलधिको माधुर्य झैं फन्फनी ॥
(४१)
राम्रा हास्य टिपी सिँगार तिनका राम्री छ वन्यस्थली ।
सिक्छन् भाव टिपेर उड्न सहजै साना चरा चञ्चली ॥
हेरी घुँघर रङ्ग घुम्रिन सिकी जो पल्लवी माधुरी ।
हाम्रो यो अनुमान हुन्छ सबको हो सूत एकै थर ॥
(४२)
शायद् पल्लव जन्मिए सब जहाँ ती बालका ओठ छन् ।
शायद् जून झझल्किए पनि जहाँ ती नेत्रका ज्योति छन् ॥
शायद् विष्टप जन्मिए पनि जहाँ राम्रा उठे भावना ।
एकै चीज छ भित्र बाहिर जगत् भन्ने छ सम्भावना ॥
(४३)
हाम्रो शैशव मानवी प्रकृतिको हृत्केन्द्रमा जन्मियो ।
एकै पोषणले भयो मधुर यो, ती भावले झुम्मियो ॥
पाई स्पर्श बजे चरा, गिरि नदी त्यस्तै त्यहाँ छोइयो ।
एकै नै महिमा मिलेर सबले दूधालुको दोहियो ॥
(४४)
यौटै चित् छ समस्त रश्मि रँगिँदो त्यो रङ्ग होरी हुँदो ।
बल्दो धप्प छँदो शशी, रवि कहीं खोला बनी भङ्गिँदो ॥
झल्की दीप्ति झलक्क झल्किइदिँदो त्यस्सै मिही मुस्किँदो ।
फुल्दो फूल बनी रहस्य भवको खोली मिही फुस्किँदो ॥
(४५)
छाडूँ क्यार ! बयान आज शिशुको लामो छ ढाक्ला जगत् ।
झल्ला झल्ल खुलाउने अलि यसो कामै छ मेरो फगत् ॥
ती सानी वनकी सुचारु दुहिता त्यो कुञ्जमा शीतल ।
बढ्छिन् कोमल मोहनी शिशु लिँदी आनन्द शाकुन्तल ॥
(४६)