Jump to content

Shakuntala/ekadasha-sarga

From Nepali Proofreaders
एकादश सर्ग
(पञ्चचामर)

छुटे सबै पदाति ती, पछाड़ अश्व पर्दछन् ।
सवेग अश्व चार छन् रथाधिरूढ बढ्दछन् ॥
विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक ।
हजार वृष्टि आँधिका हजार पङ्ख वादक ॥
(१)

खुला छ मार्ग यानको शिला छरेर खड्खडे ।
शिकारनिम्ति जो बन्यो छ टापनिम्ति कड्कडे ।
घरर्र चार चक्र ती बने गुडेर गड्गडे ।
थरर्र बन्छ घच्घचा रथै समस्त हड्बडे ।
(२)

चरा अनेक चिर्बिरे फरर्र पङ्ख छिर्बिरे ।
हवा बहन्छ हर्हरे छ शुष्कपत्र सर्सरे ॥
अरण्यमा अनेक छन् कुरा विचित्र मर्मरे ।
दगुर्छ यान थर्थरे लिएर मार्ग धर्धरे ॥
(३)

विशालमा उडान ली दिएर दृष्टि नीडमा ।
भुवा पलाउँदा ठिटाठिटीहरू थिए जहाँ ॥
अनेक पङ्ख मजा उडी, बही, धकेलिँदै ।
सवेग हानिँदै लिने चरा सुनेर भीत भै ॥
अवश्य लौ विपद् परे भनी डराउँदै झरे ।
बनेर माउ चिर्बिरे सशङ्क चक्षुले तरे ॥
(४)

"अडा" भनेर कीर्तिमान्‌ यताउती निहार्दछन्‌ ।
खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन्‌ ॥
लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन्‌ ।
अधीर चाल टापले अगाडि सुस्त बढ्दछन्‌ ॥
लगाम चट्ट खैँचिँदा उठेर वक्र ती शिर ।
सफेद दाँत बाउँछन्‌ पछाडि याल फर्किंदा ॥
अगाडि टाप वेगका उठूँ भनी उचालिँदा ।
पछाडिबाट रोकिँदा र चाल अल्मलाउँदा ॥
(५)

नजीक झट्ट देखियो सशङ्ग मिर्ग सुन्दर ।
सुस्निग्ध चाल रोमको टलक्क बान्किलो खुर ॥
सुचारु वन्य बाल त्यो हरा मिलेर मन्दिर ।
टिपी मुना रमाउँदो मिठासदार फींजले ॥
सजीव अङ्ग सर्सरे झसङ्ग बन्छ त्रासले ।
सुनेर मेघ घर्घरेसमान यानको स्वर ॥
पुलुक्क हेर्छ व्योममा, फरक्क घुम्छ पुच्छर ।
सभीति पार्शवदृष्टिले चटक्क अड्छ चर्बण ॥
उचाल्छ कान दीर्घ ती फरक्क फर्किईकन ।
चपाउँदै गरी गरी मुनाहरू बराबर ॥
सत्रास फेरि फर्कंदो, भुलेर दाँत सत्वर ।
अडेर पार्श्व दृष्टिले चिहाउँदो त्यतातिर ॥
खिँचेर ज्या चढाउँदा सुसूक्ष्म ताकको शर ।
बुझेर तर्सिई झर्यो फरक्क त्यो तलैतिर ॥
(६)

"सवेग हाँक्‌” भनी त्यहाँ पछाडि दृष्टि जो दिने ।
लिएर वाण हातमा अनङ्गमूर्ति झैं बने॥
चढेर पुष्पमाल्यको सिँगारदार त्यो रथ ।
सुचारु कामिनी कुनै विदीर्ण पार्न बाणले ॥
सवेग अश्व कामका चढेर पुष्पमार्गले ।
सुचारु हैम यानमा विचार्न बैंसको पथ ॥
(७)

कटक्क टाप कड्कियो पटट्ट रज्जु पड्कियो ।
शिला चटट्ट चड्कियो गडड्ड यान गड्कियो ॥
घरर्र चक्र घुम्दछन्‌ झिलिल्ल अग्नि झल्कियो ।
सवेग अश्व चल्दछन्‌ तथापि मिर्ग अल्पियो ॥
(८)

बढेर जान्छ वेग झन्‌ पिटाइ पाउँदा हय ।
तडित्‌समान बन्दछन्‌ बुझी समस्त आशय ॥
गरेर घोष मैघको दगुर्छ झल्किँदै रथ ।
अरण्य-अग्रगण्यको लिएर वेगले पथ ॥
(९)

सफेन अश्व तेजका भिजी प्रसाधिताङ्ग ती ।
जुटेर रोम टाँस्सिँदा लगाम जो चपाउँछन्‌ ॥
फुरेर नाक फोहरा फुरुर्र बीच बीचमा ।
गला सुदीर्घ यालका समस्त छल्बलाउँछन्‌ ॥
सजीव स्थूल नेत्र छन्‌ र कान छन्‌ उचालिँदा ।
सुशीघ्र चारु टाप छन्‌ उचालिँदा खसालिँदा ॥
घुँडा छुने लतारिने छ लोल दीर्घ पुच्छर ।
अगाडितर्फ उफ्रिँदा कटट्ट टाप कड्किँदा ॥
(१०)

उ मिर्ग ! आधि खाइँदो छ घाँस आधि दाँतमा ।
छरेर बुर्कुसी लिँदै सुरेख कण्ठ बाङ्गिँदो ॥
पछाडि आँग खुम्चिँदा भएर त्रास वाणको ।
अगाडि ज्यादि हत्तिँदो फटक्क दूर फट्किँदो ॥
जमीन थोर नै छुने र धेर जो हवा हुने ।
झिना सुशीघ्रपादले फटक्क फट्ट फड्किँयो ॥
दिएर दृष्टि यानमा सशङ्क सट्ट सड्किँदो ।
(११)

सुवर्णयानमा डटी मुहारका समुज्ज्वल ।
खिचेर ज्या सुवाहुले यसो पछाडि ढल्किँदा ॥
लिएर ताक, भौँ दुवै सरक्क खुम्चिँदा अलि ।
खिँचेर ज्योति नेत्रको सुदूरमा लगाउँदा ॥
(१२)

'उडूँ उडूँ' समान त्यो छ वाण तीक्ष्ण तत्पर ।
हवा हुँदो छ ज्यानले उडेर मिर्ग सुन्दर ॥
छ चित्र काल जीवको जगत्‌ अरण्यमा सरि ।
सशङ्क जीव आत्तिँदो 'छलूँ' भनी बनी हुरी ॥
(१३)

अदृष्ट दूत झैं त्यहाँ झलक्क देखिए दुई ।
सुशान्त साधुरूप छन्‌ त्रिरेख भाल चन्दन ॥
खडा भएर बीचमा स्ववक्षबाट रक्षण ।
गरेर भीत मिर्गको उचाल्दछन्‌ दुवै कर ॥
"प्रहार माफ होस्‌" भनी उठाउँदा दुवै स्वर ।
(१४)

झलक्क झल्किँदा तिनी झसङ्ग झट्ट झस्किए ।
झल्याँस्स ! चट्ट वाण त्यो झुकेर झर्छ झारमा ॥
सुवीर बाहु काँप्दछन्‌ र भर्छ पाउमा धनु ।
स्वधर्मका विरोधमा त्यसो गरेर झस्किनु ॥
(१५)

"प्रहार माफ पाउँला प्रभो" भनेर बढ्दछन्‌ ।
अगाडि हात जोड्दछन्‌ विनीत वाक्य बोल्दछन्‌ ॥
"प्रहार माफ पाउँला ! प्रभो जगत्‌-प्रभाकर ।
नजीक पर्णको कुटी धनी छ मिर्गको पर ॥
छ साधु जीव शान्त त्यो अरण्यमा मनोहर ।
हरा सुमिष्ट शस्यले सुपुष्ट जन्तु सुन्दर ॥
सदैव चाट्छ प्रेमले सुवृद्ध कण्वका कर ।
(१६)

बढेर वन्य बाल झैं सुचारुकेलिप्राकृत ।
गरी कूटी सुहाउँदो नवीन नृत्यले नित ॥
फुरुक्क फुर्कि हुर्कियो महर्षिको मनोरथ ।
सुचारु हातले सदा सप्रेम सुम्सुम्याइँदो ॥
(१७)

सचेत चारुनेत्रले सजीव दृष्टिले रुँदो ।
तरक्क आँसु भार्दथ्यो फरक्क फर्किईकन ॥
सशङ्क दृष्टि, लाउँदो समस्त शात्रु हुन्‌ नर ।
कि झैं भएर कृद्दध्यो सयत्न-फीँज सत्वर ॥
(१८)

सशङ्क वक्ष उप्सिँदो, धकाउँदो र आत्तिँदो ।
तडित्‌ समान वेगको छलूँ जगत्‌ भने सरि ॥
छरेर शस्य दाँतले छरक्क फींज छर्किदो ।
फटक्क नाघ्दथ्यो बुटा बनेर अन्ध वेगको ॥
खलाँतितुल्य सासको, फरक्क फर्किई रुँदो ।
तरक्क आँसु नेत्रको झलक्क भै हवा हुँदो ॥
(१९)

भएर अन्ध वेगमा मिलेर चट्ट ठक्कर ।
चरक्क घाउ रेखिँदो भिजेर रक्तले खुर ॥
कतै कतै छिटा झरी भुवा रँगाउँदो अलि ।
उड्यो हवा बनेर त्यो अनन्त त्रासले बली ॥
(२०)

न सुन्दथ्यो कुटीविषे कदापि शब्द कर्कश ।
सदा प्रसन्न टिप्दथ्यो चुनेर शस्यका रस ॥
न त्रासले सताउँथ्यो न कालको थियो डर ।
प्रभो ! नृसिंह देखिँदा उडेछ होश झैं तर ॥
क्षमा गरेर भीतमा प्रभो क्षमा-महीधर ।
सुपुण्य प्राणदान होस्‌, न कष्टले उठून् कर ॥"
(२१)

सुनी प्रतापका धनी दयार्द्र चित्तका बनी ।
महागुणी सुनाउँछन्‌ दयालु भावका ध्वनि ॥
"भनेर मिर्ग मामुली लखेटमा थिएँ तर ।
बुझी महर्षि कण्वको कुटी-सिँगार सुन्दर ॥

त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर ।
बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥
चरोस्‌ हरा अरण्यमा फुरुक्क भै बिनाडर ।
सुशीघ्र टापले झिना हवा बनी बचाउँथ्यो ॥
कलङ्कबाट पापको मलाई जो उडी पर ।"
(२२)

विनीत प्रार्थना दुवै मिलेर गर्दछन्‌ त्यहाँ ।
"नजीक पर्णको कुटी छ चारु कण्वको यहाँ ॥
पवित्र पाउको भए प्रवेश भूपको जहाँ ।
थकाइसम्म मर्दथ्यो शिकारको यसो वहाँ ॥
सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी ।
प्रदीप्त सुर्य ओर्लिदा सुवर्ण तेजले डटी ॥
समान रश्मिका सदा चढेर कीर्ति टाकुरा ।
सुदीन शस्यको छुने बढालु आश आँकुरा ॥
महर्षि कण्व पाल्नु‍भो सुदूर सोमतीर्थमा ।
दया भए प्रसन्नता हुने थियो कृतार्थमा ॥"
(२३)

यसो गुनेर भन्दछन् "म आउँला यसो घुमी ।
अरण्यका विभिन्न यी सुचारु दृश्यमा रमी ॥
धरेर वस्त्र मामुली हिँडेर आज पैदल ।
सुदूर राख सारथि प्रशस्त अश्व औ दल ॥
म लिन्छु वन्य मार्गको विहार चारु शीतल ।
नगर्नु शान्त ठाउँमा 'म छू' भनेर खल्बल ॥"
(२४)

यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर ।
धरेर वस्त्र मामुली सुसभ्य ठाँटको तर ॥
सुचारु माथपोसमा अनङ्ग झैं मनोहर ।
लिएर साथ हास्यको सँगी रमाइलो चर ॥
हट्यो लिऐर यान त्यो घुमेर सूत त्यो पर ।
(२५)

हराभरा अरण्यमा चरा टिपेर आँकुरा ।
कुरा गरी धुराधुरा रँगीन-पङ्ख-फर्फर
जरा भिजी हरा हुँदा तुषार नै हराउँदा ।
झुझुप्प वृक्ष झाँगमा वसन्त फौज झैं हुँदा ॥
पुरानु पङ्ख पत्र झैं जमीनमा गिराउँदा ।
महीप कीर्ति गानमा थिए कि चिर्बिराउँदा ॥
(२६)

सुशान्त शीतलोपना, हरा अनन्त यौवन ।
विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥
प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी ।
सुबोल शब्दले भरी, मिठासमा थरी थरी ॥
अनेक रङ्ग मोहनी फुटेर चित्‌ सरोवरी ।
सिँगारदार भूमिमा छ शस्यमाथि सर्सरी ॥
सुदूर देश मग्मगे हवा बहन्छ हर्हरी ।
कतै छ फेरि मिर्मिरे कतै छ हेर छिर्बिरे ॥
कतै छ पङ्ख उच्चता भजूँ भनेर फर्फरे ।
कतै त खालि कोपिला कतै प्रफुल्लता लिने ॥
छ काव्य-हृज्जगत्‌सरि प्रभावमा भनूँ भने ।
(२७)

हवा भजी फिँजाउँदा असङ्ख्य पत्रका कर ।
सुचारु छत्र झैं थिए विचित्रता मनोहर ॥
सुडोल रौप्य डाँठका प्रशाख-दण्ड सुन्दर ।
सिँगार पुष्पका लिने क्षितीश छत्र छन्‌ तरु ॥
हिलाउँछन्‌ लता जहाँ अडेर पत्र चामर ।
(२८)

छछल्‌ छछल्‌ छचल्किँदी छ छालदार छल्छले ।
नदी सलील चञ्चला झलल्ल कान्ति-अञ्चला ॥
गरी किनार कल्कले सजीव चारु चालकी ।
झलल्ल झिल्ल झल्किँदी वसन्त नृत्य तालकी ॥
शिला तरङ्ग बोलमा हिलोर लोल लाउँदी ।
स्वतन्त्र नागवेलिमा छ वन्य गान गाउँदी ॥
चराहरू सिकाउँदी सबै गला रसाउँदी ।
अनेक हाव-भावकी नटी वनै रसाउँदी ॥
हरा-भरा सुवासको समीर शीतलाउँदी ।
(२९)

वसन्तकी वनस्थली छ चारु हाव-भावमा ।
हरा सिँगार मोहनी प्रसुन हास्य-सुन्दरी ॥
सुस्निग्ध-बैंस माधुरी-प्रदर्शिनी-परीसरि ।
सुवास मग्मगाउँदी सुचारु अङ्गवल्लरी ॥

सरर्र शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी ।
चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवाऽधरा ॥
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा ।
सलील-छाल-घूँघरा, सुगन्धसास-हर्हरा ॥
अनङ्गराज्यरङ्गले बनाउँदी हरा-भरा ।
अबीर स्वर्गको छरी सुवर्णमा सुगन्ध दी ॥
मुसुक्क मुस्कुराउँदी सजेर स्वर्ग झैं धरा ।
चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥
चलाउँछन्‌ कि झैं थिए अनेक रङ्गका शर ।
विषादतुल्य कामको सँगी छ साथमा तर ॥
(३०)

उ भन्छ "काम के यहाँ ? मिठाइ छैन खानको ।
कलल्ल लोल छाल यो पटेर खालि कानको ॥
चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी ।
छ चार पाउ चाहिने र बार्ह सीङ माधुरी ॥
न भोग पाइने यहाँ नटी विकाम वल्लरी ।
छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥
चराहरू न सेकुवा चुरुम्म चम्म दाँतमा !
र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥
कटट्ट टट्ट दाँतले छ हेर्नु शून्य रातमा ।
न लड्डु बालुवा लिई मुठी मुठी चपाउनु ॥
न यी 'अहा ! अहो !' प्रभो गरी यहाँ अघाउनु ।
थरर्र थर्र काँप्दछन्‌ नसा टुटी टुटी उरु ॥
छ दण्ड मात्र मित्र यो, न ता जगत्‌ सबै मरु ।
बडा अघाउँदा सधैं न पीर बुझ्दछन्‌ मिही ॥
(३१)

अरर्र ! क्या सँभालिए, थचक्क मर्दथे यही ।
पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥
छलेर पाउपोष यो लिएर मन्त्र वेधक ।
अहो ! उहू ! अरे ! बिझ्यो नि ! चस्स चस्स भै मुटु ॥
मरें नि बाहुनीचरी तृषार्त भै अकालमा ।
दुहेर वृक्ष दूध होस्‌ म प्यूँदथें घुटूघुटु ॥

सिएर पात ओढने भए बनी गुटुमुटु ।
समस्त विश्व रन्कियो नशा तनक्क तन्कियो ॥
वनै घनक्क घन्कियो कपाल आज सन्कियो ।
म जान्नँ जान्नँ भो प्रभो ! म जान्नँ खान्नँ है हवा ॥
छ लड्डु मोतिचूरको सिवाय और के दवा ?"
भनी लडूँ लडूँ गरी विचित्र विकृताऽनन ॥
"थकाइले मरें" भनी हँसाउँदा भए वन ।
(३२)

धरेर हात कानमा "नगै हुँदैन आउ लौ ।"
भनेर तान्दछन्‌ त्यहाँ क्षितीश मुस्कुराउँदा ॥
"यहाँ छ सात हातको गजेन्द्र मेघ गर्जन ।
लुला र लङ्गडा मिले छ ओर्लिने चपाउन ॥"
भनेर हाँस्न हेर्दछन् सँगी हँसाउँदोकन ।
थरर्र काँप्दछन्‌ सँगी झिकेर स्वाँग गन्थन ॥
(३३)

"अहो ! म जान्नँ जान्नँ नि करालदंष्ट्र आउला ।
म तीन हातको बुजो मकै भनी चपाउला ॥
कपालकाँशकी प्रिया धुरू धुरू रुवाउला ।
ठिटा ठिटीहरू हरे ! मबाद को खुलाउला ॥
म रुन्छु पेटमा पसी झिकेर को बचाउला ?"
भनेर आँसु नक्कली निकाल्न थूक लाउँदा ॥
भए विनोद, हास्यका सँगी त्यहाँ हँसाउँदा ।
(३४)

सुचारु वन्य मार्गका दुवै किनार फुल्दछन्‌ ।
विहङ्ग रङ्ग रङ्गका कुँजेर मस्त झुल्दछन्‌ ॥
अनङ्गवाण रङ्गका अनेक ढङ्ग फुल्दछन्‌ ।
सँगी लिई क्षितीश ती प्रसन्नचित्त चल्दछन्‌ ॥
(३५)

सुकाइँदा उ देखिए अनेक चारु वल्कल ।
हरा प्रशाख वृक्षमा भिजेर तप्तपाउँदा ॥
टपक्क रत्न बूँद ती गुडेर झल्मलाउँछन्‌ ।
विभिन्न रङ्गमा फुटी जुहार झैं सुहाउँछन्‌ ॥
कतै छ खोल बाहुको कतै छ कोट वक्षको ।
लता लिएर बाँधिने विभक्त पार्श्व पक्षको ॥
(३६)

"कृहू, कुहू" छ कोयली, सुगाहरू कराउँछन्‌ ।
कतै त्यहाँ "पिवी पिवी" कतै त कुर्कुराउँछन्‌ ॥
"चिरिर्र" चिर्बिराउँछन् चरेर चुर्बुराउँछन् ।
"चिँचीँ चुँचूँ कुलुल् कुलुल् ! चचच्चले" चलाउँछन्‌ ॥
सुसेलिंँदा र केलिँदा, कराउँदा र कुर्लिदा ।
फुली भुली र कोयली छ शब्दिता वनस्थली ॥
अनेक शब्द मोहनी रँगीन कण्ठमा खुली ।
(३७)

कतै छ फूल सौख्य झैं कतै छ दुःख सङ्कट ।
कतै हरा, कतै जरा, छ घाम स्याँल औ टक ॥
अनेक जन्तुले भरी स्वभावको थरी थरी ।
जगत्‌समान रूपकी वनस्थली छ सुन्दरी ॥
(३८)

कला सुचारु देखियो फुली सुहाउँदो थला ।
यहाँ छ हेर ! सुन्तला सुवासदार कुन्तला ॥
अनेक फूल बोट छन्‌ चुनी बढाइँदा भला ।
कुटी नजीक कण्वको भई अवश्य मञ्जुला ॥
(३९)

क्षितीशपार्श्व दाहिना फरर्र फर्फराउँदा ।
यहाँ छ प्रेम सूचना भनेर भित्र आउँदा ॥
कुरा चरासमानका गरेर बागमा डुली ।
घडा लिने ठिटीहरू, गुलाफबैंसमा फुली ॥
सशङ्कचाल सुन्दरी फुलारु वन्य माधुरी ।
वसन्त बैंसमञ्जरी अरण्य-वासिनी परी ॥
सुचारु-अङ्गवल्लरी-प्रसूनतुल्य-वल्कला ।
त्यहाँ झल्याँस्स देखिए सुमिष्ट-कोयली-गला ॥
"लुकेर हेर" भन्दछन्‌ छिपी क्षितीश तेजिला ।
(४०)