Jump to content

Shakuntala/dwadasha-sarga

From Nepali Proofreaders
द्वादश सर्ग
(वंशस्थ)

अडेर हाँगाहरुमा हराभरा ।
फुलेर झुल्छन्‌ लहराहरू हरा ॥
नसा कलेजा छ र पात मञ्जुल ।
सुरेख, चिल्ला, छरिता, फरासिला ॥
सलक्क हुन्छन्‌ हलुका र बान्किला ।
(१)

चुरी छ नङ्ग्रा पनि रेशमी हरा।
अडान खोज्छन्‌ तरुमा मनोहर ॥
फुलेर हाँसेर मुसुक्क सुन्दर ।
अडाउँछन्‌ ती मृदुबैँस घूँघुर ॥
सहर्ष प्रेमी तरुका भजी उर ।
(२)

झुकीरहेका तल शान्त सुन्दर ।
द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥
त्यजेर उड्छन्‌, तरुपाद छाँदले ।
छुँदै, हवाको पथ प्रेमको लिई ॥
सुनेर प्रेमी तरुका चरा-कुरा ।
(३)

फुकाउँछन्‌ कुड्मल पत्र घुम्रिँदा ।
उरोजमा चादरतुल्य लत्रिँदा ॥
प्रकाशतर्फै नित तिर्सना लिँदा ।
समीरमा सर्सर रोम पल्लव ॥
सजीव रोमाञ्च लिई हिलाउँदा ।
(४)

रँगीन छन्‌ स्वर्गिक-रश्मिका शिशु ।
उषापरीका कुसुमाञ्चला सुता ॥
चढेर पानी सुकुमार बैंसमा ।
मुना तथा फूल र कोश केशर ॥
लिएर जन्मे रँगिँदा, रमाउँदा ।
हवा भजी शीतल, छुन्मुनाउँदा ॥
विचित्र भावादिकतुल्य बैंसका ।
फुलूँ र सिर्जूं रँगले भरुँ भनी॥
फुटीदिँदा जीवन डाँठका सुरा ।
सुवास दिन्छन्‌ तरुमा, सुनी चरा ॥
(५)

तथापि सापेक्षिक भावमा त्यहाँ ।
फुलूँ हिलूँ वक्ष उचालियोस्‌ झुलूँ ॥
रँगीन बन्दै मधुवासले खुलूँ ।
मिलिन्द सानन्द बनाउँदै चलूँ ॥
चरा-कुरामा पृथिवी सबै भुलूँ ।
लज्जा रसीला नवपल्लवाऽधर ॥
खोलेर, आधा मुसकान सुन्दर ।
अनङ्गका रङ्ग खुलाउँदै डुलूँ ॥
भन्ने सबै भाव पह्लाउँदा ठिटी ।
छन् बैंसवल्ली अझ हेर सुन्दरी ॥
सुवास चोखा वनबैंस मुस्मुसे ।
(६)

कडा र चिल्ला अलि दीर्घ बान्किला ।
सलक्क उप्सीकन फर्किंदा निका ॥

टलक्क टल्केर हराशिरा धरी ।
पछाडि खेरा कलिका-भुवा भरी ॥
कडा र ठाडा जुन पात बाहिरी ।
बढाउँछन्‌ कोमल शुभ्र माधुरी ॥
सुवासका पत्र सफेद घाम झैं ।
फुकीलिने षड्पद कोषमा धरी ॥
खिलाउँदै त्यो मकरन्द माधुरी ।
छ गुप्त गट्टासँग जो सुधासरि ॥
छुँदा पहेँलीकन घाउ लाग्छ जो ।
छ फुक्न उप्सीकन शुभ्रता भरी ॥
थियो त्यहाँ बोटसमान बैंसको ।
फुकाउँदो कुड्मल वक्ष कोमल ॥
सुरेख भै प्रेम लिएर फैलिँदो ।
उँचाइमा षोडशवर्ष माधुरी ॥
बराबरी कोकिल शब्द सुन्दर ।
तथापि फुक्दा स्तन पद्म-कोपिला ॥
कपोलका चाँद र कोयली-गला ।
सफा हँसीला तुहिनाभ्र अङ्गका ॥
ठिटी त्यहाँ छन्‌ अझ हेर सुन्दरी ।
(७)

फुलेर जाई छ सुवर्ण-सुन्दरी ।
झिना-मुना-मञ्जुल केशले भरी ॥
गरी सुनौला मधुपूर्ण डाँठमा ।
जडाउ ढुङ्ग्री हँसिला फुका गरी ॥
सुवर्ण काटीकन वास दीकन ।
मिलिन्द डाकेर सिँगार सुन्दरी ॥
छ बैंसवाली नरलोककी परी-
तथापि बैंसे कमनीय बोट छन्‌ ॥
फुलाउने षोडशवर्ष माधुरी ।
हवा भरी बास मिही फिँजाउँदा ॥
उ मात गर्ने हँसिला सुवर्ण छन्‌ ।
मुनामुना केश सुहाउँदा परी ॥
(८)

गुलाब छन्‌ लाल सुकोमलाऽधरा ।
बोलूँ कि बोलूँ कि समान अप्सरा ॥
सुचारु रेखा तहदार चारुता ।
फुकेर छाती मृदुपात भर्दछन्‌ ॥
हवा छिपेका जब गुह्य चोर्दछन्‌ ।
(९)

शराव झैं लाल सुडोल बैंसका ।
कपोलमा षड्पद झुम्न झर्दछन्‌ ॥
मौका ढुकी चुम्बन चारु गर्दछन्‌ ।
जहाँ फुली कोमलता मनोहर ॥
छुवाइमा स्वर्ग सरर्र झर्दछन्‌ ।
लाली र लज्जा रस स्वास छर्दछन्‌ ॥
सुवास मुस्की सुकुमार सार छ ।
प्रफुल्लता बैंस लिँदो मुहार छ ॥
तथापि राम्रा रमणी कपोलमा ।
सुचारु लाली अझ दिव्य सार छ ॥
(१०)

हवा भजी पङ्ख फिँजी ढलक्क ती ।
गरेर भूँ भूँ भमरा झुली कति ॥
चुसेर त्यो यौवनको सुधारस ।
बनीरहेछन्‌ तरुमा मदाऽऽलस ॥
तथापि कालो छ टलक्क टल्किने ।
कपाल त्यो रेशम झैं सुधारस ॥
बनेर कालो रँग जन्मिएसरि ।
सलक्क केस्रो लहराउँदो झरी ॥
(११)

कुरङ्ग हुन्छन्‌ वनमा रमाइला ।
अनङ्गका पुष्पित कुञ्जमा हरा ॥
फुलेर झुल्छन्‌ लहरा जहाँ सुनी ।
बुट्टा बनी निर्झरका नयाँ कुरा ॥

टिपेर बोल्छन्‌ तरु शाख भै चरा ।
विचित्रवार्ता-तरलायिताऽधरा ॥
तन्नाहरू मख्मलका सजी धरा ।
बनाउँछिन्‌ पल्टिन शस्य-बिस्तरा ॥
बरर्र बर्सिन्छ झरी फुलीकन ।
हाँगाहरूमा रवि-रश्मिका सुरा ॥
हवा हुँदा शीतल काम हम्किने ।
रोमाञ्च झैं जङ्गलमा हराभरा ॥
त्यहाँ बसेकी मृगिणी कन्याइँदी ।
छ अंशमा स्पर्श मिलेर सर्सर ॥
चपाउँदी जो मृगदारुको रस ।
बनेर न्यानो मुखमा मदाऽऽलस ॥
बराबरी पुच्छर झारमा परी ।
कुहू कुहू सुन्न उठाउँदी शिर ॥
चिल्ली रसीली, मृदु कोरली ठिटी-
जस्ती उज्याली लम-कोस-लोचनी ॥
उचाल्दछे झट्ट झलक्क मोहनी ।
उस्तै थिए वन्य कुरङ्ग-लोचनी ॥
फुलीरहेका तरु औ लतामनि ।
(१२)

मिही छ लच्का जुन इन्द्रका धनु ।
कुँद्ने कुनै कोमल भावको छिनु ॥
लचक्क लाम्चा र सलक्क सुन्दर ।
रेखा छ पार्दो भ्रुकृटी मनोहर ॥
रँगै मिलाई रँग-कृष्णमा तर ।
(१३)

सुती कुनै कल्कलको किनारमा ।
एकान्तको पुष्प सुवास सारमा ॥
वसन्तमा चारु पखेरुका मनि ।
सुष्प्तिका चित्र सफा खुला बनी ॥

देख्दो छ कोही कवि बागमा हरा ।
परीहरू चञ्चल चारु लोचनी ॥
घडा लिएका वनमा सुरा भरी ।
खन्याउँदा लच्लच अङ्ग माधुरी ॥
कुलो र राम्रो रँग, बोटका जरा ।
भिजाउँदै ती मदिरा छरीबरी ॥
जो रश्मिमा रङ्ग हुँदो छिरीबिरी ।
बनेर उक्लिन्छ नशा भरी भरी ॥
त्यस्ता परीका रसपूर्ण ती घडा ।
कटी झिना लच्किनुले छचल्किँदा ॥
दायाँ बनी सुन्दर बैंस ढल्किँदा ।
बाङ्गो बनाई अलि चाल माधुरी ॥
देखीरहेको कवि मुग्ध पर्दछ ।
र कल्पना देख्दछ व्योमका परी ॥
वर्षासुता बादलसूतका तनु ।
पोखेर जाग्छन्‌ घटबाट जो झरी ॥
वनस्पति प्रस्फुट भाव-माधुरी ।
त्यो स्वप्नमा नै उपमा सुहाउँदी ॥
लिएर गर्दो कविता थरी थरी ।
देखीरहेको छ त्यहाँ सफा जल ॥
काला कुना बीच झलल्ल चञ्चल ।
भौँ त्यो उचालिन्छ मिही बराबर ॥
ठट्टाहरूले शिर हिल्छ सुन्दर ।
मसक्क मस्किन्छ लचक्क भै उर ॥
ढलक्क ढल्कीकन फेरि मञ्जुल ।
घलल्ल घल्चा जल चल्दछन्‌ तल ॥
मानो त्यहाँ छन्‌ जलका परीहरू ।
जो बस्दछन्‌ बादल बाग शीतल ॥
भिजाउने, कुञ्ज हरा गराउने ।
लिएर पुष्पाऽमृतका घडाजल ॥
(१४)

विशाल वक्षस्थलमा छचल्किँदा ।
बनेर राम्रो सपना जलैजल ॥
हवा तथा स्वर्ग प्रकाशमा चल ।
कुँदिन्छ छल्छल्‌ जल छालले छुँदा ॥
सफेद मोती लिइ स्पर्श कोमल ।
सिपीहरूमा ध्वनि मात्रको बल ॥
पसेर रेखा दिन जान्छ मञ्जुल ।
हुरी वहाँ बन्दछ खालि कोमल ॥
बन्दो छ दाना खँदिलो जहाँ तल ।
उम्रीरहेछन्‌ जल झ्याउ चल्मल ॥
विचित्र छन्‌ जन्तु जहाँ सुशीतल ।
ती पीङका सुन्दरता सफा सफा ॥
पानी भरेका मृदु दाँत कोमल ।
लिएर मुस्के मृदु बैंसका फल ॥
सौन्दर्यको वारिधि वन्यमा तल ।
(१५)

जहाँ छ फुल्दी नलिनी लिई दल ।
सलक्क बान्कीसित छाल कोमल ॥
देखाउँदै मोहन सृष्टि मञ्जुल ।
त्यो ठाउँ हो नाक निधारको तल ॥
(१६)

जहाँ शाशीको छवि हुन्छ टाकुरा ।
सेतो उज्यालो हिउँका शरद्‌ सफा ॥
ती भाल हुन्‌ कोमल, कर्ण-कन्दरा ।
ती केश हुन्‌ कृष्णलता हराभरा ॥
गला त्यही हो जुन छन्‌ त्यहाँ चरा ।
(१७)

श्रीकृष्णले सुन्दर बैंस चालको ।
हेरूँ भनी चारु खुलस्त माधुरी ॥
लुकेर वृन्दावनबीच झाँगमा ।
जो देखिनेछन्‌ मृदु गोपिनीहरू ॥

सुवासको मग्मग रङ्ग भै तरु ।
छ जो घडा सुन्दरता खडासरि ॥
पोखूँ कहाँ यौवन वारि झैं गरी ।
चलीरहेका प्रियका अभावमा ॥
ठट्टा खुलाले वन नै हँसाउँदो ।
त्यस्तै थिए सुन्दर ती परीहरू ॥
(१८)

(रथोद्धता)
एक छन्‌ बगलमा प्रियम्वदा ।
मिष्ट-भाषण-मुहारकी सुधा ॥
चारु चाल चपला यता जुदा ।
चारु छन्‌ तरुणभाववैभवा ॥
(१९)

छन्‌ तृतीय गणना सुखास्पदा ।
कोमला र अनसूय-भावदा ॥
छन्‌ सुकोमल शकुन्तलाऽभिदा ।
अप्सरा-शिशु कुरङ्ग-दृष्टिका ॥
बेस मूर्तिसरि छन्‌ चतुर्विधा ।
(२०)

स्वादु प्राकृत प्रवृत्ति-तत्परा ।
हास्य-चारु-अधरा प्रियम्वदा ॥
बैंस-मिष्ट नखरासितै कुरा ।
गर्नलाइ चतुरी प्रियाऽधरा ॥
गर्दछिन्‌ मधुर प्रश्न आलिमा ।
मिष्टभावप्रतिनादकन्दरा ॥
मोहिनी मृदुल-भार-मन्दिरा ।
(२१)

"बोल्दिनौ किन सँगी ! शकुन्तला ?"
झुक्दछन्‌ नजर निम्न लाम्चिला ॥
छैन हास्य-छवि बैंस चञ्चला ।
(२२)

मञ्जरी-कुसुम-रुद्ध भै गला ।
मूकि छौ कि भन कण्ठकोकिला ?
या फुलेर मृदुबैंस सुन्तला !
खोज्छ प्रेम भँवरा सुमञ्जुला ?
के छ उत्तर खुला शकुन्तला ?"
(२३)

मुस्कुराउँछ विनम्र लोचन ।
तेज चढ्छ, बिजुली कि मोहन ?
भाव झल्किन गई छुँदो मन ।
लाम्चिईकन कुना विमोहन ॥
रोक्न कोशिश गरेर मुस्मुस ।
चारु ओठ क्रमका विकासले ॥
पालुवासरि प्रवालका खुले ।
ती कपोल कलि लाल भै फुले ॥
रेखियो मधुरता मुहारमा ।
आँखिभौँ अव उचालिँदा चले ॥
वक्र लोचन बनेर दृष्टिले ।
चारु उत्तर दिइन् कुरै फुले ॥
(२४)

थप्दछिन्‌ तब प्रियम्वदा त्यहाँ ।
"क्या फुली मृदुलता लतासरि ।
लाज फुल्छ लिन लाल माधुरी ।
एक डाकन मिलिन्द सुन्दरी ॥"
(२५)

आँखिभौँ मृदुलरेख खुम्चिँदी ।
लाजसाथ अलि चट्ट फर्किंदी ॥
त्यो अशोक तरुलाइ कर्किंदी ।
अप्रसन्नपनसाथ तर्किंदी ॥
छन्‌ खडा अलि घडा छचल्किँदी ।
बैंसको ढलकसाघ ढल्किँदी ॥
मेघका विपिनबीचकी कला ।
वारुणी मधुरता शकुन्तला ॥
(२६)

"ह्वैन ह्वैन नखरे यिनी सदा ।
बौल्दछिन्‌ अनृत है प्रियम्वदा ॥
गर्दिनन्‌ बुझ बिहा शकुन्तला ।
क्या गिज्याउन सिपालु चञ्चला ॥"
भन्दछिन्‌ जल दिएर बोटमा ।
चारु हास्य-रससाथ ओठमा ॥
(२७)

चूपचाप अलि बेर चल्दछन्‌ ।
वल्लरीकर कुनै त गल्दछन्‌॥
गुप्त दर्शक "म बोक्दथें भनी ।
त्यो घडा युवतिको परीसरि ॥"
आर्त चुक्चुक गरेर जल्दछन्‌ ।
(२८)

चारु चङ्ग चपला बसीकन।
त्यो घडाकन धरिन्‌ जमीनमा ॥
"बोक्न सक्दिनँ म भार" भन्दछिन्‌ ।
"ढेडु यो घटभरी बिकाममा ॥
छाद्छ छल्छल गरी सधैंभरि ।
खालि रुग्ण शिशु झैं झुकीवरी ॥
आफू चल्न नसकी सधैं चढूँ ।
भन्छ कम्मर गह्रूँ गरी गरी ॥
रुन्छ हेर बहुतै, छचल्किई ।
वल्कलै पनि भिजाउँदै झरी ॥
चल्मलाउँछ सदा कटी पनि ।
खान्छ चल्मल गरेर कर्करी ॥
'जान्छु वा' घर बरू बिहा गरी ।
बाल वास्तव कटीविषे धरी ॥"
(२९)

हिल्हिलाउँछ निकुञ्ज सुन्दर ।
हाँस्दिनन् अझ रिसाउँछन् तर ॥
ती शकुन्तसँगिनी मनोहरा ।
(३०)

भन्दछिन्‌ "नगर दुष्ट है कुरा ।
कान दुख्दछ मलाइ चर्चर ॥"
(३१)

चूप बन्दछ समाज बैंसको ।
थप्दछिन्‌ अलि सँभालिँदो स्वर ॥
"हेर हेर सखि कुञ्ज कौमुदी ।
मञ्जुपत्रहरुले खुशी हुँदी ॥
यो थिई हिउँदमा यहाँ रूँदी ।
आज क्या तरुणता छ गम्किँदी ॥
यो वसन्त वन जून झैं हुँदी ।
यो अशोक तरुकी विचुम्बिनी ॥
झुल्दछे सुख हुँदी हवा छुँदी ।"
(३२)

बोल्दथिन्‌ अनि सुमिष्ट सर्वदा ।
शाब्दकोमल मिही प्रियम्वदा ॥
"कौमुदी छ हँसिली सुधालता ।
बैंसदार स्तन-कुड्मलाऽङ्किता ॥
चन्द्रसुन्दर समीरचुम्बिता !
प्रेमकोमल-करा सुकेशर ॥
त्यो अशोकपरिरम्भिणी रता ।
बैंसकी मृदुलता बनी लता ।
झुम्किँदो मृदु सिंगारकी परी ॥
बेर्दछे तरु बडो मनोहर ॥
वाद्य चारु त्यसमा बने चरा ।
यो विवाह छ वसन्तमा यहाँ ॥
छौ तिमी त अबला कठैबरा !"
(३३)

यो सुनेर मनको प्रतिध्वनि ।
पाउँदा मधुर शब्दका मनि॥
भन्दछन् मनमनै जगन्मणि ।
कीर्तीका विभवका बडा धनी ॥
'क्या मिलेछ यिनमा प्रियास्पदा ।
नाम सुन्दर अहा ! प्रियम्वदा ॥
बोलिदेउन अरू कुरा त्यता ।
बोल्न छोड्नु किन चूप भै यता ?'
(३४)

चारु चट्ट अघि सर्दछिन्‌ अब ।
"क्या मसक्क भन बैंस मस्कियो ॥"
सुन्दछिन्‌ नजरले इशारिँदी ।
ती नजीक रहँदी प्रियम्वदा ॥
"लच्किएछ अलि उप्सिईकन ।
वल्कलै पनि बढालु बैंसमा ॥
क्या छिचल्छ तरुणोपना भने ।
वस्त्र, कुड्मल सुगन्ध बन्धन ॥
फुक्छ पात भँवरा झुलाउन ।
उप्सिएर नलिनी-प्रकोशमा ॥
फुट्दछन्‌ हरित बाह्य बन्धन ।
मुग्ध पाउँछ सुवासको धन ॥"
(३५)

"चारु जा तँ नखरे" भनी तिनी ।
अर्द्घचाख तर अर्द्धलाजकी ॥
लालिमा वदनमा सरक्क भै ।
रङ्ग रोक्न अलि यत्न गर्दछिन्‌ ॥
अर्द्ध छन् सफल ती मुहारमा ।
अर्द्ध छन्‌ विफल रङ्ग आउँदा ॥
(३६)

थप्दछिन्‌ छुन कपोल कोमल ।
हातले सुख लिँदी उरोरुही ॥
पुष्टतासँग प्रफुल्लता हुनु ।
पोटिलो हुनु चढेर माधुरी ॥
(३७)

'धन्य ती कर' भनी अभागका ।
हात सुन्दर सुरेख हेर्दछन्‌ ॥
ती सहस्र समरादिका जयी ।
जो बने सहजमा त्यहाँ वश ॥
देखिँदा मधुर बैंसको यश ।
राज्यबीच हरियो दिशा दश ॥
भाललाइ करले मुसार्दछन्‌ ।
फूल 'चारु' करले घुसार्दछिन्‌ ॥
(३८)

केशमा प्रचुर रङ्ग कोमल ।
भन्दछिन्‌ अनि थपी तिनी त्यहाँ ॥
"फूल हेर नखरे सबै यहाँ ।
वस्त्र सुन्दर तथा सिँगारले ॥
शान गर्न चतुरा झुलीकन ।
बैंसका रस सुवासले हवा ॥
पार्दछन्‌ सब फुलेर मग्मग ।
डाक्न ती मधुपलाइ सुन्दर ॥"
(३९)

"छाड भो ! सकल यी कुरा तिमी ।
भर्न जानु बरु फेरि है घडा ॥
नत्र काम गरिनौ भनीकन ।
जाउँला र म लगाउँला कुरा ॥"
भन्दछिन्‌ सरस ती शकुन्तला ।
(४०)

भन्दछन्‌ मनमनै महीप ती ।
"होइनन्‌ द्विजसुता अलीकति॥
अप्सरा कि त नयाँ कुनै परी-
तुल्य बोल्नु गतिमा छ माधुरी ॥"
(४१)

चारु भर्न घट चल्दछिन्‌ अब ।
कुँज्छ कोकिल 'कुहू कुहू' रव ॥
लाम्चिली हँसमुखी उचाल्दछिन् ।
नेत्र पानिभरिला त्यहाँ जब ॥
देखिने डर हुँदा यसो लुकी ॥
फर्किए नृपति, खुम्चियो सँगी ॥
(४२)

भन्छ शानहरुमा अनेकन ।
"यी असुन्दर र पापका वन ॥
घोच्दछन्‌ कुसुम शूलले यहाँ ।
खान छैन सब पेट रित्तियो ॥

जङ्गली कुसुम छन्‌ अनर्थ हो ।
राह दीर्घ घरको अनर्थको ॥
काँप्दछन्‌ उरुसमेत थर्थर ।
वस्त्र छेड्छ वन-वायु हर्हर ॥
लोकनाथ सब बिर्सिने तर ।"
(४३)

चूप्प चूप मुखमा गरीकन ।
अङ्‌गुली नृपतिले दिईकन ॥
थाम्दछन्‌ घर भजी विना धक ।
चल्न तत्पर हुँदा विदूषक ॥
(४४)

भन्दछन्‌ "विपिनवल्लरीहरू-
सामु तुच्छ दरबारका तरु ॥
प्राकृताशय सुखी यिनीहरू ।
नक्कली बहुसिँगार ती बरु ॥
यो हरा छ वन सामु स्वर्ग झैं ।
यी परीहरुसमान सुन्दरी ॥
अल्प भूषण र अल्प चाहना ।
फुल्दछन्‌ विपिन माधुरी घना ॥"
(४५)

"हेर हेर ! सखि लौ प्रियम्वदा ।
यो सुकी छ लहरा कठैबरा !!
सुम्सुम्याउँछु सदैव प्रेमले ।
हौसला दिन गरी नयाँ कुरा ॥
हालिदिन्छु जल सेचिने जरा ।
हाय ! तैपनि छ रुग्ण यो बरा ॥
के उपाय अब लौन बोलन ।
यो पलाउन, म दिन्छु जीवन ॥
के भयो भन त वैलिँदो लता ?
पाल्नुभो कि पर तीर्थमा पिता ॥"
भन्दछिन सजललोचनी परी ।
रित्तिँदो घट जमीनमा धरी ॥
(४६)

भन्दछन्‌ मनमनै समुज्ज्वल ।
कीर्तिका, 'दिल रहेछ कोमल ॥
त्यत्तिकै जति छ रूप मञ्जुल ।'
(४७)

दुष्ट कृष्ण भँवरो उडीकन ।
ती कपोल दुइ फूलमोहन ॥
वन्य मिष्ठ मधुसार हुन्‌ भनी ।
दुःख दिन्छ अब घुम्छ भुन्भुनी ॥
(४८)

प्रश्नसाथ अलि घुम्छ फन्फनी ।
केश रेशमलता भनी भनी ॥
भाव भै कुसुम रङ्गको त्यहाँ ।
घुम्छ शंसक पखेरु भुन्भुनी ॥
(४९)

'लौन लौन' सँग आत्तिँदी तिनी।
खोज्दछिन्‌ अलि दगुर्न तैपनि ॥
के गरूँ हुन गएर त्रासले ।
'लौन लौन !' ध्वनिको मिठासले ॥
बाहुली दुइ दिई कपोलमा ।
फेरि केशतिर चट्ट फर्किदा ॥
'लौन लौन' ध्वनिकी पुकार छन्‌ ।
लर्बरिन्छ मृदु अङ्ग, 'के गरूँ ॥
लौन लौन' सँग डाक्दछिन्‌ तरु ।
आँधिमा सदृश छन्‌ लताहरू ॥
पुष्प भन्दछ झुली 'म के गरूँ ?'
हास्यको सुख भए सँगी अरू ॥
भूप छन्‌ 'अघि सरूँ कि के गरूँ ?'
भन्छ शानहरुले विदूषक ॥
झाँगलाइ 'करले, म के गरूँ ?'
हातले अलि धपाउँदो 'अलि ॥'
झर्किएए नखरे उ नक्कली ।
फर्किएर डरले यसो अलि ॥
(५०)

चारु हास्य चपला हिली हिली ।
हाँस्दछिन्‌ मधुप भुन्भुने छली ॥
जान्छ त्यो सब त्यजी यिनैतिर ।
हाँस्दछन्‌ अझ सँगी मनोहर ॥
(५१)

"लौन लौन' सित ती प्रियम्वदा ।
भन्दछिन्‌ मधुर उत्तरप्रदा ॥
"यो पुकार गर भारतेन्दुमा ।
सद्‌गुणी विशद रत्नसिन्धुमा ॥"
(५२)

युवतिका लतिका कृतिका निका ।
रुचिर अङ्ग अनङ्ग सुसङ्गत ॥
उपर भृङ्ग चहार्दछ रङ्ग त्यो ।
जुन छ यौवनको वनको रस ॥
(५३)

सुमनका मनमा रस सारका
अधरका कलिला धरका थिए ॥
महक भै महको 'म हकी' भनी ।
भनभनी नभनीकन क्यै अरू ॥
भुनभुनाउँदथ्यो भँवरो बरो ।
(५४)

सुन हुँदा नहुँदा दिवस प्रभा ।
मधुप धूप भई अलि कोमल ॥
कमल कोमलको रस मञ्जुल ।
कुसुम देख्छ कपोल सुडोलमा ॥
(५५)

कर गरेर गरे करले पर ।
वर वरै भँवरो गठरो हुने ॥
भुनुभुनूँ नभनूँ अझ मात्तिने ।
मन भने नभने अझ आत्तिने ॥
(५६)

"उपलले पलले थलमा यही ।
मृत बनी तँ बनी रज झर्दथिस्‌ ॥
मन भरी नभरी करुणा रहोस्‌ ।
ल अब आबरु आ बरु आबरु ॥"
(५७)

विनयले नयले नधपाइने ।
उभयले भयले नहटाइने ॥
मधुर आशयले शयले पनि ।
पर धपाउन पाउन मुस्किल ॥
(५८)

पर सरी, रस रीस र रागकी ।
पवनकी वनकी कुसुमाङ्गिनी ॥
शरमदार-मुहार गुलाब छन्‌ ।
ललित लोलित दोलित भाव छन्‌ ॥
प्रकृत छन्‌ कृतझङ्‌कृत कान ती ।
सरसता रस ताल र ढङ्गकी ॥
(५९)

गरि गुहार मुहार निहारदी ।
पवनमा सुकुमार प्रहार दी ॥
कुसुमरूप जुहार शिकार ती ।
मधुपकी, धपकीकन लाल भै ॥
अब बनिन्‌ वनमा रति कामकी ।
(६०)

अघि सरी बिचरीकन भन्दछिन्‌ ।
सहचरी अलि चञ्चललोचनी ॥
नृपतिमा पतिमान गरीकन ।
यश दिशा दश बीच छरीकन ॥
“स्ववश शत्रु गरी महिमा लिने ।
अलि धपाउनु पाउन ! लौ भन ॥
किन कि छौ कनकाञ्चलिनी तिमी ।
अरुणता दिनकी सुरमोहिनी ॥"
(६१)

यति भनी नखरे मृदुलाधरा ।
मुसुमुसू मित मुस्किदिइन्‌ बरी ॥
त्रिदशकी दुहितासरी ती परी-
कन गरी दिनकी महिमासरि ॥
सुमनका मनमा मृदु शब्द ती ।
श्रवणसिक्त प्रसन्नमना नृप ॥
मधुपको मधु प्यूँन चढे अघि ।
नजरले मधुकार शिकारमा ॥
(६२)

सकल चञ्चलता चकिता बने ।
मृदुलता लसिता असिता लता ॥
अब विचित्र बने छविचित्र ती ।
नचलने चल-नेत्र अलीकति ॥
पुरुषको रसको सुख कर्किदा ।
पवनले गति चञ्चल बिर्सिँदा ॥
(६३)

जन प्रतिष्ठित को ? कुन यो युवा ?
नर कि किन्नर ? देव कि मार वा ॥
विपुल भाल समुज्वल चेहरा ।
मधुर यौवन यो वनमा हरा ?
(६४)

किन यतातिर आउँछ त्यो युवा ?
रहन के, वसनोज्ज्वल यो घर ?
मनमनै नभनीकन चिन्तना-
सहित ती वन कोमल कल्पना-
सरि तिनी मधुबैँस 'शकुन्तला' ।
चकित छन्‌ कृतझङ्‌कृतकुन्तला ॥
(६५)

'अलि' हट्यो अलि दुष्ट त्यहाँ छली ।
भ्रमर कुन्तलबाट शकुन्तला-
कन दिईकन फुर्सद, हेर्न त्यो
पुरुषको रसको मनमोहन ॥
(६६)

"सदय देव यहाँ अरुणोदय-
सरि सवार हुँदो वनवारिमा ॥
पयरकष्ट गरीकन आसन ।
लिनुहवस्‌ कुशको प्रिय शासन ॥"
(६७)

"नगर भो अति कष्ट सुकोमला ।
नगरका घरका जननिम्तिमा ॥
नगर शान्त निकुञ्जनिवासिनी ।
न गरमी छ यहाँ न थकाइ छ ॥
न गरुकाउँछ आँग न वा उरु ।
नगरलायित छन्‌ वनका तरु ॥"
यति विदूषकले तिनमा भने ।
बहुत खिल्खिल ती पुतली बने ॥
(६८)

"यदि खडा 'बखडा तरु' फुल्दछ ।
किन खडा म नहूँ नखरा लिई ॥
म छु वयस्क हुँदा तगडा अझ ।
किन खडा हुनगो झगडा यहाँ ॥
धवल केश फुली लटरम्म छ ।
तरुणभाव त तैपनि टम्म छ ॥"
यति सुनीकन हास्यविनोदिता ।
अधर छोप्न तयार भए लता ॥
जब विदूषक छिँक्क गरी रुघा ।
सरस ताउ लगाउँदछन्‌ जुँघा ॥
(६९)

"सखि ! कुशासन ल्याउन जाउन ।"
यति भनी शरमाउँदछिन्‌ जहाँ ॥
वचनकी मधु ती, उनमा नृप ।
वचन मिष्ट सुनाउँदछन्‌ यहाँ ॥

"किन यसै, नबसे पनि ठीक छ ।
जब सुवर्ण उ साँझ नजीक छ ॥"
यति सुनीकन 'चारु' लिई घडा ।
मधुर आग्रहभाषण गर्दछिन्‌ ॥
"थकित पाउ हुने रहँदा खडा ।"
(७०)

बोली मिष्ट सुनेर ती पुरुषको आनन्दिता कानमा ।
देखी तेज प्रसन्न भै मनमनै सोद्धी नयाँ प्रश्न ती ॥
पाएको मरुमा सफा जल हराकै कुञ्जमा शीतल ।
यात्री झैं अति तृष्ण ती नजरकी हेर्दी भइन्‌ पाहुना ॥
(७१)

दोटैका मनमा पस्यो प्रथम त्यो जादू छ जो कोयली ।
हाँगाबीच वसन्तको कुसुमको बोल्दो नयाँ प्रश्न झैं ॥
'को होला कुन यो महापुरुष हो' भन्थिन्‌ उता सुन्दरी ।
'को होलिन्‌ कुन हुन्‌ परी ? ऋषिसुता हैनन्‌' उनी भन्दछन्‌ ॥
(७२)

झुक्दै चट्ट बराबरी भुइँभरी बुट्टा भरी भित्रका ।
हेर्ने चाख भएर झट्‌ नजर ती वेला पखी लाउँछिन्‌ ॥
आँखा जुध्छ कि झैं हुँदा सहज नै हाँगा हुँदी बैंसकी ।
ढुक्‌ ढुक्‌ बढ्न गएर लाल-गरमी लज्जा लिँदी गण्ड छन्‌ ॥
(७३)

सोधे ती सखिले कुरा अलि यसो राम्रो घुमाईकन ।
"हाम्रो भाग्य बलेछ आज कसरी ! आँखा उज्याला हुन ॥
के सेवा दिन सक्दछन्‌ वन ठिटी भन्दो अहो भाग्यले ।
ल्यायो आज गिज्याउनै कि वनमा तेजी बडा पाहुना ?"
(७४)

सुन्दा थोर मुसुक्क मुस्किन गए तारीफका ओठ ती ।
भन्छन्‌ भूप "म आज आउँछु यहाँ दुष्यन्तको दूत झैं ॥
रक्षा गर्न र हेर्न जाँच ऋषिका यी यक्षका आश्रम ।
ठोकी दूर धपाउँला दितिजका दाह्रा दनासा भनी ॥"
(७५)

"हाम्रा पालक विश्वका मुकुट ती, ती धर्मका रक्षक ।
ती दाता सब अन्नका, सकलका छाती भरी सूर्य झैं ॥
ती राजा थलका तथैव जलका, सारा दिशाका छवि ।
हावासाथ सुगन्ध कीर्ति रहने ती दानका सागर ॥
(७६)

ती दैत्यारि, समस्त आर्यहरुका ती इन्द्र, आनन्द नै ।
ह्वैबक्सिन्छ विरोधका दलहरू हात्तीहरूले किची ?
चाहन्छौं यति सुन्न छैन उनको त्यो चेहरामा कुनै ।
उक्लेको कुइरो सफा सुख मिची पारी धमीलो छवि !"
(७७)

भन्ने प्रश्न सुनेर ती नजरमा आनन्द गै कानको ।
भन्छन्‌ भूपति, "छैन दुःख उनमा छाती छ मानो शरद्‌ ॥
काँढा छैन सबै छ फूल, त्यसमा आनन्दको वास छ ।
यस्ता सुन्दर रूपका अधरका मीठो प्रशंसा उडी ॥"
(७८)

मानी चाख मिठास ती वचनका प्यूँदी दुवै कानले ।
घेरै बेर झुकेर तीक्ष्णश्रवणी आँखा उचाली लिँदी ॥
बिर्सेकी मनमुग्ध भै शरम नै चैतन्य चाँडो पसी ।
लालीदार मुहार भै पलक ती चाँडै वराल्दी भइन्‌ ॥
(७९)

"मीठो नाम म सुन्न पाउँछु भने बन्ने थिएँ कोयली ।
को को हो यस कुञ्जमा अधर ली राम्रा रहेका फुली ?"
भन्दै प्रश्न गरेर झुल्न सुखमा घोली सुधा कानमा ।
भन्दा भूप निहार्दछन्‌ नजरले फुल्दी झुकेकी ठिटी ॥
(८०)

"मीठो नाम प्रियम्वदा छ यिनको बोल्दै बुझीहालिने ।"
भन्छिन्‌ चारु, प्रियम्वदा अघि सरी दिन्छिन्‌ यही उत्तर ॥
"राम्री भै यिनको छ नाम सहजै सौन्दर्य झैं सम्झिने ।
कस्ती प्रेमशिखारु चारु हँसिली यी चारु छन्‌ ओठकी ॥
(८१)

ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन्‌ लाजले ।
मानो फूल थुँगा बनी मधुरता झुक्छिन्‌ स्वयं भारले ॥
नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि ।
आँखाको रस के कुरङ्गहरुले देखे चरी नन्दन ?"
(८२)

भन्दा भुत्भुत बन्न तत्पर बनी बोली अडेकी त्यसै ।
आँखाले मृदु लाम्चिला सरस ती छेडेर गाली नुहिन्‌ ॥
मानो सुन्दर छन्‌ स्वरूप अरुका आँखा छली फुल्नको ।
आफ्नो सोख लिँदो थियो शरमको गाली दिँदो नेत्रले ॥
(८३)

"होवैनन्‌ ऋषिकी सुता तर यिनी, बान्की छ अर्कै ढँग ।
ओठै छन्‌ उनका प्रवालरँगका क्या पातला पालुवा ॥
बोले कोकिलले लिई शरम के बिर्सिन्छ भाषा भनी ।
बोलीको टक मात्र सुन्दर दिई ती चल्दछन्‌ वायुमा ?"
(८४)

भन्ने शब्द सुनी असह्य हुन गै साम्ने बनी बस्न नै ।
फर्किन्‌ झट्ट 'कसो गरूँ' हुन गई बोक्छिन्‌ घडाको जल ॥
झुक्दी दूर गई प्रफुल्ल बिरुवालाई भिजाईकन ।
सौन्दर्यैसरि झल्किँदो सलिलको भाषा सुनाइन्‌ कल ॥
(८५)

"औंठी दिन्छु म लिन्छ को ? जल त्यहाँ जो निर्दयी क्रूर छ ।
थाकेको मृदुरेख पेशलकटीमा भार बन्दो गर्‍हुँ ॥
बोकेमा जल मात्र एक छिन त्यो औंठी त्यसैको भयो ।"
भन्दा नेत्र जुधेर तीन सखिका बन्थिन्‌ प्रशंसा तिनी ॥
(८६)

थप्छिन्‌ फेरि प्रियम्वदा "छ यिनमा सौन्दर्य नै स्वर्गको ।
पृथ्वीमाथि झरेसमान सखि छन्‌ दोसाँधकी सुन्दरी ॥
यी हुन्‌ कौशिककी सुचारु तनया जो मेनका-कोखमा ।
पाई जन्म यहाँ बढिन्‌ कुसुम झैं छोरी पिता कण्वकी ॥"
(८७)

पूरा वर्णन जन्मको जब गरे आलीहरूले त्यहाँ ।
काँढो गो मनको 'यिनी ऋषिसुता ह्वैनन्‌' भनी चित्तले ॥
धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना ।
कालो पापसमान दब्छ कुइरो आकाशमा पत्लिई ॥
(८८)

धेरै मिष्ट कुरा भए, तब थपिन्‌ आली कुनैले त्यहाँ ।
"हाम्री छन्‌ सखि पुष्पतुल्य, मधुकी प्याला फुकेकी रँगी ॥
झर्किन्छिन्‌ भँवरा नजीक नहवोस्‌ भन्ने गरी भावना ।
लैजान्छन्‌ कि टिपेर मन्मथ स्वयं भन्ने छ शङ्का यहाँ ॥"
(८९)

भन्ने बात सुनी रिसाउन छिटी आँखा तरी बोल्दछिन्‌ ।
"कस्ता लाज र भाँडका मुखहरू ! बोल्छौ ठुटा नाकले ॥
यस्ता शब्द गरी त्यसै मन परी छाड्ने सबै काम लौ ।
आमैसाथ गएर भन्दछु यहाँ के दुष्टता गर्दछौ ?"
(९०)

भन्दै भन्न फनक्क भैकन गइन्‌ टाढा पुगिन्‌ ती पर ।
फर्की हेर्न भएर चित्त मनले रच्दो भयो जाल क्यै ॥
यस्तैमा तब शूलले पयरमा बिझ्दा बहाना दिने ।
"आच्छू ! लौन" भनी थचक्क भुइँमा ती वेदनाले बसिन्‌ ॥
(९१)

राजा हेर्न गए, गए सखिहरू काँढा झिके डोबको ।
तीखो दर्द परेर आफ्नु मुटुमा राजा रसीला बने ॥
यस्तैमा तब भूपका जनहरू आए गरी खल्बली ।
देखाईकन काम तीसँग बिदाबादी भए भूपति ॥
(९२)