Jump to content

Shakuntala/dashama-sarga

From Nepali Proofreaders
दशम सर्ग

गुणसुवर्णका आढ्य आकर ।
चहकदार छन्‌ नृपतिका बर ॥
यश फिँजाउँदा विश्व नै भर ।
उदय स्वर्णका कान्तिसुन्दर ॥
न छ कसी कुनै राख्न त्यो दर ।
लेखनी त्यसै बन्छ कातर ॥
(१)

समरसिंह ती उच्च शासन ।
गुण पहाडका कीर्ति-कानन ॥
बीच वल्लरीका ध्वजा फुली ।
फर्फराउँदो राज्यमा डुली ॥
गौरवी बनी उत्तमोत्तम ।
नृप नृसिंह छन्‌ ती प्रजाकन ॥
(२)

तिमिर रूपको शत्रु नाशिने ।
शार समानका रश्मि फैलिने ॥
पूर्व सानुमा छन्‌ दिवाकर ।
तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥
दश दिशा तिनी हाँक्दछन्‌ रथ ।
कनक-कीर्तिको उच्च ती पथ ॥
(३)

उर उदारका दाननिर्झरी-
हरु बहाउने वीरता-गिरि ॥
यश हराभरा दीप्त कानन ।
शिखर स्वर्गका भूमि धारण ॥
(४)

कीर्ति वल्लरी बागमा फुली ।
नरम वासले मम्मगाउँछ ॥
रङ्ग रङ्गका फूल रङ्गिने ।
कुसुमकालमा कोकिलायिता ॥
(५)

भारतेन्दु ती हृदय-सिन्धुका ।
कीर्तिकौमुदीपूर्णिमा बनी ॥
कुसुमचूड ती उर्लिआउँदा ।
क्या फुलाउँथे बीचि वल्लरी ॥
(६)

अवनिमा बनी भूपका मणि ।
स्वर्ग चित्र झैं व्योमका मनि ॥
तारका मिलेतुल्य सुन्दर ।
जन मिलापले राज्यमन्दिर ॥
सुख र ज्योतिले नित्य छाउन ।
तल झरे शशीसरि उदाउन ॥
(७)

रङ्ग देखिँदै हृदयभित्रका ।
यदि फुलून्‌ सबै लवज वासले ॥
तब बनाउँथे पत्रका पट ।
रसिक सामुमा चारुचित्रका ॥
(८)

तर छ सामुमा खालि बादल ।
दूर शृङ्गको दृश्य ढाकिने ॥
हृदय देख्छ जो कीर्तिका धन ।
सहज ढाक्दछन्‌ शब्दका घन ॥
(९)

गगननीरमा एक सूर्य झैं ।
सहज गर्दथे धूप शासन ॥
चन्द्रमा बने, तारका बने ।
नृप अरू उनीसामु धूसर ॥
तमविषे छटा छाउँथे अझ ।
उडु निभाउँथे ज्योतिले यिनी ॥
(१०)

विपुलवक्षका वीर बान्किला ।
तिलकदार छन्‌ पुष्टभाल यी ॥
मुख छ तेजिला ओजदार छन्‌ ।
सब प्रतापका दिव्यसार छन्‌ ॥
(११)

जलधिको तिनीमा गभीरता ।
विमलभावका वीचिका छिना ॥
गुण बनाउँदै रत्न कुँद्दछन्‌ ।
जति छ वर्षिंदो दानको घडा ॥
उत्ति धर्मका राह कुद्दछन्‌ ।
गजब ! ती भने नित्य उत्ति छन्‌ ॥
(१२)

विष्णुरूपका युग्म बाहुली ।
राज गर्दछन्‌ भूप भूमिमा ॥
बाहुली दुवै स्वर्गमा पनि ।
राज गर्दछन्‌ देवताकन ॥
(१३)

शिखरबीच छन्‌ वीर शङ्कर ।
तारकाविषे छन्‌ दिवाकर ॥
ऋतु समस्तका यी वसन्त छन्‌ ।
कुसुमकीर्तिका रँग अनन्त छन्‌ ॥
(१४)

कविहरू बनी गानका चरा ।
नीडरूपकी त्याग्दछन्‌ धरा ॥
हृदयपङ्खले पाउँदै सुरा ।
उच्च कनकको कीर्तिकान्तिमा ॥
(१५)

मृदु मुहार ली कामदेवका ।
समरदेवता डालडोलका ॥
चतुर हान्दछन्‌ युद्धमा शर ।
युवति दैख्दछन्‌ पुष्पका तर ॥
(१६)

दीनका यिनी कल्पका तरु ।
कुसुम रत्न छन्‌ बाहुमा भरी ॥
सब पुकारका श्वासले सदा ।
प्रकृत भावले आउने झरी ॥
कल्पवृक्ष त्यो स्वर्गमा बरु ।
नर निमित्तको छैन रे तरु ॥
फूल टिप्दछन्‌ देवताहरू ।
(१७)

एक सूर्यले फुल्छ जीवन ।
नित हराभरा रङ्ग रङ्गमा ॥
किरण केन्द्र छन्‌ चित्तका सब ।
जन जरा बनी पाउँछन्‌ रस ॥
मधुर बीज झैं स्वप्न बढ्दछन्‌ ।
देश कालमा रङ्ग रङ्गिन ॥
सौख्य कुन्जका वृक्ष झैं प्रजा ।
पाउँछन्‌ हरा धन्य जीवन ॥
(१८)

स्वर्ग पङ्खका नीड सुन्दर ।
विहगभावका पत्र मन्दिर ॥
मृदु कला छ क्या रङ्ग लेखिने ।
पत्र पुष्पमा मञ्जु देखिने ॥
(१९)

समरघोष छन्‌ मेघ झैं यिनी ।
अरि निभाउने घोर गर्जन ॥
रुधिर शत्रुको बन्दथ्यो झरी ।
देख्दथे त्यहाँ मित्रले तर ॥
धनुष इन्द्रको कीर्तिसुन्दर ।
दिल खुसाउने लोकको सब ॥
(२०)

हरित कुञ्जको माथि उच्चता-
साथ शृङ्गगमा रम्य ठाउँमा ॥
तुहिन देशका काँधमा कहीँ ।
शिखर उच्चमा गूँड लाउने ॥
विहगसिंह झैं व्योमचारक ।
पङ्ख कीर्तिका भूप फिँज्दथे ॥
(२१)

गगन झैं सदा यी उदार छन्‌ ।
ग्रह विचार ती तेजदार छन्‌ ॥
पवन चल्दछन्‌ युग्‌ सुवर्णका ।
विश्वप्रेमका स्वप्न बन्दछन्‌ ॥
(२२)

सकल तारका ती विचारका ।
नीतिमा लिई तौल अड्दछन्‌ ॥
. ईश सूर्य झैं पाउँछन्‌ पथ ।
कर फिँजारिई सृष्टि चल्दछन्‌ ॥
हित अगाधमा प्रेमसागर ।
पुत्रवत्‌ प्रजालाइ हेर्दछन्‌ ॥
रत्न रत्नका बूँद देशमा ।
जलधि कोषका झर्र भर्दछन्‌ ॥
ज्योति झर्दछन्‌ स्वर्ग देशका ।
पुष्प झैं कलामाथि पर्दछन्‌ ॥
(२३)

न्याय, तौलको झैं तुला बनी ।
युगल हातको तुल्य थालमा ॥
वजन नापिने रौं प्रमाणका ।
यश फिँजाउँछन्‌ न्यायमूर्तिको ॥
(२४)

तुहिनपूत भै पग्लिने त्यसै ।
अति दयालुता शुभ्र शैलको ॥
सलिल नागिनी भै झरेसरि ।
तरल रौप्य झैं झर्दथी तल ॥
पार्न क्षेत्रका वक्ष नै हरा ।
विमल भावले अब्धिमा पुगी ॥
स्वर्गमा चढी फेरि वर्लिन ।
(२५)

नित हरा यिनी छन्‌ महीरुह ।
कर हजार छन्‌ दानविस्तृत ॥
अमृतता फली प्यास मेटिने ।
खबर ल्याउँथे देवदूतले ॥
मलयसम्मका वायु चाखका ।
सुरभि कीर्तिको गन्ध पाउँथे ॥
(२६)

जति दुह्यो उती कामधेनु झैं ।
सद्‌गुणी त्यहीँ पाउँथे सुधा ॥
शस्य चाहिने कामधेनुमा ।
भक्ति चाहिने खालि भै यता ॥
(२७)

नीलछत्रका ग्रह जुहार झैं ।
राज्य पाउँदा चन्द्रशीतल ॥
सब प्रजा थिए चम्चमाउँदा ।
सुखप्रकाशले उत्तरोत्तर ॥
(२८)

भक्त धर्मका, युक्त कर्मका ।
साधु मर्मका विज्ञ भूपति ॥
दुष्ट व्याघ्रका चर्म नै झिकी ।
रिपु शिकारमा कीर्ति पाउँछन्‌ ॥
(२९)

बागमा यिनी सौख राख्दछन्‌ ।
कुसुम कीर्तिका मृदु फुलाउने ॥
सूर्य कान्तिका स्वकरले रची ।
रङ्ग रङ्गका सुरभि सुन्दर ॥
राज्यको कला छाँटकाँटमा ।
वन बनाउँदै बहु विभागमा ॥
(३०)

विज्ञको सभा ग्रह जुहारले ।
बाटुलो बनी पूर्णरूप छ ॥
निष्कलङ्कतामा नवैलिने ।
नृपतिको त्यहाँ चन्द्ररूप छ ॥
(३१)

मधुर कान छन्‌ गानमा यिनी ।
सूक्ष्म ती कला सारका कसी ॥
समरमार्गमा चातुरी लिई ।
प्रीतिले लिने शान्तिको पथ ॥
(३२)

सत्यपालनामा सुधीर छन्‌ ।
नीति राजको सत्यमा अडी ॥
आफूले रची जाल, पर्दछन्‌ ।
दुष्ट माकुरा सोहि जालमा ॥
(३३)

तुल्य दृष्टि दी अल्प, उच्चमा ।
पर्णका कुटी रश्मिले छुने ॥
किरण छुन्छ जो श्रृङ्गस्वर्णका ।
बालुवाभरी सो छ झल्किने ॥
(३४)

उदय स्वर्णले खुल्छ शासन ।
दिनभरी फिँजी कीर्ति घामको ॥
दिन स्वदेशमा छन्‌ समुज्ज्वल ।
स्वर्ण अस्तले स्वर्ग भज्दछन्‌ ॥
अस्त भै यता, देशमा अरू ।
पछि उदाउँछन्‌, स्वर्णकीर्तिमा ॥
(३५)

थकित झोंझले राजकाजको ।
दिन खुला हुँदा रम्य आजको ॥
अब शिकारमा जान चित्त भै ।
वन विहारमा छन्‌ तयार ती ॥
(३६)

कनक-सूतको कोट झल्मल ।
रत्नदारमा मन्मथोज्ज्वल ॥
बगलमा धरी चर्म म्यानमा ।
अति सुहाउँदो वक्ररेख त्यो ॥
कनक ताज ली हीरकद्युति ।
रत्न लुर्कने दिव्य झल्मल ॥
विपुल भालमा पीत चन्दन ।
माल्ययुक्त छन्‌ देशनन्दन ॥
पयर ढाक्दछन्‌ टिम्म वस्त्रले ।
सुन सिँगारको पाउपोस छ ॥
(३७)

रथ चढे तिनी चार अश्वको ।
टलकदार छन्‌ अश्व तेजिला ॥
टाप कट्किने, लोह झिल्किने ।
छाँटकाँटका स्निग्ध यालका ॥
गुच्छदार छन्‌ लोल पुच्छर ।
घावमेच्छु छ्न्‌ रोकिँदा, तर ॥
पद अधीर भै ती उचाल्दछन्‌ ।
हिन्हिनाउँदै मार्गखातिर ॥
(३८)

धनु छ हातमा कोष पीठमा ।
बगलमा बसे बक्बके अब ॥
मुख हँसाउने दीर्घ मार्गको ।
(३९)

अश्व चल्दछन्‌ अग्र प्रेरित ।
रथ सिँगारको चल्छ तीपछि ॥
छल्छ दीर्घ भै लामलस्कर ।
नजरले त्यसै दृश्य देखिने ॥
(४०)

पद हजारका वाद्य बज्दछन्‌ ।
चालमा मिली बढ्दछन्‌ अघि ॥
'ढरर ढम्म' भै बज्छ ढोलक ।
'छनन छुन्न छन्‌' वाद्य रुन्झुने ॥
'धुँ धुँ धुँ' गर्दछन्‌ तालमा मिली ।
पयर चल्दछन्‌ लाम लश्कर ॥
(४१)

गगन खैरियो धूलिधूसर ।
जनसमूहको आँधि आउँदा ॥
वाद्य छन्‌ जहाँ मेघगर्जन ।
पद हजारका वृष्टि झर्दछन्‌ ॥
(४२)

कनकयानमा सूर्यतुल्य ती ।
धनुष हातमा रश्मि झैं शर ॥
क्रुरताहरू मार्न चल्दछन्‌ ।
विपिनमा लिने अन्धगह्वर ॥
(४३)