Shakuntala/chaturbimshatitam-sarga
न्यानो कोमलता लिएर रविले फारेर हुस्सूहरू ।
सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थे कणाका तरु ॥
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग ।
शीत श्वासित वाससाथ मनमा ब्यूँझाउँथ्यो कल्पना ॥
(१)
डुल्दै शीतल कुञ्जमा प्रकृतिको बाटो घुमौरो लिई ।
ओर्ले कश्यपका कुटीतिर तिनी बास्ना मजाको पिई ॥
हावा त्यो सुख झैं सुशीतल सफा त्यो शान्तिको शासन ।
पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥
(२)
ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा ।
पातै मग्मग वासका बहु थिए हाँगा नयाँ आशमा ॥
पुछ्रे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका ।
मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥
(३)
हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्का सरि ।
नौला ढङ्ग मिठासले तरुभरी बन्थे रँगी छिर्बिरी ॥
मानो फूल उडेसमान खगका बोल्थे पखेटाहरू ।
गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥
(४)
"यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग ।
मेरो वन्य बिहा भयो कुसुमको खानी फुलेको रँग ॥
सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर ।
बोल्थ्यो प्रेम बनी जगत् मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥
(५)
'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला ।
जिभ्रा झैं कलकण्ठका मृदुलता मागी नयाँ कम्पित ॥
फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन ।
बिस्तारै मुसकाउँदै पर गरी' भन्थे खुसाईकन ॥
(६)
"घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी ।
मुस्कन्थे अलि लालरङ्ग कलिलो छाएर गाला भरी ॥
ती बोल्थिन् वन झैं चरामय कुरा, मीठा सुराका कणा ।
मानो बैंस वसन्तमा र वनमा बास्ना बने झैं घना ॥
(७)
आयो क्रूर तुषारको हुदयमा ठण्डा कडा विस्मृति ।
मेरो श्वास बनेर स्याँठ हिउँदे छाती चिर्यो कोमल ॥
ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा ।
वैलिन् हाय ! कतै कतैतिर तिनी होलिन् रुँदी मौनमा ॥
(८)
छातीका जलबाफ सर्र मनमा फैली रसाईकन ।
ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन् रुँदी ॥
फुल्दा यौवन आश कुण्ठित भई धक्का परी निष्ठुर ।
घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥
(९)
के ठानिन् शिव हाय हाय तिनले वल्ली बनी आउँथिन् ।
मुद्राले नव आशका विरहका दाना बिसाऊँ भनी ॥
मेरो क्रूरपना र आँधिहरुले ती जिल्ल आत्माकन ।
राखिस् दैव कहाँ ? बता अब ममा खोज्नेछु रोईकन ॥
(१०)
ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा ।
स्वर्गै लोक समस्तको विजयको मिल्थ्यो मलाई सुरा ॥
ती आँखा दुइमा जगत् कुसुमको मिल्थ्यो कणामा कणा ।
बास्नातुल्य कुरा गरेर मनमा बन्थ्यो रुँदी सम्झना ॥"
(११)
यस्तै तर्क गरेर कश्यपसितै सोधी बुझूँला भनी ।
आँखा कोमल ओर्लिए नृप जहाँ बाक्लो थियो जङ्गल ॥
देखे एक कुमार सुन्दर त्यहाँ जो बोट झैं फूलको ।
लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥
(१२)
राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना ।
जस्तो शिल्पित चार बाल्य सुषमा हाँसीरहेको मृदु ॥
ठूलो भाल, सुपुष्ट ताज जगको बन्ला कि झैं प्राकृत ।
शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥
(१३)
फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि झैं वीरता ।
राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥
मानो बाल छ दिव्य देह हँसिलो मानो कुनै अप्सरा-
बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥
(१४)
राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला बनी ।
हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥
चम्केका दुइ बाल लोचन, लिई गन्दै थियो वेधक ।
लामा दंष्ट्रकराल तीक्ष्ण वनको ली सिंहको शावक ॥
(१५)
'हेल् छ्याने ! कति लेछ दाँत यछको कछ्तो छ तीखो हकि ?'
भन्दा ङ्यार्र गर्यो र हान्छ शिरमा हप्काउँदै बेसरी ॥
कुत्तातुल्य बनेर शान्त त्यसले आँखा हरीया दुई ।
लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥
(१६)
'को होला ? कुन भूपपुत्र ? कसको यो रत्न तेजी यहाँ ?'
भन्दै तर्क गरेर दर्शक बने गर्दै प्रशांसा त्यहाँ ॥
'यस्तो बालक रत्न सुन्दर महातेजी हँसीलोकन ।
पाऊँ राख्न म काख चुम्बन लिँदै स्वर्गै थियो जीवन ॥
(१७)
लोभै लाग्दछ देख्नलाइ शिशु यो क्या तेजको सुन्दर ।
यौटा दोष नदेखिने, कति छिटो, क्या फर्तिलो क्या सफा ॥
तोते फुट्न तयार शब्द रसिलो टूना बनी कानमा ।
गद्गद् बन्दछ चित्त चारु सपना झैं दिव्य उद्यानमा ॥
(१८)
को होला ? यसको मुहार अलि क्यै थोरै चिने झैं कता ।
कोही मानिसको कि देवहरुको झैं लाग्छ मिर्मिर् यता ॥
के मैले सपनातिरै दिन कुनै देखें ? झझल्कोसरि ।
को होला ? कुन भूपको शिशु यहाँ या देव आए झरी ?
(१९)
स्वप्ना सुन्दर आशका हृदयका फुल्दो हुँदा यौवन ।
देखिन्छन् यसरी कतै कि रसिला आँखा लिई सम्झिन ?
अर्कै ठाउँ झरेर स्वर्गतिरका यी बाल-स्वप्नाहरू ।
हाँसी चित्त रुलाउँछन् कि यसरी दुःखी बनाई मरूँ ॥
(२०)
यस्तै एक थियो सुचारु सपना त्यो कोपिलैमा पर ।
मेरो लात लिई गयो विधि हुँदा उल्टो कडा निष्ठुर ॥
त्यो बाबाकन रुग्ण दीन थलमा झुत्रो लगाई रुँदी ।
होलिन् काख लिँदी सुदीनवदनी तप्तप् झरी झैं हुँदी ॥
(२१)
यो को हो ? अब सोध्छु' यो मन लिई दुष्यन्त सर्छन् अघि ।
"एनानी ! भन को तिमी ? घर कहाँ ? के नाम तिम्रो भन ?"
भन्दा भन्दछ बाल त्यो हँसमुखा हेरेर माथी तल ।
"मेलो किछ्न बुबा विछाल थल यो" फैलाउँदो बाहुली ॥
"आत्मा नाम छ काम यो छब जगत् जित्ने उज्यालो गली ।
बाबा कछ्यपको कुटी घल" भनी तोते बनी माधुरी ॥
(२२)
"साच्चै कृष्णकि झैं मुहार हँसिलो जस्तो छ तिम्रो पनि ।
जित्छौ यो जगतै समस्त सहजै मीठो उज्यालो बनी ॥
आत्मा नाम कसो गरी हुन गयो हे देहका देवता ?"
भन्दा बोल्दछ "के म हूँ ल प्लिथिवी ? माटो त्यछै बेपता ॥"
भन्दै खिल्खिल् हाँस्छ चारुमुख त्यो तारल्यको शैशवी ।
मानो जिस्किन खेल्न कुद्न सुखको पानी सिँगार्ने छवि ॥
(२३)
"यी हुन् राजकमार चन्द्रकुलका यी तेजिला बालक ।
हाम्रा राजकुमार ती भरत हुन् यी दीनका पालक ॥
सम्राट् देश समस्तका पछि हुने जानेर हाम्रा ऋषि ।
बूढा कश्यप गर्नुहुन्छ यिनमा शिक्षा कुटीमा बसी ॥"
(२४)
'यो चन्द्रवंशी कुन राजपुत्र ?'
भनेर सोची मनमा विचित्र ॥
ठानेर भन्छन् "कुन कृष्ण नाम ?
राजा कहाँ छन् कुन देश धाम ?"
(२५)
यस्तैमा खस्न जाँदा शिशुकर रहने मन्त्रको एक बाजु ।
टिप्छन् दुष्पन्त छीटो, तर निकट हुने गर्दछन् "हुन्न हा हा ॥"
भावी आश्चर्य सोद्धा चकित नजरले भन्दछन् ती मनुष्य ।
"हाम्रा यी शाहज्यादा प्रभु पनि यिनका" अड्कियो त्यो रहस्य ॥
(२६)
जोडी हात खडा भएर जनले भन्छन् "प्रभो मन्त्रले ।
बाँधेका यस बाजुलाइ अरुले टिप्दा डसीदिन्छ यो ॥
सर्पै बन्दछ मर्छ मानिस पनी, हा हा त्यसैले गर्यौं !
हाम्रा राजकुमारका प्रभु पिता जानी खुशीमा पर्यौं ॥"
(२७)
नृपको मनमा जवाफले ।
अझ आश्चर्य बढ्यो, 'कसो गरी ?
म पिता यिनको भनीकन ।
सब भन्छन् म त कत्ति बुझ्दिनँ ॥'
(२८)
"हात बाबुको मात्र निर्भय-
साथ टिप्न त्यो बाजु सक्दथ्यो ॥
नत्र सर्प भै मृत्यु डस्दथ्यो ।
चकित बन्नुको यो रहस्य हो ॥"
(२९)
यस्तै हुँदा खबर शीघ्र उडेर आयो ।
टिप्थिन् जहाँ मृदुमुखी वनका कुनामा ॥
पूजा निमित्त प्रभुको कलिला प्रसून ।
आँखा भरी सरसतासित सम्झनाले ॥
(३०)
त्यो क्रूरता हृदयमा पहिले गर्हुङ्गो ।
छाती किचेर दिनरात उदास पार्ने ॥
बन्थ्यो सुकोमल सिँगारसमान सारा ।
लागेर ईश्वरतिरै दिलबाट धारा ॥
(३१)
सौन्दर्यमा मृदुलता रसिला थपेकी ।
मानो प्रसून मुरझाउनदेखि बच्ची ॥
आँखा भई करुण आँसु अनेक झारी ।
साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥
(३२)
श्रीकृष्णको स्मरणले दुखबाट काँढा ।
सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥
रुन्थिन् तथापि मनको मनमै हमेशा ।
'हे कृष्ण सम्झ प्रभु दीन अनाथ' भन्दी ।
(३३)
आशा समान पृथिवीकन प्राणदायी ।
छोरो थियो र त्यसमा जिउँदी अडाई ॥
ती प्राण दुःखमय सुन्दरता रुँदी ती ।
छन् मूर्ति दिव्य तपकी सरि गेरु लाई ॥
(३४)
खुल्छन् कुनै वसनमा सब रङ्गका नै ।
छन् चन्द्रलाइ महिमा धन कृष्णरङ्ग ॥
ती दुःखलाइ पनि चारु सिँगार पारी ।
भज्थिन् टिपी कुसुम बिर्सिदिने मुरारि ॥
(३५)
चाञ्चल्य-शून्य अघिको छरितोपना नै ।
नाला बनी अब नदी गहिरीपनाले ॥
ती नृत्य भाव तटमा अब चट्ट बाँधी ।
लिन्थ्यो गभीर गति स्वर्ग लिने रँगाई ॥
(३६)
जानेर दुःख-सुख केवल हो परीक्षा ।
भन्ने, लिएर ऋषिको अति दिव्य शिक्षा ॥
श्रीकृष्णको भजनमा मन पूर्ण लाई ।
स्वामी उनैकन बुझी रहँदी यहाँ यी ॥
(३७)
त्यो चोट भित्र दिलको कहिले उठेर ।
बिझ्थ्यो चसक्क दिल सत्वर पग्लिएर ॥
रुन्थ्यो वसन्त वनमा, जब कोइलीले ।
'को हो' भनेर नचिनेसरि बोलिदिन्थ्यो ॥
(३८)
ती आज पुष्पवनमा नहुँदी विषाद ।
यौटा झलक्क मनमा परबाट याद ॥
चम्केर, चारु वनको हरियो विवाह ।
आँखा रसाउन तयार थिइन् अथाह ॥
(३९)
बेला यही सखि कुनै दगुरेर आई ।
"दुष्यन्तको अब सवारि भयो, मलाई ॥
के के दिने ? अब कबूल नबिर्स नानी !
बन्दा समस्त पृथिवीकन एक रानी ॥"
(४०)
भन्दा झसङ्ग "कसरी" सित चारु आँखा ।
आश्चर्यले विपुल, लाउनकी चनाखा ॥
"सम्झे" भनेर रसिली गह शीघ्र बन्छिन् ।
"कस्तो गिज्याउनु" भनी तर शीघ्र रुन्छिन् ॥
(४१)
वृत्तान्त त्यो विपिनको नृपको सुनेर ।
पुछ्दी नुही ढलकले दुइ दीर्घ कोस ॥
गम्भीर भाव रसिली मृदु शीघ्र रोकी ।
भन्छिन् कथा "सकल झूट बनोट हो कि ?"
(४२)
विश्वास फेरि सखिले दिलमा दिनाले ।
आकाशतर्फ दिइ दृष्टि कृतज्ञताले ॥
"हा कृष्ण ! सम्झनुभयो" यतिसाथ सुस्त ।
गम्भीर चालसँग ती सखिसाथ लागिन् ॥
(४३)
छोटो थिएन तर पाउ खुशी छरीतो ।
ती मन्द मन्द मृदु छन्द सुगन्धवाह ॥
सन्देशको गतिसँगै गहिरो विषाद !
लाई सिँगारसरि दर्शन गर्न आइन् ॥
(४४)
ती गेरुकी मृदुमुखी रसिलो प्रसून ।
वैलेर आधि जिउँदी जलबाट जस्ती ।
नौली बनेर सुकुमारपना गभीर ।
आइन् सुकोमल-दृशी गहिरी भएर ।
(४५)
हेरी दुवै क्षणभरी दुइ मूर्ति जस्ता ।
छन् शिल्पको करुणभाव उज्यालिएर ।
झुक्दी यता मृदुमुखी रसिली बनेर ।
हेर्दा उता विरहका पछुताउ हेर
(४६)
आँखा रसाउन गई अब टल्पलाए ।
ती गेरुदार मुखमा गहिरी अगाडि ॥
हा प्रेयसी ! तब तिमी अब जोगिनीको ।
यो वेशमा रुँदिथियौ ग्रहका अगाडि ॥
(४७)
वैराग्यको कटुपना, सब दु:खभन्दा ।
छाती चरक्क चिरिने, गहिरो गराई ॥
मानो विषाद गहका सब आँसुभन्दा ।
झल्केर दिन्छ सचराचर नै रुलाई ॥
(४८)
क्या क्रूरता मकन भन्दछ गेरु तिम्रो ।
गाली समान गहिरो दिलमा सुनाई ।
यो रङ्गले जलधि आँसु बनेर मौन ।
टल्पल् हुँदो छ गहमा अहिले मलाई ॥
(४९)
क्या शान्त सुन्दर मिठी गहिरी उज्याली ।
गम्भीरता विरहको सरि मूर्तिवाली ॥
नाघेर दुःखहरुका सब साँधलाई ।
छौ चन्द्रमा सघनतुल्य चकोरलाई ॥
(५०)
आँखा बनी सजल भन्छ अहो ! मलाई ।
बिर्सिन्नथ्यौ विपिनमा तर योगिनी भै ॥
हा ! क्रूर विस्मृति म पर्दछु पाउमाथि ।
माफी गरे विधि-शिकार म भक्तलाई ॥"
(५१)
जोडेर हात दुइटै अब चल्छ घुँक्क ।
रुझ्दो गला अघि परे नृप-पाउमा ती ॥
दोटा झरे विमल विन्दु र छाँद हाली ।
भन्छन् "नत्याग अब भक्त दुखी मलाई ॥"
(५२)
रोई तिनी पनि थचक्क बसेर घूँ घूँ ।
रोइन्, बने उर खसेर उचालिँदा ती ॥
रोए त्यहाँ सकल मानव वेदनामा ।
टल्पल् गरेर जलमा दुइ देखिनाले ॥
(५३)
दोटै गला अब मिलेर भिजेर रुन्छन् ।
आत्मा छ बर्बर दुवै रसिला कणामा ?
सिद्धिन्छु झैं दुख दगुर्दछ शीघ्र चारु ।
गुड्दै झलक्क झलकी दुइटै रुनाले ॥
(५४)
मानो छ आँसु यति भाव प्रकाश गर्दो ।
"हा नाथ, के गरि बिते निठुरी हुनाले ॥
हा प्राण, के गरि जिएँ पछि सम्झिनाले ।
यो प्राण आतुर उडेन कडा हुनाले ॥"
(५५)
"हा ! बिर्सिने पुरुष हैन म फूल मेरी ।
स्वर्गीय वासहरुकी रसिली प्रसून ॥
त्यो क्रूरता यदि सचेत भए म जल्थें ।
मूर्छा भएर म बचें विधिको टुनाले ॥
(५६)
यादै भएन तर विस्मृति ढाकिनाले ।
कालो बनेर घन आँसु तिमी रुलायो ॥
झिल्केन एक बिजुली पनि आँधि आयो ।
यो दुष्ट हो छल भनी मनले लिनाले ।
(५७)
सम्झेर आँसुहरुले दिनरात रोएँ ।
औंठी मिलेर स्मृति सत्वर फर्किनाले ॥
यो इन्द्रजाल गहिरो विधिको मलाई ।
छोप्थ्यो तिमीकन रुलाउन हाइ ! हाइ !!
(५८)
छाती चिरेर यदि दर्द सबै सुनाऊँ ।
रोला जगत् सब सदैव लिएर आँसु ॥
छु प्रेमको हृदयको गहिरो पिपासु ।
यो रङ्ग त्याग करुणा ! यति भन्छ आँसु ॥"
(५९)
यस्तै गरेर दुइ साथ रुँदै बसेका ।
देखेर दर्शक सबै दृगमा रुझेका ॥
केही उज्यालिन गए सब भै प्रसन्न ।
ती भेटघाटहरुले, दुइ देख्न धन्य ॥
(६०)
गर्छन् दुवै हृदयको गहिरो सह्रानी ।
सारा लिएर गहमा सुखसाथ पानी ॥
गद्गद् बनेर दिल क्यै अब सुँक्क सुँक्क ।
रुन्छन् त्यहाँ प्रणयको गतिले छुनाले ॥
(६१)
जो प्रेमको गति विचित्र छ सो बुझेर ।
छाया मिलेर दिल मानवमा अनौठा ॥
रुन्छन् सबै प्रकृत रोदनले खुशीको ।
ती दिव्य दिव्य क्षणका छवि झल्किनाले ॥
(६२)
दोटै उठे अब पुछीकन आँसुधारा ।
ती साथ साथ अब कश्यपका कुटीमा ॥
लाग्छन् पछाडि अनि राजकुमारचाहिं ।
आश्चर्यसाथ जननी -मुखतर्फ हेर्छन् ॥
(६३)
ऋषि अगाडि गईकन ती दुई ।
प्रणत छन् करजोरी खडा भई ॥
खुइलिईकन केश मुहारका ।
धवलश्मश्रु थिए अतितेजिला ॥
(६४)
अतिवयस्क तपोबल उज्ज्वल ।
नयन युग्म थिए तिमिरावृत ॥
कर छ दक्षिण सूर्य समर्पित ।
कुसुम एक लिई हलुकासित ।
(६५)
विपुल चन्दनदार निधारमा ।
निगम-आगमका सब सारमा ॥
त्रिशत आयु लिईकन शान्तिको ।
सुख कुटीरविषे रहँदा त्यहाँ ।
(६६)
गहन ध्यानविषे अहिले थिए ।
पलक बन्द गरीकन ती ऋषि ॥
नयनले मनको तर देख्दथे ।
सय कुरा र भने "बस" हातले ॥
(६७)
दुइ बसे अब सुस्त नजीकमा ।
नृपकुमार लिएर शकुन्तला ॥
मृदुमुना शिरका करले मृदु ।
मधुर स्नेह गरेर मुसार्दथिन् ।
(६८)
पलक बन्द गरेर त्यहाँ ऋषि ।
नजरले मनको सब देख्दछन् ॥
तब त्यहाँ उपदेश गरूँ भनी ।
वचन मिष्ट सुधासरि बोल्दछन् ॥
(६९)
"राजा ! यो विश्व साराकन नियमको एक छन् दिव्य शास्ता ।
सम्झी राज् गर्नु यौटा हृदय डर लिई गर्व टाढा गरेर ॥
सत्यैको रूप जानी उनकन मनले राख्नु श्रद्धा अनन्य ।
सेवाको भाव राख्नू जनहित नृपको ताज भन्ने बुझेर ॥
(७०)
यो यौटा राजनीति प्रबल बुझ तिमी सत्यको भित्र सारा ।
राज्यैको आयु होला जबतक त्यसमा ईश-सन्तोष होला ॥
घेरा चौडा गराए हृदयकन दिए सत्य चौडा विशाल ।
ज्यूनेछन् राज्य लामा कुसुम-निकर झैं स्वस्थ सौगन्ध चाल ॥
(७१)
प्रेमै हो सिर्जनाको प्रथम विधि यही विश्व-आधार जान ।
प्रेमै हो दिव्यताको मधुमय करुणा प्रेम हो विश्व-प्राण ॥
प्रेमैले मिल्छ तारा, यसकन सबको धर्मको तत्त्व जान ।
हेलाँ हो पाप भन्ने बुझ नृपवर यो प्रेम हो दिव्य गान ॥
(७२)
आत्मा जस्ता तिमी हौ, मधुमय सुषमा साथकी स्त्री यिनी हुन् ।
जाने सौन्दर्य तत्त्व-प्रचुर तप यहीं हुन्छ देखिन्छ सत्य ॥
सत्यैको मोहनी हो प्रकृतिबीच सबै माधुरी मोहनी यो ।
आत्मा बोलाउने भै वरिपरि छरिई डाक्दथे प्रेमद्वारा ॥
(७३)
आत्मा देखेर आफ्नो प्रभुकृत सुषमा मोहनीका चकोर ।
बन्छन् प्रेमी, हजारौं दुखसुखहरुका ली परीक्षा अघोर ॥
हामी रुछौं रुलाई तर हृदय सबै सोधिने यो क्रिया हो ।
यस्तो आनन्ददायी मिलन भइदिनू ईशको नै दया हो ॥
(७४)
स्वर्गैमा हुन्न शोभा हृदयकन नभै मेल यो शान्तिद्वारा ।
बिर्सन्छौ मोह पर्दा प्रकृतिकन भनी दिव्य सौन्दर्य सारा ॥
बिर्सेथ्यौ प्रेयसीको दिलकन जसरी शापले क्रोधमूर्ति ।
दुर्वासाको अगाडि प्रबल विधि त्यसै गर्दछन् विश्वभित्र ॥
(७५)
फर्की आएर हाम्रो स्मृति जब अघिको गर्दछे सत् प्रभाव ।
आत्मा यो रुन्छ दाँजी प्रकृतिपन लिई पापको क्रूर ताप ॥
छुट्दै जाँदा जगत्को सुरपुर विजया दिव्य आत्मा उज्यालो ।
भेट्छन् आखीर आफ्ना प्रियतम सुखले आँसु यस्तै बहाई ॥
(७६)
छोरा झैं मोहनीले मधुमय सुखको सम्झना यो सुषार ।
राखीछोड्छ् र भन्छे अलिकति गहिरी रूप वैराग्य-सारा ॥
पायौ जो मोहनी यि यिनकन गहिरी भावनाले बुझेर ।
बढ्नेछौ स्वर्ग राजा ! पछि सब सुरका वीर श्रेष्ठै बनेर ॥
(७७)
यो छोरो दिव्यदेही भरत पनि बढी दिव्य साम्राज्य लेला ।
बन्ला नामै जगत्मा अमर भरतको भारतै दिव्य पारी ॥
प्रेमैकी दिव्य नीति प्रबल नृपहरू वीरता ताँति-ताँति ।
तिम्रा सन्तान लेलान्, त्रिभुवनविजयी दिव्य होला भविष्य ॥
(७८)
जाऊ राज गर्न जाऊ बहुत दिन अझै देख्छु हे भूप ! बाँकी ।
हौला बूढा तपस्वी पछि पछि वनमा मालिनीतीर सम्झी ॥
हाम्रो जो आयु भन्ने समय भर परी सत्यको बस्छ नित्य ।
सोझो सद्भावनाले सहित अमरको ध्येयले सद् पवित्र ॥"
(७९)
यस्ता वाणी सुनेका मिलन-सुखविषे गद्गदाएर दोटै ।
जान्छन् विश्राम सिद्धी अलि दिन सुखको त्यो कुटीबाट रम्य ॥
आनन्दी भै बसे रे दुइ हृदय मिली राज्यमा कृष्ण-राधा-
जस्ता लाखौं उज्याला सुखसँग रसले प्रेमका भाँति भाँति ॥
(८०)
कुनिकुथीकन काव्य मिलाइयो ।
शठ थिएँ पटमा किन रङ्ग त्यो ॥
सकल आउँदथ्यो, सब निष्फल ।
हुन गए सरि लाग्दछ दुर्बल ॥
(८१)
म त रँगाउँदथें करुणा भए ।
सकल चित्र मनोहर यो घरी ॥
तर कृपा प्रभुको यतिकै थियो ।
नजरलाइ कसिङ्गर भो हरि ॥
(८२)
गुण भए मधुलिट्हरुको रस ।
विवशा छू नभएर भए कस ॥
तर झरे यदि आँसु सुखी पला ।
सुखसँगै रहने छ शकुन्तला ॥
(८३)
॥ इति ॥