Satya harihschandra katha/satya harishchandra katha
(१)
जस्का भुजा विच छ खङ्ग र पद्म कची ।
खप्पर् छ शोभित अती, कद विघ्न छोटी ॥
जस्को त नाउँ पनि भन्छन उग्र तारा ।
गर्छू प्रणाम गर आपति नाश सारा ॥
(२)
अत्यन्त घोर रुप वर्ण छ मेघ जस्तो ।
वाघाम्बरु छ कटिमा पनि वस्त्र जस्को ॥
नाच्ने पिएर मदिरा लिइ खप्परुमा ।
तत्पर् सधैं भगत लाइ सुखै दिनामा ॥
(३)
यस्तो जगज्जननि तारिणि लाई पैल्हे ।
गर्छु प्रणाम सब विघ्न हटोस ऐल्है ।
सम्पूर्ण विघ्न गणराज अगाडि आई ।
राखी दया म कन सर्व दिउन् हटाई ॥
(४)
प्रतापी हरिश्चन्द्र जी को चरित्र ।
सुनाऊ ऋषि यो कथा जो विचित्र ॥
अती सत्यवादी ति राजा रहेछन् ।
रिसाई ऋषीले कती दुख् दिएछन् ॥
(५)
कती आपत्ति तिन्महाँ पर्न आए ।
पछी अन्त्यमा के गरी स्वर्ग पाए ॥
सुनी प्रश्न यस्ता खुशी मानि मन्मा ।
बताऊन लागे सबै बात तिन्मा ॥
(६)
त्रिशंकू भनि नाम इक्ष्वाकु कुल्मा ।
थिए सत्यवादी र धार्मिष्ठ सब्मा ॥
हरिश्चन्द्र छोरा तिनीकै भएका ।
पिताकै सरि धर्ममा मन् दिएका ॥
(७)
थिए धन्य राजा! अती सत्य वादी ।
सबै रैति हेरु थिए बिघ्न राजी ॥
न पैल्हे थिए यी सरी धर्मि कोही ।
न होलान् पछी जानिल्यौ बात येही ॥
(८)
सुन्यौ सत्यका झैं ठुलो यो जगत्मा ।
अरु छैन केही बुझील्यौ मनैमा ॥
सहज् स्वर्ग लाने धरम् सब बखत्मा ।
गाईने हरिइचन्द्रका झैं सहज्मा ॥
(९)
हे राजन्! सुनिलेउ सत्य महिमा विस्तार गर्छू यहाँ ।
सत्यैले गरि कीर्ति अन्त्य रहने जानीलिनू सब् तहाँ ॥
धर्मै पूर्वक राज्य पालन सधैं गर्थे ति राजा अनि ।
सन्तान् क्वै नहुँदासँधै ति रहने अत्यन्त दिक्दार् पनी ॥
(१०)
एक्दिन् सामुभयेर रानि नृपकी यो बिन्ति गर्छिन् तहाँ ।
दुःखीछौं महाराज हामि बहुतै संतान् नहूँदा महाँ ॥
सोध्नूहोस् गुरुका गएर सँगमा कुन् कर्मले यो घरी ।
छोरो जन्मन जान्छ पूर्वजुनिको सम्पूर्ण बाधा टरी ॥
(११)
सन्तान्देखि रहित् भएर रहँदा भन्छन् अपुत्री भनी ।
मर्दामा पनि पिण्डपानि नमिली छुट्नेछ स्वर्गै पनि ॥
यस्तै धेर विलाप् गरेर दुखि भै रोइन् ति रानी अनि ।
संझाईकन रानिलाइ सब बात् ऊठे ति राजा पनि ॥
(१२)
पौंची आश्रममा वशिष्ठमुनिका सङ्मा सुध्याये तहाँ ।
हे सर्वज्ञ गुरो! कसोगरि हुनन् छोरा मलाई यहाँ ॥
राजाको सुनि विन्ति फेरि मुनिले भन्दाभये त्योघरी ।
होला पुत्र असल् उनै वरुणको भारी तपस्या गरी ॥
(१३)
यस्तो उत्तर पाइ निश्चय गरी गङ्गा किनारा महाँ ।
गै पद्यासन बाँधि नेत्र चिम्ली राजा बसे झट् तहाँ ॥
तिन्को त्यो दृढ ध्यान देखि खुशि भै साम्नै अगाडी भई ।
साह्रै कोमल बोलिले वरुण आज्ञा गरे यो तहीं ॥
(१४)
हेराजन्! तिमिदेखि खूशी म भएँ इच्छाभएको यहाँ ।
मागील्यौ वरदान दिन्छु अहिले तिम्रा अगाडी महाँ ॥
यस्तो बात सुनि सकी जलधिको अत्यन्त खूशी भई ।
हात्जोरीकन बिन्ति यो गरिलिये साम्ने महाँ ती गई ।
(१५)
संतान्छैन मलाइ हेवरुणजी! संतान् दिनूहोस् भनी ।
यस्तो विन्ती सुनिसकी वरुणले भन्दाभए फेर् पनी ॥
संतान्ता तिमीलाइ छैन नृपते! साँचो बताएँ यहाँ ।
छोराको मुखमात्र हेर्न दिउँला गर्नोस् प्रतिज्ञा यहाँ ॥
(१६)
तेही बालक यज्ञमा बलि गरी दिन्छौ भने त्यो घरी ।
होला दिन्छु कबोल यो गर तिमी हूँदैन दोस्रो गरी ॥
आज्ञा येती सुनीसकी वरुणको राजा परे शोकमा ।
चिन्ता व्याकुलभै कसोगरुँ भनी धैर्यै लिई चित्तमा ॥
(१७)
राजाले मनमा विचार् गरिलिये एसै कसोरि तरुँ ।
छोराको मुख देखि पितृ-ऋणता छुट्नेछ मेरो बरु ॥
केही बेर यही कुरो मनमहाँ संझी हरिश्चन्द्रले ।
माग्छू पुत्र भनेर निश्चय गरी गर्छू म भन्दा भये ॥
(१८)
वाचा सत्य गरी लिए वर दिई अन्तर् वरुण भै गए ।
राजा खूशि हुँदै तरें अब भनी घर्तर्फ फिर्दा भए ॥
रानी एकशये थिए सब कहे यस्तो भयो लौ भनी ।
तीमध्ये पटरानीले नृपति को झट् गर्भ बोकिन् अनी ॥
(१९)
राजा खूशि भई क्रमै सित सवै कर्मादि गर्दैगए ।
जोइच्छा मनमा थियो महिषिको त्यो खानलाइ दिए ॥
हर्षैले दश माश पूर्ण जब भो छोरो भयो सुन्दर ।
भारी उत्सव भो अनी शहरमा भो मङ्गलै मङ्गल ॥
(२०)
लावा चन्दन फूल फेर् अविरको वर्षा बहूतै भयो ।
वेद्पाठ् नाच र गान सब् सहरमा एक्एक घर्मा थियो ॥
राजाले पनि पुत्रदेखि मनमा अत्यन्त खूशी भये ।
गाईदान असंख्य द्रव्य द्विजमा दुःखीहरूमा दिये ॥
(२१)
थिये उत्सव धेर् तहाँ वरुणजी सामान्य जस्ता बनी ।
आये ती द्विज-रुपले नृपकहाँ के भन्छ यस्ले भनी ॥
राजन्! पुत्र भयो भनी खबर यो सूनेर आएँ यहाँ ।
संझी सत्यकबोल यज्ञ गरलौ छाडी अरू काम् यहाँ ॥
(२२)
आज्ञा सुनी वरुणको नृप हड्बडाई ।
बिन्ती गरे अघिसरी अधिकै डराई ॥
हे नाथ ! गर्दछु म यज्ञ तथापि रानी ।
सुत्केरिछन् म पनि छू अपवित्र जानी ॥
(२३)
पर्खी दिनोस् अवधि दीकन एक मास ।
गर्छू अवश्य अनि यज्ञ म हर्ष साथ ॥
बिन्ती सबै ति नृपको सुनि फेरि ताहाँ ।
भन्दा भए वरुण बात ति भूप माहाँ ॥
(२४)
जान्छु म लौ नरपते ! अब एक मास ।
दिन्छू मियाद न गरे पछि सत्यनाश ॥
येती भनी जलधि घर्तिर फर्कि आये ।
राजा खुशी भइ नुवारन गर्न लायो ॥
(२५)
हेरेर ज्योतिषजिले शुभ-लग्न थापे ।
त्यो राज पुत्र कन रोहित नाम राखे ॥
हर्षै थियो नृपमहाँ सुत लाइ पाइँ ॥
त्यो मास ता बिति गयो खबरै न पाई ॥
(२६)
आये पछि वरूणजी द्विज-रुप धारी ।
पूजा गरे नृपतिले गरि भक्ति भारी ॥
बिन्ती गरे वरुणका सँग दाँत आवस् ।
यो पुत्र यज्ञ पशु लायक होइ जावस् ॥
(२७)
दाँतै न उम्रि दिनु छैन बली भनेर ।
देखिन्छ शास्त्रहरुमा इ कुरा सुनेर ॥
बिन्तीगरे फिरि अलीदिन पर्खी दीनोस् ।
गर्न्यैछु यज्ञ शिशुको सब दाँत उम्रोस् ॥
(२८)
लौ लौ भनी वरुणजी अनि फर्कि आये ।
यस्तै प्रकार्सित पाँच पटक् अड्याये ॥
आखीर रोहितजिको व्रतबन्ध आयो ।
सूनेर बात् वरुणको मन हबडायो ॥
(२९)
भागी तहाँ वनमहाँ नृप-पुत्र धाए ।
खोजेर लेउ भनि दूतहरु धेर् पठाए ॥
यै बीचमा वरुणजी फिरि सामु आये ।
साह्रै डराइ नृपले सब हाल् बताये ॥
(३०)
अत्यन्त क्रोधित भयेर वरुण्जी ताहाँ ।
दीये शराप नृपमा उहि बीच माहाँ ॥
राजन् ! जलोदर भई अति दुःख पाए ।
यो श्राप दिई वरुण फर्कि दुरुन्त आए ॥
(३१)
लाग्यो दारुण शाप तत्क्षणमहाँ ग्रस्तै गर्यो रोगले ।
वैलाये नृप तेस माथि मनमा झन् पुत्रको शोकले ।
छोराले इ कुरा सुनेर वनमा जान्छू घरैमा भनी ।
लागे इन्द्र अगाडि गैकन अनि रोके नजाउ भनी ॥
(३२)
आत्मा हो सब प्राणधारिजतिको छोरो भनेको जती ।
हे बाबू ! अहिले गयौ यदि भने हूनेछ तिम्रो खती ॥
मर्छै निश्चय यज्ञमा पशु सरी तस्मात् नजाऊ वहाँ ।
भन्दा चित्त बुझ्यो बसे वनमहाँ वर्ष बित्यो एक् तहाँ ॥
(३३)
रोग ग्रस्त भई पिता अति दुखी छन् रे भनेको सुनी ।
लागे जान र इन्द्र गैकन फिरी रोके न जाऊ भनी ॥
राजा आकुल भै वशिष्ठगुरुमा सोधे गरूँ के भनी ।
यौटा केहि उपाय शोचि मनमा भन्दा भए ती मुनि ॥
(३४)
छोरो ब्राह्मणको किनेर महाराज् त्यो यज्ञ गर्नू पर्यो ।
छोरैहुन्छ किने पछी सुन नृपे ! शास्त्रोक्तकै बातहो ॥
यस्ता बात सुनी वषिष्ठऋषिको गर्छू म त्यै काम्भनी ।
तेस्तै ब्राह्मण पुत्र खोज्न भनी दूत् धेर् पठाये पनी ॥
(३५)
दुःखी ब्राह्माण कोहि एक घरमा थीए दरिद्री अती ।
थीए बालक तीन पुत्र[1] उनका आफू दुई दम्पती ॥
सल्लाहा गरि ज्येष्ठ बाबुतिर भो कान्छो उ आमातिर ।
बेचीनेतिर माहिलो हुन गयो बेची दिए आखिर ॥
(३६)
ल्याए ब्राह्मण-पुत्र कीनि घरमा मंत्रीहरूले जसै ।
राजाले पनि गर्छु यज्ञ भनि सब् ठीक्ठाक्गराए तसै ॥
बाँधे ब्राह्मण-पुत्र वेदविधिले त्यो यज्ञ खम्बा महाँ ।
लागे थर्थर काम्न बालक भने अत्यन्त डर्ले तहाँ ॥
(३७)
थाले ब्राह्मण-पुत्र रून भयले थीए तहाँ जो सुनी ।
लागे रून सबै दया हुन गई हा कष्ट के यो भनी ॥
बेला त्यो बलि दीनलाई जब भो ताहाँ कसैले पनी ।
आँटैगर्न सकेन के गरि गरोस् त्यो ब्रह्माघाती बनी ॥
(३८)
राजा आकुलमा परे अब कसो गर्नू मईले भनी ।
दीएनन् यसमा जवाब नुपका साम्ने कसैले पनी ॥
हात् जोडेर अघी सरेर झटपट् बाबू शुनःशेफको ।
लाग्यो भन्न म गर्दछु नरपते! धन्धा न होस् येसको ॥
(३९)
फेरि उत्ति मलाइ द्रव्य दिनुहोस् यो पुत्र गर्छू बध ।
यस्तो बोलि सुनेर त्यो निठुरको यो भन्न लागे सब ॥
हे चाण्डाल! अधर्मि निष्ठुर! पशू खुद् आफनै पुत्रको ।
बेचिस् लोभि भएर फेरि नपुगी वध्गर्नलागीस त्यो ॥
(४०)
हा हा! कष्ट वियोग हेरनु यहाँ के दुःख यस्तो भनी ।
कोलाहल् त गरे तहाँ सकलले साह्रै दयालू बनी ॥
विश्वामित्र अघी सरीकन तहाँ भन्दा भए हे नृर्प ।
योदुष्कर्म अयोग्य छोड विचरो रोयो हरे! बालक ॥
(४१)
राजालाइ यती भनेर मुनिले तेस्का नजीकै गये ।
येही मंत्र जपेस् भनी वरुणको एक्मंत्र शिक्षा दिये ॥
तेही मंत्र जप्यो तहाँ वरूणजी आए अगाडी अनि ।
राजालाइ भने खुशी छु बध यो पर्दैन गर्नू पनि ॥
(४२)
छोडी देउ हुनेछ पूर्णमख[2] यो त्योरोग जाला अबै ।
आज्ञा येति सुनी सकी वरुणको खुशी भए ती सबै ॥
छोडे बालकलाइ यज्ञ सकियो राजा हरिश्चन्द्रले ।
खूशी भैकन प्रार्थना जलधिको गर्दा भए नम्रले ॥
(४३)
लागे बालक भन्न हेरि सबमा बाँचे म मर्ने थिएँ ।
हे धर्मज्ञ समाजहो! भन तिमि कस्को म छोरो भएँ ॥
यस्तो प्रश्न सुनी सभासदहरू भन्छन् मुखामुख् गरी ।
बेचे ब्राह्मणले त पुत्र नृपकै भन्थे तहाँ एक थरी ॥
(४४)
भन्थे फेरि कती त यो वरुणको छोरो नियाँले भनी ।
यस्तै बीचमहाँ वशिष्ठ गुरुले भन्दा भए यो अनी ॥
है सर्वज्ञ ऋषीश्वरादिहरू हो! वेदादीको सम्मती ।
संझी भन्दछु येहि निश्चय गरी सुनेर लेऊ यती ॥
(४५)
बेच्ने बाबु अबश्य हुन्न किन्ने राजा पनी यो घरी ।
यज्ञैमा बलि दीनलाइ किन्ने बाबू भए के गरी ॥
विश्वामित्र पिता भए बुझनुहोस ज्यानै बचाई दिए ।
येसैले श्रृति-धर्म शास्त्र-विधिले बाबू ऋषि नै भए ॥
(४६)
यस्ता बात सुनी वशिष्ठ मुनिको होहो यही ठिक्भनी ।
सोही बात गराइ पूर्ण ऋषिको सम्पूर्ण बोले अनी ॥
विश्वामित्रजिले कुमार संग ली उठेर जाँदा भए ।
निम्तालू ऋषि जो थिए अरु पनी सम्पूर्ण फर्की गए ॥
(४७)
राजाको पनि रोग् छुट्यो खुशि भई आनन्दले रहे ।
कुमार् रोहितले सुनेर इ कुरा अत्यन्त खूशी भए ॥
आए झट् घरमा ति हर्ष मनले राजा हरिश्चन्द्र फेर् ।
पुत्रैका शिर सूँघि मेलन अनी गर्दा भए प्रेम धेर् ॥
(४८)
तन्मन्ले गरि राज्य पालन गरी राजा रहन्थे तहाँ ।
केहि दिन्पछि राजसूय गरने आरम्भ भैगो वहाँ ॥
राजाका गुरु ता वशिष्ठ मुनिनै आचार्य ताहाँथिए ।
वीधीपूर्वक यञ्च पूर्ण गरि फेर् सम्पूर्ण फर्की गए ॥
(४९)
दौलत् पाइ वशिष्ठजी खुशि भई जान्थे र बाटामहाँ ।
विश्वामित्र मिलेर सोधनि गरे जानू भएथ्यो कहाँ ॥
यो सत्कार कहाँ मिल्यो धन बहुत् कस्ले दिएको भनी ।
यस्तो प्रश्न सुनी व्रशिष्ठमुनिले सारा बताए अनी ॥
(५०)
दाता सत्य प्रतिज्ञ धार्मिक तिनै राजा हरिश्चन्द्रले ।
ठूलो यज्ञ गरे खुशी अति भई पूजा गरे भक्तिले ॥
बुझ्नोस् तीसरि कोहिछैन अहिले दाता दयालू पनी ।
साँचो बोलनमै छ सत्य तिनको भन्नै सह्रानी सुनी ॥
(५१)
विश्वामित्र महाँ पुरानु नृपको बैरत्व हूँदा वहाँ ।
येसै कारणले गराउन भनी झूठो प्रतिज्ञा तहाँ ॥
मन्मा सोचि उठेर जल्दि वनमा आएर ती कौशिक ।
पूगी आश्रममा बसेर तिनले माया गरे निर्मित ॥
(५२)
योटी सुन्दर रुपकी उ अबला रोई रहेकी पनी ।
राजा गर्न शिकार तेहि वनमा घुम्दै पुगेछन् अनी ॥
सोधे सत्य दया लिएर मनमा को हौ नि हे सुन्दरि ।
कस्ले दुःखदियो र यो वनमहाँ रुन्छ्यौ तिमी यो घरी ॥
(५३)
प्रश्रै येति सुनी सकी नृपतिको नारी अगाडी सरी ।
लागी भन्न सबै कुरा ऋषि यहाँ बस्छन् तपस्या गरी ॥
मेरा आश्रमका नजीक तँ नबस् बिग्रन्छ मेरो तप ।
भन्छन् दुःखदिई मलाइ दिनदिन् काहाँ मजाऊँ अब ॥
(५४)
राजाले यति बात् सुनेर ति उपर् लागेर ठूलो दया ।
दौडी आश्रममा गएर ऋषिथ्यैं यो बात भन्दाभया ॥
हे ब्रह्मन्! तप छोडिदेउ अहिले मन्मा भएको जती ।
दिन्छू यो तपले सबै वरिपरी बाधा भयो धेर् अती ॥
(५५)
राजा येति भनी फिरे घरमहाँ पाए निहूँ यो पनी ।
ताहीं कौशिकले गरे छल फिरी अत्यन्त क्रोधी बनी ॥
मायाले गरि एक् बँदेल बलियो ताहाँ बनाई अनी ।
राजाको फुलवारि नाशन भनी जल्दी पठाए पनी ॥
(५६)
दौडी बँदेल सब त्यो फल-फूल बारी ।
नाश्यो सबैतिर घुमि-घुमि लात मारी ॥
लागे धपाउन सबै रखबार आई ।
हा हा! गरे सकल गै उ बँदेललाई ॥
(५७)
झन् उफ्रि धम्किदिइ मानि ताकि धेरै ।
दाह्रा निकालि थुतुन धसि बारबारै ॥
देखि उपद्रव ठुलो रखवार् डराये ।
दौडी गएर नृपमा सब हाल् बताए ॥
(५८)
दूतका बात सुनेर भूप मनमा आश्चर्य मान्दा भये ।
आफैनै गई मार्छु तेस्कन भनी झट्पट् दगुर्दै गये ॥
छाडे बाण छिटो बँदेल कन ता लागेन उफ्रीगयो ।
चम्केको बिजुली सरी भइ छिटो भागी विपत्ता भयो ॥
(५९)
घोडामा चढि झट् गये पछिलिई धेरै सिपाही तहाँ ।
ठूला झाडि महाँ पुगेर छलिए कोही रहेनन् वहाँ ॥
बाटो बिर्सि यताउती घुमिरहे मीले अगाडि मुनी ।
विश्वामित्र ऋषी भुलाउन भनी थीये डुलेका अनी ॥
(६०)
मायाले गरि ताहीं आश्रम पनी चाँडै तयारी गरी ।
राजालाइ बसाइ आश्रममहाँ सोधे अगाडी सरी ॥
राजन्! ब्राह्मण हूँ मता यसघरी आफू कता हो किन ।
एक्लै यो वनमा सवारि हुनु भो कोही अरू देखिन ॥
(६१)
यस्तो प्रश्न सुनेर ई नृपतिले साँचै बताए तहाँ ।
यस्तो भो छलिएँ मता वनमहाँ आई पुगेछू यहाँ ॥
आशा पूर्ण गराउने सकलको राजा हरिश्चन्द्र हूँ ।
झूटो काम कदापि गर्दिन कहीं धेरै कुरा के कहूँ॥
(६२)
दिन्छू दान तपाईंलाइ पनि लौ इच्छा के को भनी ।
बोले बात सुनेर ब्राह्माण तहाँ सारै चतूरा बनी ॥
हे राजन्! यिकुरा वशिष्ठ मुनिले भन्थे मलाई वहाँ ।
दाता सत्य हजूरका सरि अरू छैनन् जगत्भर् महाँ ॥
(६३)
छोराको छ विवाह हे नरपते! यै यज्ञशाला महाँ ।
दिनूहोस मलाई दान महराज् अच्छिन्न होला वहाँ ॥
यस्ताबात सुनी नुहाइ शुचि भै भन्छन् अगाडी सरी ।
इच्छामाफिक आज दान दिउँला भन्ने कबोलै गरी ॥
(६४)
इच्छा भंग कदापि गर्दिम म लौ उस्मा पनी ब्राह्मण ।
मैले आज तलक् गरीन द्विजको आशा कहीं लंघन ॥
इच्छा के मनमा छ माग्न अहिले राखेर भक्ती तहाँ ।
मागी लीनुहवस् म दिन्छु अहिले मागेजती सब् यहाँ ॥
(६५)
यो बात् सुनी कपट धेर् लिइ चित्त माहाँ ।
भन्दा भए अनि कबोल गराइ ताहाँ ॥
मन्मा भयो विभव पाउन राज ऐल्हे ।
दीनू हवोस महराज्! सब राज्य पैल्हे ॥
(६६)
यस्ता बात् सुनि क्यैविचार नगरी आफ्नू भएको तहाँ ।
दीए राज्य समेत दान द्विजमा खुशी भई मन्महाँ ॥
बोले ब्राह्मण भूयसी पनि दिनोस् जो दानका अन्तमा ।
दीनू पर्दछ पूर्ण दान फलको निम्ती छ त्यो दक्षिणा ॥
(६७)
कीता निष्फल दानको गर तिमी की भूयसी त्यो गर ।
भन्दा दिन्छ भनी कबोल गरि ती फर्केर आये घर ॥
रानी लाइ कहे भए जति कुरा यस्तो गरें लौ भनी ।
भोलीपल्ट भयो विहान नहुँदै आईपुगे ती मुनी ॥
(६८)
लौ राज्य मेरो अब छोडि देऊ ।
जो भूयसी बाँकि छ जल्दि देऊ ॥
की ता भयो दिन्न भनी जवाफ ।
देऊ तिमी लाइ म दिन्छु माफ ॥
(६९)
घुर्की सुनी यो अधिकै डराई ।
बिन्ती गरे यो तहिं जल्दि आई ॥
झूटो प्रतिज्ञा कसरी गरूँला ।
झूटो हुनू चाहिं बरू मरूँला ॥
(७०)
गर्नू हवस् राज्य म छोडि दिन्छू ।
रानी र छोरो कन साथ लिन्छू ॥
काशी पुरीमा गइ बस्छु ताहाँ ।
केहि पछी आउनु होस वाहाँ ॥
(७१)
दीनेछु त्यो भूयसी बाँकि लाई ।
भाका दिनू पर्छ यहाँ मलाई ॥
येती सुनी केहि दियेर भाका ।
निस्केर आये सब छोडि राजा ॥
(७२)
रानी पनी ती सुखमा रहेकी ।
दुःखी सरी भै कन ती गयेकी ॥
छोरो पनी आँशु खसाइ रून्छ ।
हा दुःखा! यस्तो अरु कौन हुन्छ ॥
(७३)
रोए छाति पिटी प्रजाहरु सबै अत्यन्त दुखी भइ ।
यस्ता धार्मिकले पनी त अहिले ई दुःख पाए गई ॥
काशीमा पुगि ती नुहाइ पहिले तेही पुरीमा रहे ।
मैले अब् कसरी तिरूँ ऋण भनी कोशीस गर्दै थिए ॥
(७४)
विश्वामित्र ऋषि उसै बखतमा आए अगाडी अनी ।
देऊ भूयसीदक्षिणा अब तिमी भाका पुग्यो लौ भनी ॥
भन्दा गैकन हात जोरि विनती गर्छन् डराई अती ।
भाकाको दिननै पनी ऋषिपते! बाँकी छ आधा जती ॥
(७५)
यै आधा दिनलाइ फुर्सत दिनोस् राखी ममाथी दया ।
भन्दा हुन्छ त फेरि आउँछु भनी फर्केर जाँदा भया ॥
विश्वामित्र तहाँ यती भनि गए राजा परे दुःखमा ।
लागे गर्न विचार पर्छु अबता तिन्का कडा झोकमा ॥
(७६)
एक्ता ब्राह्माणको ऋणी भइ मरे होला गती के अनी ।
बेचिन्छू बरु नै मलाइ किन्ने होला कि कोही धनी ॥
तेसै लिन्न पराइको धन म ता ल्याएर दीए पनी ।
यो ब्रह्मस्व कसोगरीकन तिरूँ हा दैव! मैले भनी ॥
(७७)
चिन्ताग्रस्त भई गिरे नृप जसै रानी अगाडी गई ।
भन्छिन् हे महाराज! धैर्यलिनुहोस् के पुग्छ चिंतित् भइ ॥
झूटो भै कन धर्म छोडनु कसै हूँदैन साँचो बनी ।
दीनू पर्दछ दक्षिणा अब कतै बेची मलाई पनी ॥
(७८)
यति सुनि कन राजा हा! भनी छाती ठोके ।
सहन नशकि रूँदै भूमिमा फेरि लोटे ॥
गहभरि गरि आँसू स्वामिको दुःख देखी ।
सहन न सकि रोयिन् हा! भनी छाति ठोकि ॥
(७९)
लडि बडि गरि रून्थ्ये पुत्र रोहित फेरी ।
दुख पनि कति दिन्छौ हा! विधाता! निठूरी ॥
नृपतिकन बुझाई भन्दछिन् फेरि रानी ।
प्रियतम! अब चिन्ता लीनु हो व्यर्थ जानी ॥
(८०)
उठि कन धन काहीं मिल्छ की माग्न जानोस् ।
झटपट कि मलाई नै कतै बेच्न लानोस् ॥
पछि त हजुरलाई पुत्र यो चाहिन्यै छ ।
अब त मकन बेचे द्रव्य धेर् पाइन्यै छ ॥
(८१)
राजा यति सुनि सकी कन धैर्य धारी ।
भन्दा भए सब कुरा मनमा विचारी ॥
हे प्यारि! क्षत्रिय भई कन दान दीनू ।
यै धर्म हो कसरि गैकन मागि लीनू ॥
(८२)
दीनू सिवाय लिनु होइन धर्म हाम्रो ।
यो सत्यनाशा हुन जान्छ पछी न राम्रो ॥
यस्तो मलाइ तिमिले न सिकाउ रानी ।
यो काम गर्दिन कसै म अयोग्य ठानी ॥
(८३)
मर्नू निको अरु हुँदैन लिनू यसोरी ।
बेचूँँ लगेर तिमिलाइ अहो! कसोरी ॥
बेचिन्छु मै बरू प्रिये! तिमि पुत्र लाई ।
पालन् गरेर बस दुःख परोस् मलाई ॥
(८४)
*विलाप*
अहो! दीन कस्तो फिर्यो लौ मलाई ।
कसोरी लिनू बेचि मोल् प्यारी लाई ॥
मरेकै सरि जन्म भो आज मेरो ।
विपत् रानिको आज भो झन् नराम्रो ॥
(८५)
छुरी लीइ धस्नू बरू छाति माहाँ ।
असल् हो भनि ठान्दछु आज याहाँ ॥
कसोरी यि प्राण्प्यारिको कष्ट हेर्नू ।
अहो! दैव अैल्हे गरिस् लौ नगर्नु ॥
(८६)
यती कष्ट भोग्नू पर्यो सत्य थाम्दा ।
अरू दुःख के हुन्छ यो देखि बढ्ता ॥
भयो आज यस्तो दशा यी प्रियाको ।
थियो सार जुन् माथि तेहि छुटि गो ॥
(८७)
यस्तो विलाप गरि गरी अति छाति ठोकी ।
रूँदा भए धुरू धुरू दुइ हात टेकी ॥
छैनन् अधम् म सरिका अरू हे पियारी ।
गर्नू असत् चाहिं म छू मरनै तयारी ॥
(८८)
भोग्नु पर्यो अधिक दुःख यहाँ मलाई ।
गर्दा झुटा उहि हुनेछ पछी कमाई ॥
यस् निम्ति डर्दछु प्रिये! म अधर्म देखी ।
भोग्दैछु पूर्वकि कमाइ कती न राखी ॥
(८९)
यस्तै बात हुँदै थिए ऋषि पनी आए अगाडी तहाँ ।
भन्छन् भूप! मियाद् दिएर अबता जान्थें म तेसै कहाँ ॥
चौथाई दिन बाँकिमा त नदिए श्रापै म दीन्छू यहाँ ।
येति हप्कि सुनाइ कौशिक फिरी फर्की गये फेर् वहाँ ॥
(९०)
रानीले पनि दिक्कमानि अधिकै भन्दी भइन् यो अनी ।
हेनाथ! छैन मियाद श्राप ऋषिले दिन्छन् अवश्यैपनी ॥
छोरो पाइ सकेकि छू म नभई हुँदैन खाँचो रती ।
ऐह्लै बेचि मलाइ धन् दिनु हवस् छाडेर चिन्ता जती ॥
(९१)
हा! कष्ट राजा अति दुःख मानी ।
बेच्नै भनी साथ लियेर रानी ॥
वज्रै सरीको मन पारि पैले ।
जाँदा भये ऊठि बडा बलैले ॥
(९२)
क्यै दूर गै उच्च गरेर बात ।
किन्छौ कुनै दासि म बेच्छु एक ॥
चाण्डाल् सरीको म छु सूनि लीनोस् ।
शास्त्रोक्तको मोल मलाइ दिनोस् ॥
(९३)
विश्वामित्र ऋषि कुनै धनि बनी आये अगाडी वहाँ ।
दासी किन्छु मलाइ देउ अहिल्यै दिन्छू रुपैञा यहाँ ॥
को हौ स्त्री किन बेच्तछौ तिमि भनी येती भनेथे जसै ।
राजा उत्तर क्यै न दीकन तहाँ चुप्चाप लागे तसै ॥
(९४)
शास्त्रोक्तको मोल् सब ताहिं दीये ।
ती रानिलाई तहिं कीनि लीए ॥
ली जान लागे अति रोइ रोई ।
लाग्यो पछी पुत्र पनी त ताहीं ॥
(९५)
रानी अगाडी सरि हात जोरी ।
भन्दी भइन् ती ऋषिलाइ हेरी ॥
हेनाथ! यो पुत्र पनी लिनू होस् ।
शास्त्रोक्तको मोल जती दिनू होस् ॥
(९६)
छोड्दैन केही गरि यो मलाई ।
छोडूँ कसोरी म पनी त हाइ! ॥
येती सुनी पुत्र समेत लीए ।
दश्कोटि तेस्को पनि मोल दीए ॥
(९७)
गहभरि गरि फेरी आँशु बर्-बर् चुहाई ।
लिइ कन पछि छोरो स्वामिका सामु जाई ॥
दुइ चरण समाती भन्न लागिन् ति रानी ।
हजुर रहनु होला कत्ति चिन्ता न मानी ॥
(९८)
विनय यहि म गर्छू जो जती धर्म-कर्म ।
शक भर गरिएको आज सम्मन् सुकर्म ॥
उहि सकल सखा भै जन्म जन्मान्त लाई ।
हजुरकि भइ दासी बस्न पाऊँ म जाई ॥
(९९)
*रानीको विलाप*
अहहा दैव! कती नि हामि लाई ।
दुख दीयौ अहिले बिछोड् गराइ ॥
पतिको पाउ यसै कसोरि छोडी ।
अहहा जानु कसोरि प्रेम तोडी ॥
(१००)
भई दासि कसोरि स्वामि लाई ।
अब छोडूँ कसरी म के चिताई ॥
यस जन्म महाँ हुँदैन भेट ।
पछि जन्मान्तरको मिलान के छ? ॥
(१०१)
तर सत्य न छोडि जान्छु ऐह्ले ।
यतिमै सत्य कसोरि छोडुँ मैले ॥
पतिकै छ मलाइ फिक्रि भारी ।
कसरी राज हुनेछ छोडि नारी ॥
(१०२)
बिकीगो पुत्र त साथ् लिएर जान्छू ।
मुख हेरी यसलाई दीन काट्छू ॥
अब अन्तिम यो बिदा मलाई ।
दिइ बक्योस् अब नाथ, देर् न लाई ॥
(१०३)
राजा केहि जबाफ दीन नसकि मूर्छा परेकै थिए ।
लौलौ हींड, भनी लछारि धनिले लीएर जाँदा भए ॥
मूर्छाबाट बिऊँझि खप्न नसकी अत्यन्त दुःखी बनी ।
लागे छाति पिटेर रून बहुतै हा पुत्र रानी, भनी ॥
(१०४)
*राजा को विलाप*
अहहा! प्राण पियारि मेरी रानी ।
अह रोहीत ! पियार पुत्र नानी ॥
तिमि दूबै नहुँदा कसोरि बाच्नू ।
धिक मैले त असल् हुनेछ मर्नू ॥
(१०५)
तर कर्म कसोरि छोडुँ ञाहाँ ।
ऋषिको द्रव्य दिनूछ बाकि वाहाँ ॥
तिमिमा धन्य प्रिये, रहेउ आँट ।
सहजै छोडि गयौ नि मेरो साथ ॥
(१०६)
अब ता भेट हुनेछ फेरि काहाँ ।
प्रिय, एक्लै कसरी बसौं म ञाहाँ ॥
न बसौं, जाउँ उठेर फेरि काहाँ ।
विधि हे, गर्नू गरिस् मलाइ ञाहाँ ॥
(१०७)
यै बीचमा कौशिक फेरि आयी ।
भन्दा भये देउ दिने मलाई ॥
राजा उठी द्रव्य अगाडि राखे ।
फेरी उनीले अरु अत्तु थापे ॥
(१०८)
पायेर धन् कौशिक सामु जाई ।
भन्दा भये भूपति लाइ ताहीँ ॥
राजन् ! यि राज्सूयकि दक्षिणा यो ।
पाएँ, अरू देउ उ भूयसी पो ॥
(१०९)
दीने विचार् छैन भने जवाफ ।
देऊ दिनेछु तिमीलाई माफ ॥
की ता शराप् दिन्छु भनेर घुर्की ।
देखाइ धन् लीइ गये ति फर्की ॥
(११०)
त्यो दक्षिणा द्यूँ अब लौ कसोरी ।
मन्मा विचारेर कुरा यसोरी ॥
युक्ती कतै केहि न देखिंदामा ।
दु:खी भये भूपति धेर मन्मा ॥
(१११)
लामू श्वास गरी उठे वरिपरी हेरेर भन्छन् तहाँ ।
बेचिन्छू अब मै मलाइ किनने छौ कोहि आवो यहाँ ॥
यो संकल्प बुझेर धर्म नृपको गर्छू परीक्षा भनी ।
आये घोरस्वरूप धारण गरी चाण्डाल जस्ता बनी ॥
(११२)
किन्छू लौ म तँलाइ दिन्छ रुपिञा हो मोल तेरोकती ।
भन्थ्यो त्यो उहिबीचमा ऋषिपनी आए रिसाई अती ॥
चाँडो देउ मलाइ दिन्न अबता भाका र खावा पनी ।
यस्तो हप्कि सुनी भने नृपतिले अत्यन्त दुःखी बनी ॥
(११३)
हेब्रह्मन्, अति नीच यो छ कसरी यस्को कमारो म हूँ ।
राख्नूहोस् तपाइँ कै म त बरू सेवा टहल्मा रहूँ ॥
आज्ञामाफिक दास भै सकल काम् गर्नेछु साम्ने रही ।
भन्दामा ऋषिले ठुलो कपट ली भन्दा लौ तहीं ॥
(११४)
आफ्नू दास गरीसकेर अनि त्यो चाण्डाललाई तहाँ ।
भन्छन् यो लिइजा मलाइ रुपियाँ चाहिन्छ लौ दे यहाँ ॥
सूनी रत्न, सुवर्ण चाँदिहरुको थुप्रो लगाई दियो ।
कौशिक्लाइ खुशी गरी श्वपचले राजा कमारो लियो ॥
(११५)
जस्सै धन् ऋषिले लिए नृपतिका शिर्मा तहीं पुष्पको ।
वर्षा भो सुरलोक देखि बहुतै बाजा बज्यो धूमको ॥
आकाश्वाणि पनी नृपतिले सुन्दा भए यी कुरा ।
हे राजन् । अऋणी भयौ अबतिमी तिम्रोवचन् भोपुरा ॥
(११६)
विश्वामित्र प्रशस्त धन् मिलि तहाँ खू भयी गैगये ।
राजालाइ पनी त तेहि डुमका साथ्मा लगाई दिये ॥
दूईचार लगाई बेत पहिले नेल् हत्कडी सब् धरी ।
सास्ती धेर दिंदो भयो श्वपचले[3] राजा पनी त्यो वरी ॥
(११७)
शोक्ले ग्रस्त भई प्रिया सुत भनी चार टीन भोकै रहे ।
पाँचौं दीन बिहान भो जब तहाँ नेल्देखि खुल्दा भयो ॥
बोलाईकन सामु लाल नजरले यो भन्छ चांडाल् तहाँ ।
काशी दक्षिणभागमा अतिठुलो जान्नू मशान् एक्वहाँ ॥
(११८)
ताहीं गैकन हुन्छ जौन रितले मीलोस् तही कर् लिनु ।
यो लाठी विरवाहको भनि तहाँ सब्मा सुनाई दिनु ॥
आज्ञापाइ ति भूपती पनि गये कस्तो मशान् त्यो भने ।
देख्तैमा पनि प्राणि मात्र सबमा विह्वल् गराई दिने ॥
(११९)
स्यालकुत्ता अनि गिद्धलेसहित भै जुन्मूर्तिमा वास्लिने ।
आधा अङ्ग जलेर खालि भुमिमा मुर्दा कहीं देखिने ॥
जल्दैछन्कतिजल्नलाठिकछन्स्याल्गिद्ध खान्छन्कती ।
कोहीमर्न तयार छन्जलमहाँ रुन्छन् कती ता बसी ॥
(१२०)
यस्तो अद्भुत त्यो मशान बिचमा देखेर राजा तहीं ।
भन्छन् दैव! मलाइ कुन् करमले ल्याइ पुर्यायो यहीं ॥
अग्नी धेर भइ पहाड सरिको अग्लो तहीं देखिने ।
बोसो मस्किपरेर तेहि बिचमा चट्चट् अवाज् आउने ॥
(१२१)
यस्ता भूमिमहाँ बसी करलिई जम्बागरि जोड्दछन् ।
यो मेरो यति भूपको यति श्वपच्कोहो भनी राख्तछन् ॥
राजाको पनि भेष् श्वपच् सरि भई सोभाव मिल्दैगयो ।
यस्ता धर्मि भयेर ती नृपतिको भारी दशा भै गयो ॥
(१२२)
रात्रीमा निदछैन कत्ति नृपमा भोक् दीनमा एक् रती ।
थीयो चित्त प्रिया र पुत्रतिरनै तिन्को हमेशा मती ॥
थाङ्नू एक जडाउरी पनि बुचे भोटो लगाई तहाँ ।
मुर्दाका कपडा बटोलि दिन दिन् बोकेर जान्थे वहाँ ॥
(१२३)
गर्थे सोधनि के गरूँ अब भनी काँपेर ती थर्थरी ।
आज्ञा माफिक दास भै गरदथे जो आउँथ्यो काम् परी ॥
यस्तै चाल्सँग एक वर्ष शतझैं मानेर काटी लिए ।
रानी पुत्र त दुःखसागर महाँ सौंपी दिएकै थिए ॥
(१२४)
मैला लुगा सकल देह अतीव मैलो ।
दुर्गन्धले सकल युक्त शरीर भैगो ॥
दास् भै तहाँ श्रपचका सँगमा रहेका ।
हा कष्ट ! भूपति अति दुखमा परेका ॥
(१२५)
भन्छन् व्यासजि फेर् उतातिर पनी रानी र छोरा तहाँ ।
बूढा ब्राह्माणका परेर करमा काम् काज गर्थे वहाँ ॥
साथीका सँग राज-पुत्र वनमा खेल्दै गएका थिए ।
देखेछन् कुश फेर् उखेल्न भनी घारी विषे ती गए ॥
(१२६)
निस्क्यो एक विषालु सर्प र डस्यो रोहित् मरि गैगये ।
यो सम्चार भनौं भनीकन सबै फर्की ति बालक् गये ॥
सन्ध्याकाल हुँदा पुगेर सबले त्यो हाल् सुनाए जसै ।
हाहा! पुत्र भनी लडी बडि गरी ती रूनलागिन् तसै ॥
(१२७)
देखे ब्राह्मणले र झन्रिस गरी सोध्नूर खोज्नू कहाँ ।
लागे गालि गरेर भन्न अझ यो रुन्छे कती लौ यहाँ ॥
सन्ध्याकालमहाँ अलच्छिनिभई रुन्छेस् यसोरी भनी ।
यस्तो हप्कि सुनी डराइ बहतै विस्तार गर्छिन् पनी ॥
(१२८)
हे नाथ्! रोहित पुत्रलाई वनमा टोकेर[4] मार्यो अरे ।
जान्छू हेरन केहि फुर्सत दिए हाजीर हूँला भरे ॥
बारम्बार विलाप यो गरि गरी भन्दी भईन् तैपनी ।
गर्थे गालि अतीव निष्ठुर बनी हूँदैन जानू भनी ॥
(१२९)
साह्रै ढीपि गरिन् र काम घरको चाँडो सकी जा भनी ।
आज्ञा पाइ गएर कम जति हो रूँदै गरिन् त्यो पनी ॥
आधारातभएछ काम सक्दा निस्की गइन् रातमा ।
हाहा! कष्ट! थिएन साथि अरको कोही पनी साथमा ॥
(१३०)
मृतक पुत्र उ रोहित थ्यो जहाँ ।
पुगि विलाप अघोर गरिन् तहाँ ॥
मृतक होइन यो भनि भानले ।
लिइ झुराउँदथिन् अति प्रेमले ॥
(१३१)
किन मलाइ यसोगरि शोकका ।
उदधि[5] बीच डुबाउँदछौ नि हा! ॥
उठ साहस गरी अब बोल बा ।
तिमि बिना म कसो गरि बाँचु हा! ॥
(१३२)
कति कती अरु कष्ट हुँदापनी ।
बिरसियो सब दुःख तिमि भनी ॥
हुन गयो तिमिमा पनि यो गती ।
शिव! हरे । परनू कति आपती ॥
(१३३)
सकल लक्षण युक्त छ यो भनी ।
भनदथे अघि ज्योतिषिले पनी ॥
उ पनि व्यर्थ भएर गयो कता ।
खपि न शक्नु भयो प्रिय-पुत्र हा! ॥
(१३४)
विधि पनी किन हो अति निर्दयी!
कति सजाय दिनू निठुरी भई
अझ उता पति को गति के भयो ।
म नहुँदा कसरी रहनू भयो ॥
(१३५)
उठन बाबु मलाइ मुमा, भनी ।
हृदय शान्त गराउ उठी तिमी ॥
कसरि बाँचु म बाबु, तिमी बिनू ।
निठुर दैव, तँलाइ कसो भनूँ ।
(१३६)
कस्तो नसिब् दुःखि रहेछ मेरो ।
छोडी गयौ बाबु नि, सङ्ग मेरो ॥
भोगें यती दुःख तिमि पुत्र भन्दा ।
मिथ्या भयो त्यो पनि छोडि जाँदा ॥
(१३७)
बाँच्ने मलाई अब सार छैन ।
हुनू जती भो अब बाँकि छैन ॥
हा हा! बिधाता, तिमिलाइ मैले ।
क्यै काम् न गर्नू त गरीन कैले ॥
(१३८)
आजै तलक् मेरि यि झूटि नाता ।
थिए छुटी सर्व भए विनाता ॥
विष् पान् गरी मर्दछु आज याहाँ ।
मर्छू बची सार् अब छैन याहाँ ॥
(१३९)
यस्तै विलाप् धेर गरेर रानी ।
भन्छिन् तहीं ऊठन बाबु! नानी! ॥
क्यै होस् नपाई अति शोक गर्थिन् ।
ऊठाइ धेर् चुम्बन मात्र गर्थिन् ॥
(१४०)
त्योबिच् रात्रिमहाँ विलाप्अति गरी रुन्थिन् यसोरी तिनी ।
चाल्पाएर सबै उठीकन गए को रुन्छ हेरौं भनी ॥
जम्बू स्याल कराउँथे वरिपरी डर् क्यै न मानी तहाँ ।
नारी एकलि रातका बिच बसी रोई रहेकी वहाँ ॥
(१४१)
देखे ती सबले र शोधनि गरे आश्चर्य भै यो घरी ।
कोह्वौ के हुनगो र यस् तरहले रुन्छ्यौ विपद् के परी ॥
धेरै पल्ट यसोरि सोधनि गरे को ह्वौ बताऊ भनी ।
रोइन् उत्तर केहि दीन नशकी अत्यन्त दुःखी बनी ॥
(१४२)
शङ्का आपसमा गरे सकलले यो डंकिनी हो यहाँ ।
बस्थी यो किन नत्र निर्भय भई यो मध्य-रात्री महाँ ॥
योहो बालक घातिनी अब यहाँ हूँदैन राख्नू भनी ।
पक्री केश लछारदै नगरका बाहिर् पुर्याए अनी ॥
(१४३)
हाहा! कष्ट! हरे! उही श्वपचका सामू पुर्याई दिए ।
मार्नू पर्दछ डंकिनी अब भनी सल्लाह गर्दा भए ॥
हे चाण्डाल! रहीछ यो शहरका बालक्विनाशी भनी ।
पक्र्यौं बालकघातिनी अधम यो हो मार्न योग्यै पनी ॥
(१४४)
यस्ता बात सुन्यो र त्यो श्वपचले यस्लाइ लौ काट्भनी ॥
दीयो खङ्ग तथापि आँट्ननसकीभन्छन्तद[6] काँतर्बनी ॥
हे चाण्डालपते । अह्राउ गरूँला जो काम होला अरू ।
यस्तो काम कदापि गर्दिन मता यो प्राण जावस् बरु ॥
(१४५)
मार्नू काम अयोग्य हो तर पनी तिम्रा हकुम्ले गरी ।
औरै कोहि भए म तत्पर भई मार्थे अगाडि सरी ॥
एक्ता ज्यान लिनूछ कर्म घटिया कोही हवस तापनि ।
उस्माथी पनि स्त्री र ब्राह्मण[7] इता कस्तै हउन् तापनि ॥
(१४६)
मार्नू छैन अवध्य छन् बुझ तिमी हुँदैन यो सर्वथा ।
जावस् ज्यान बरू म दिन्छु बदला गर्दीन योकाम् मता ॥
यस्ता बात सुनीसकी स्वपच त्यो केही रिसाईकन ।
लाग्यो भन्न तँलाइ यो सब कुरा वास्ता छ के दुर्जन ॥
(१४७)
मेरो चाकरहोस् म भन्दछु जसो तेसो तँगर् लौ यहाँ ।
मान्दैनस् यदि पीटनेछ छडिले बाँधेर खम्बा महाँ ॥
नारी ब्राह्मण मार्नुछैन छनता हो जान्दछू मै पनी ।
दुस्कर्मी छ भने उ मारन महाँ लाग्दैन दोष् क्यै पनी ॥
(१४८)
यो हो बालकघातिनी मुलुककी यस्लाई मार्दा महाँ ।
रक्षा हुन्छ ठुलो मुलूक भरिको क्यै छैन शङ्का यहाँ ॥
मेरो नोकर भै बडो विदुर झैं गर्छस् कुरा ज्ञानका ।
जो भन्छू उहि गर्नुपो परदथ्यो कस्तो घमण्डी तँता ॥
(१४९)
ला यो खङ्ग न मारि हुन्न अब काट् येती भनेथ्यो जसै ।
हाहा! ! कष्ट! भनेर खङ्ग करमा लीये करैले तसै ॥
रानी हुन् भनि होश छैन मनमा तेस्तै ति रानी पनी ।
राजाहुन् इ भनेर कत्ति नचिनी क्यै भन्नलागिन् तिनी ॥
(१५०)
मेरो पुत्र मरी रहेछ उ यहाँ लीएर आऊँ अनी ।
काटौला तिमिले मलाई भनि ती फर्केर आइन् पनी ॥
थीयो प्राणवियोग पुत्र उ जहाँ दौडैर ताहाँ पुगिन् ।
रूँदै लाश उठाइ रात्रि बिचमा फेरी मशान्मै गइन् ॥
(१५१)
ताहाँ सम्म थिएन ज्ञान दुइमा राजा र रानी भनी ।
हाहा! पुत्र! भनेर छाति पिटदै खुब् रूनलागिन् अनी ॥
अर्काकी करिया भएँ तर पनी मानीन गाह्रो रती ।
ए बाबू, मन यो बुझाउँ कसरी तिम्रो हुँदा दुर्गती ॥
(१५२)
राजाको पनि के छ हाल हविगत् देख्नू न सुन्नू भयो ।
कस्तो पाप अघी गरीछु र यहाँ यो दुःख आई पर्यो ॥
हाहा! प्राणपियार! हा! यति भनी लोटन् भुमीमा जसै ।
रानी पुत्र भनी चिन्ही नृप पनी मुर्छा परे ती तसै ॥
(१५३)
केही बेर् पछि होस भैकन उठे राजा र रानी पनी ।
लागे गर्न विलाप बसेर ति दुवै हा! पुत्र, रोहित् भनी ॥
राजाको गति यो बुझेर मनमा झन् दुःख लागीकन ।
धिक्कार् दैव! भनेर छाति पिटदै लागिन् बराबर् रुन ॥
(१५४)
राजाले पनि आफनू सब कुरा यस्तो भएको भनी ।
रानीलाई कहे बिलाप गरदै अत्यन्त दुःखी बनी ॥
रानीले पनि पुत्रका मरणको विस्तार सारा कहिन् ।
रूँदै छाति पिटी ठहर्न नसकी फेरी ति मूर्छा भइन् ॥
(१५५)
मूर्छा देखि उठेर सुस्त स्वरले खैंचेर मन् त्यो घरी ।
खोली नेत्र गरेर साहस ठुलो भन्छिन् अगाडि सरी ॥
हेनाथ्! सत्य र धर्म पालनपछी लाग्दा यती भैग्यो ।
छोड्नूछैन तथापि सत्य छ ठुलो पर्ने जती भैगयो ॥
(१५६)
चल्नू पर्दछ स्वामिका खटनमा यै धर्म थाम्ने भया ।
काटी दीनु हवस् मलाइ अहिले कत्ती नराखी दया ॥
रानीका यति बात वज्र सरिका सूनी लिएथे जसै ।
ठूलो चोट पर्यो र वज्र सरिको लोटे जिमिन्मा तसै ॥
(१५७)
केही बेर पछी उठी गह भरी आँशू गराई तहाँ ।
भन्छन् मर्छु चितामहाँ सुति सँगै यो देह पोली यहाँ ॥
जाऊ मालिकको टहल् गरिरहू आज्ञा न चूकी रती ।
साँचो धर्म छ ता कुनै जनममा योग होला पछी ॥
(१५८)
हा पुत्र! प्राण प्रिय हा! तिमिलाइ यस्तो ।
देख्नू पर्यो नि अहिले गति बाबु! त्यस्तो ॥
हा प्राण प्यारि! तिमरो पनि दुर्दशा यो ।
देखेर चित्त अझ फेरि विकल् भई गो ॥
(१५९)
बाँच्नू अवश्य पनि छैन निको मलाई ।
भो जिन्दगी पनि त आखिर आज ञाही ॥
छोडेर साहस शरीर अब काँप्न थाल्यो ।
आँखा पनी तिरिमिरी भई घुम्न लाग्यो ॥
(१६०)
लाग्दैन क्यै भर पनी अब दैव? तेरो ।
गर्नू जती गरि लिइस् बरबाद मेरो ॥
रानी सुन्यौ, अबत अन्तिम भेट ञाहीं ।
हाम्रो अवश्य पनि भेट हुँदैन काहीं ॥
(१६१)
येती भनी धुरु धुरू अति रोइ ताहाँ ।
मूर्छा परे पृथिवीमा गिरि भूप वाहाँ ॥
देखेर रानि भइ विह्वल धेर मन्मा ।
पाऊ समाति कन भन्छिन भूपतीमा ॥
(१६२)
नाथ्को सवारि भइगो यहिं बस्न लाई ।
दींदैन शास्त्र पनि सम्मति नारि लाई ॥
तस्मात् सती भइ शरीर जलाइ दिन्छु ।
दासी म ता हजुरकी सँग जाइ जान्छु ॥
(१६३)
सम्झेर फाटि हृदयै पनि चूर्ण भैगो ।
जो सारको चिज थियो उ पनी गईगो ॥
बिर्सूं कसोगरि म प्राण समान पुत्र ।
सामू अगाडि अब ता यहि देख्छ नेत्र ॥
(१६४)
देख्छू दशा हजुरको पनि यो विचित्र ।
भैगो सबै हृदय यो पनि छिद्र छिद्र ॥
हेरौं दशा कसरि निष्ठुर दैव, ऐले ।
यै निम्ति बाँचनु असल् अब छैन मैले ॥
(१६५)
यस्तो विलाप् गरि दुवै जन मर्न लाई ।
पक्का गरी कन तयार चिता गराई ॥
हे पृथ्वि! अन्तिम बिदा तिमि आज देऊ ।
जो जो कसूर हुनगये सब माफ देऊ ॥
(१६६)
यति भनेर रुँदै ति दुवै तहाँ ।
मृतक पुत्र सुताइ चिता महाँ ॥
सँग जलौं अब हामि भनी कन ।
जलन निश्चय सूर गरी कन ॥
(१६७)
जननि! हे जगदम्ब! शिवे! भनी ।
भगवती कन संझि लिये अनी ॥
जब यसो गरि ध्यान गरी लिए ।
सकल देव अगाडि खडा भए ॥
(१६८)
जलन भनि तयार् ती दंपती दूइ लाई ।
पख! पख! भनि रोके इन्द्रजी सामु आई ॥
अमृत छिटि जियाये त्यो मृतक् पुत्रलाई ।
अति खुशि भइ लीए पुत्रलाइ उठाई ॥
(१६९)
लागे गर्न पियार पुत्रकन ती राजा र रानी तहाँ ।
दूवै दिव्य शरीरका पनि भए श्रीइन्द्र भन्छन् वहाँ ॥
हेराजन्! तिमिलाई लीन अहिले सम्पूर्ण आञौं अब ।
जाऊँ स्वर्ग विमानमा चढ तिमी छोडेर झंझट् सब ॥
(१७०)
आज्ञा येति सुनी सकीकन तहाँ राजा अगाडी सरी ।
भन्छन् दास म छू यही श्वपचको जाऊँ कसो के गरी ॥
फेरी धर्म अघी सरी कन भने चाण्डाल जो हो म हूँ ।
तिम्रो सत्य बुझेर खुब् खुशि भएँ धेरै कुरा के कहूँ ॥
(१७१)
तेही सत्य सहायले अब तिमी श्रीइन्द्रलोक्मा गई ।
सारा सौख्य पदार्थ भोग गरिल्यौ द्यौता सरीको भई ॥
राजाले इ कुरा सुनीकन तहाँ यो बात भन्दा भए ।
मेरा भक्त प्रजाहरू कति रुनन् मै मात्र एक्लै गए ॥
(१७२)
लाग्ला पाप मलाई हे सुरपते! तस्मात् भएको जती ।
मेरो पुण्य दिएर बन्दछे भने दिन्छू खुशीले अती ॥
एक्छिन्मात्र म पुण्य भोग गरुँला यो होइ सक्ने भए ।
यस्तो सत्य बुझेर इन्द्र खुशिभै लौ हुन्छ भन्दा भए ॥
(१७३)
विश्वामित्र अघीसरी कन तहाँ भन्दा भए यो पनी ।
हेराजन्! तिमि ईख कत्ति नलिए यस्तो गरायो भनी ॥
तिम्रो सत्य बुझौं भनेर यति काम् मैले गरेको यहाँ ।
कत्ती फिक्रि नली सजीव खुशिले जाऊ तिमी स्वर्गमा ॥
(१७४)
तिम्रा कोशलवासि भक्त जति छन् डाकी म दिन्छू भनी ।
डाकी ल्याइदिए तुरून्त ऋषिले आए प्रजागण् पनी ॥
जो जो वृद्ध र भक्त ध्यानि तपसी यस्ता विरागी थिए ।
ती ती मात्र प्रतापि भूप सँगमा स्वर्लोक जाँदा भए ॥
(१७५)
राज्पुत्र रोहितकनै दिइ राज भारी ।
रानी प्रजा लिइ भयो नृपको सवारी ॥
भो पुष्प-वृष्टि बहतै सब देवताले ।
जै जै शबद् गरदथे नभमा खुशीले ॥
(१७६)
ठूला ठुला ऋषिहरू पनि धन्य भन्छन् ।
यस् लोकमा पनि सबै सुनि खूशि हुन्छन् ।
रोहित् पनी रयिति राजि खुशी गराइ ।
राज्काज् गरे सकल भूपति वश् तुल्याई ॥
(१७७)
धन्यै हरिश्चन्द्र समान ञाहाँ ।
राजा हुनै धाम कठिन् छ वाहाँ ॥
किर्ती जगत्मा फइली रहेको ।
तिन् लोकमा गुण् पनि गाइएको ॥
(१७८)
संकष्ट सारा तहिं भोगि लीए ।
सारा धरम् सत्य बचाइ दीए ॥
इन्का सरी धर्मि थिएन पैल्हे ।
होलान् पछी क्वै न छ कोहि ऐल्हे ॥
(१७९)
जो यो हरिश्चन्द्र जि को चरित ।
सब्ले गरुन पाठ् अति भक्ति सीत ॥
सम्पूर्ण आपत् तहिं नाश हुन्छ ।
मर्दा महाँ मुक्ति समेत दिन्छ ॥
॥ इति श्री सत्य हरिश्चन्द्र कथा ॥