Jump to content

Ritubichar/shishira bichar

From Nepali Proofreaders
अथ
शिशिर-विचार


हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि ।
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि ॥


उही ठण्डी, उही हुस्सू, हिम-वर्षा उही सब ।
अहो ! शिशिरले सारा हर्‍यो हेमन्त-वैभव ॥


हेमन्तको म हूँ भाइ, हुन्छु दाइ-बराबर ।
भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर ॥


थपी हेमन्तको भन्दा बढता वात-सङ्कट ।
सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट ॥


दिनहुँ तल घर्कन्छ चुलियेको हिमाऽऽचल ।
बिहोशी ऐशमा मस्त राष्ट्र झैँ मद-सङ्कुल ॥


सारा शरीरमा शीत फैलिँदामा पनी सब ।
अहो ! कम्प-ज्वराऽऽक्रान्त रोगी झैँ काँप्तछन् अब ॥


दुर्भाग्य-चक्रले तुल्य शरीरै चर्चरी चिरी ।
हावा शिशिरको घुम्छ लगातार सिरीसिरी ॥


हिमका बहुतै साना परमाणु हवा-भरी ।
मिलेका छन् करौँतीका तीखा दन्त-शिखा-सरी ॥


हुर्र-हुर्र चिसो हावा हुर्हुरायेर आउँछ ।
जुरुङ्ग भै सबै अङ्ग उसले जुर्जुराउँछ ॥

१०
रोमाञ्च शिशिरैमा झैँ सर्वदा उठने भये ।
सब मानिस दुम्सी झैँ काँटादार हुने थिये ॥

११
कडा बतासले जाडो जागेको छ घरी-घरी ।
जन-सङ्गतिले कच्चा योगीको वासना-सरी ॥

१२
भू-कम्प-कालको रङ्ग पापी शिशिर ल्याउँछ ।
बस्ताबस्तै पनी तेसै देह यो डग्डगाउँछ ॥

१३
हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू ।
अघिको आफनू चाल छोडिदिन्छ कठै ! मुटू ॥

१४
घर्केका हिमका थुम्का खस्छन् शब्द ठुलो गरी ।
भू-कम्प-कालमा अग्ला कौसी बुर्जाहरू-सरी ॥

१५
आयो शिशिर-भैँचालो कमाई लोक थर्थरी ।
सफा सु-घरका गाला चिरिये सब चर्चरी ?

१६
अडिने साहसै छैन चाहन्छन् सब पल्टनै ।
खुला दो-कान को राख्छ गले-बन्द-भये-कुनै ?

१७
मानिस बाहिरै निस्के चौरको खोजनी गरी ।
मरी-यो कम्पले भन्दै देखिन्न पुर-मा-धुरी ॥

१८
वर्षे-को-हि-मले कोही भये पल्टेर सोत्तर ।
युद्धको सम्झना भैगो उत्तिखेरै सबै-तिर ॥

१९
मैलो शिशिर यो नामी धामी झैँ जम्जमाउँछ ।
थोत्रो बादलको ढ्याङ्ग्रो ढन्नढन्न बजाउँछ ॥

२०
शीतका मन्त्रले मन्त्री हिमको भस्म छर्दछ ।
हुर्रहुर्र हवा-रूप फूँक त्यो खूप भर्दछ ॥

२१
बेढङ्गी चालले हर्दम् दन्त-माला चलाउँछ ।
मानू धूप-धुवाँ फुस्स हुस्सूको त्यो उडाउँछ ॥

२२
मसिना असिना-रूप अक्षता पनि छर्छरी ।
छर्छ त्यो कहिलेकाहीँ सातो सकलको हरी ॥

२३
श्यालको बहुतै लम्बे शब्दद्वारा फलाक्दछ ।
ठण्डीको देवतालाई अनेक बलि माग्दछ ॥

२४
मन्त्रले तन्त्रले हो वा लोक साह्रै कमाउँछ ।
जगाई भोकको भूत रोग-दासु धपाउँछ ॥

२५
पानी कठै ! छुनासाथ असाध्य ठिहिर्‍याउँछ ।
बिच्छीका डङ्कको ज्वाला तालु-सम्म पुर्‍याउँछ ॥

२६
जीवको जीवनाऽऽधार सूर्य, अग्नि, रुवा, उन ।
नपाये चारमा यौटा बन्छ निर्जीव जीवन ॥

२७
आकाश रुँदिँदै आयो केही मैलो-पना धरी ।
भित्री कुकर्म-चिन्ताले सतायेको मनै-सरी ॥

२८
रुँदियेका दिनै सारा बिकम्बा छन् कठैबरी !
दुर्भाग्य दोषले ज्यादा दबायेका गुणी-सरी ॥

२९
अँध्यारो रुँदले गर्दा अँध्यारामा बिते दिन ।
उज्यालो मुक्त-चेष्टा झैँ नष्ट भो सूर्य-दर्शन ॥

३०
रुँदका रूपमा यद्वा शीत-व्याकुल लोकको ।
आकाशमा गिर्‍यो लामू पर्दा मलिन शोकको ॥

३१
हिमको तकिया तानी ओढी त्यो रुँद-सीरक ।
आफैँ शिशिर लेट्यो कि पन्छाई रवि-दीपक ?

३२
हटदैन बिना बूँद मैलो रुँद कसै गरी ।
आँशु केही नवर्षाई शोक जान्थ्यो कहाँ टरी ॥

३३
दिक्क-गर्छ सबैलाई माघको सिम्सिमे झरी ।
ज्यादा कचकचे चाङ्ने घर-खोते बुढो-सरी ॥

३४
खुलेर जलका धारा झर्दैनन् कहिल्यै पनि ।
पानी अलिअली दिन्छ मेघ कञ्जूस झैँ बनी ॥

३५
वर्षाको त्यो महादानी मेघको महिमा सब ।
गरीबी-पनले हो कि खुम्चियेछ पुरा अब ?

३६
न त पानी कतै बस्छ न कतै भल चल्दछ ।
प्राणीको शास्तिका साथ खालि जमिन गल्दछ ॥

३७
वातले खुम्चिनू-पर्ने अँध्यारो माघको झरी ।
बताउनै बडो गाह्रो दुःखीको जीवनी-सरी ॥

३८
न ज्यादा जल वर्षन्छ न त आकाश खुल्दछ ।
दुःखको भोग झैँ लम्बा झरी लम्लष्ट चल्दछ ॥

३९
कर्म-जञ्जाल झैँ मैलो झरीका वशमा परी ।
गुटूमुटू भै खुम्चिन्छ दुनियाँ गर्भमा सरी ॥

४०
धुनीमा सब धुम्मिन्छन् श्रद्धा-साथ घरी-घरी ।
दुःखमा देवताजस्तै भगवान्‌को वरी-परी ॥

४१
कोही काख-विषे राखी अग्निले पूर्ण अट्टल ।
योगी झैँ परमाऽऽनन्दी बस्छन् बाँधेर पट्टल ॥

४२
लामा लामा बिरालीको गोडामा ताँति लाग्दछ ।
तैपनि घरमा मूसो असाध्यसित जाग्दछ ॥

४३
लुगामाथि लुगा खाप आगो ताप घरी-घरी ।
'स्यू-स्यू-स्यू' नगरी तेसै के जाला माघको झरी ?

४४
काम सातो-लिने मात्र, नाम सातो-दिने झरी ।
कति राम्रो मिलेको छ बाहिरी शब्द-माधुरी ॥

४५
हिमानी वयले पूर्ण दिव्य पुत्री हिमालकी ।
झरीको झ्याल खोलेर हेर्दछिन् आडमा लुकी ॥

४६
तिर्सना-जाल झैँ लम्बा पन्छिँदा त्यो कडा झरी ।
कान्तिले दिन झल्कन्छ शान्ति-पूर्ण मनै-सरी ॥

४७
ठण्डीका पिरले मानू हिम आफैँ उँधो-तिर ।
बसाइँ बस्न आयो कि बनाई काँठमा घर ?

४८
नगीचको रुखो डाँडो हिम पर्दा हिमालको ।
देखिन्छ फेटा बाँधेको मूर्ति झैँ उग्र कालको ॥

४९
दाह्रा-तुल्य चुचे ढुङ्गा, दण्ड झैँ धूपिका रुख ।
बायेको पहरा-रूप चौतर्फी गहिरो मुख ॥

५०
हिमाचल नदी-रूप पुत्रीलाई धमाधम ।
यथेच्छ दिन लाग्यो कि पेवाको रूपमा हिम ?

५१
सारा नदनदी सेतो काँठो सलिलमा परी ।
देखिन्छन् सुकिला राम्रा श्रीशुक्ला-गण्डकी-सरी ॥

५२
घर्केको हिम रेलिन्छ नदीका स्रोतमा सधैँ ।
संसारी जीवको सारा बुद्धिमा भवितव्य झैँ ॥

५३
हिमालका नदी-भित्र हिमको त्यो कडा-पन ।
भरिनाले सबै लागे हिम झैँ गँगर्‍याउन ॥

५४
त्रिशूली, कौशिका, कृष्णा-गण्डकीहरुले शिर ।
लुकाये हिमको घुम्टो हाली टम्म उँभो-तिर ?

५५
थिचँदैछ तुषाराले सारा कमलको वन ।
नयाँ विचार-धाराले धर्मजस्तै सनातन ॥

५६
पद्म-पत्र सडे सारा हिलामा ती कठैबरी ।
गुणग्राही नपायेर मिल्कियेका गुणी-सरी ॥

५७
उस्तो जन-मनोहारी भरिलो पद्म-संहति ।
डण्ठी शेष हुनू आजै धिक्कार विधिको गति ॥

५८
नपारी बाहिरी ताप देखाई शीतलो-पन ।
कठै ! शिशिरले साह्रै शुकायो रसिलो वन ॥

५९
खडा-खडै सबै सिट्ठी बने तेसै वनस्पति ।
प्रमेह-रोग लागेका रोगी झैँ लागने अति ॥

६०
न ता वृक्ष-विषे पात, न ता झार कतै रति ।
जता हेर्‍यो उतै खाली उराठै लागने अति ॥

६१
हालमा नयनाऽऽनन्दी हरियो कान्ति-माधुरी ।
गहुँ-बारीसिवा अन्त छैन यो पृथिवी-भरी ॥

६२
गहुँका हरिया साना पातमा बिन्दु शीतका ।
पन्ना-माथि जडायेका मोती झैँ देखिये निका ॥

६३
पापी शिशिरको सेतो शीतको शीत-निर्मित ।
छाता झैँ रातमा चन्द्र देखिन्छन् शैत्य-पूरित ॥

६४
उनै पूर्ण-कलाधारी सुखकारी सुधामय ।
इन्दुका चाँदनीबाट हुन थाल्यो सदा भय ॥

६५
धामी-तुल्य सबै लोक काँपेका देखि थर्थरी ।
चन्द्रले चाँदनी-रूप खित्का छोडे कि बेसरी ?

६६
चीसो तपतपाऽऽकार चाँदनी-रूप चादर ।
ओढी उग्र तपस्यामा मस्त छन् कि निशाकर ?

६७
हालमा चन्द्रको छैन सूर्यको झैँ प्रशंसन ।
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा नरम्‌-पन ?

६८
भयेदेखि हिजो-आज उनै साथी उनै मनी ।
सहसा शीत-बाधाले सकदैन छुनै पनि ॥

६९
बढालू रसिला सोझा जाति-जम्मा उखू-कन ।
लोक लाग्यो विजेता झैँ चूर्ण पारी चपाउन ॥

७०
मुस्कीलले घुमेका छन् कोल काईं-कुईं गरी ।
प्रारब्धको घचेटामा बिचरा जज्जनै-सरी ॥

७१
प्रारब्ध-यन्त्र झैँ कोल, उखू विषय कर्कश ।
कष्ट-साथ चलायेर झिक्नुपर्छ सफा रस ॥

७२
समाती कोलको कात्री कष्ट-साथ कठैबरी !
रसलोभी घुमेका छन् लाखचौरासीमा सरी ॥

७३
कोल हर्दम् घचेटिन्छन् अँचेटिन्छन् उखू सब ।
अन्तरैमा परी जान्छ सोझाको गुण-गौरव ॥

७४
धूलो-पिठो भए सारा उखू त्यो कोलमा परी ।
कालका मुखमा मानू सृष्टिको महिमा-सरी ॥

७५
हेमन्त-कान्ति कालिन्दी, वासन्ती-कान्ति जाह्नवी ।
प्रयाग-तुल्य दोरङ्गा माझको शिशिर‍-च्छवि ॥

७६
वसन्त नगिचै आयो खुले केही दशै दिशा ।
अरुणोदय-बेलामा किन हुन्थ्यो महानिशा ?

७७
घटदै घटदै आयो छटा हेमन्तको सब ।
सङ्ग-माफिकको रङ्ग सबैको हुन्छ वास्तव ॥

७८
उता हेमन्तको रङ्ग, यता रङ्ग वसन्तको ।
अहो ! शिशिरको तेसै पाउने अब अन्त को ?

७९
राम्रो वसन्त झैँ पुच्छ, मैलो हेमन्त झैँ शिर ।
राख्यो शिशिरले खासा चोचो-मोचो दुवै-तिर ॥

८०
पद्मिनीको महावैरी हिमको महिमा गयो ।
मालिन्य-दोषले शून्य सूर्यको बिम्ब देखियो ॥

८१
मिली अब सती प्यारी पद्मिनी यो भनी-कन ।
राम झैँ सूर्य लागे कि उत्तरै-तिर फर्कन ?

८२
वसन्तको कडा कोही अगुवा दूत झैँ गरी ।
मैलो सबै सफा गर्दै सबै-तर्फ चल्यो हुरी ॥

८३
बिचरा पान्थका लेखा भ्रामरीकै दशा-सरी ।
लागी-रहन्छ रस्तामा दुःखदायी चिसो हुरी ॥

८४
हावाको भुमरी-भित्र धुलाको छ उही गति ।
आफना कर्मका साथ जीवको हुन्छ जो गति ॥

८५
माथीबाट झरे सारा पुराना पात बर्बरी ।
शक्ति-शून्य निरुद्योगी भाग्यका भक्त झैँ गरी ॥

८६
लागदा पश्चिमा हावा पुराना दलको स्थिति ।
बदली वृक्षले केही देखाये सप्रने मति ॥

८७
झुत्रा पात थिये अस्ति, झरे आज तिनी सब ।
पालुवा पर्सि देखिन्छ, छैन केही असम्भव ॥

८८
उच्च, निश्चल, निस्पक्ष, ठिङ्गा वृक्षहरू सबै ।
देखिन्छन् भोगको तृष्णा त्यागेका अवधूत झैँ ॥

८९
मरे-तुल्य बगैँचाको कुनाकानी अली अलि ।
देखिये हृदयाऽऽनन्दी रसिला कुन्दका कलि ॥

९०
कमायेँ जगतैलाई भनी शिशिर पागल ।
खिस्स हाँस्यो कि देखाई दन्त झैँ कुन्द-कुड्मल ?

९१
दाउरा पातका निम्ति वन-भित्र पसी-कन ।
ग्रामीण रमणी थाले 'शालैज्यू' गीत गाउन ॥

९२
तुषाराले मरे-तुल्य बनायेको वनै सब ।
घन्क्यो घनक्क त्यै गीत-प्राण-सञ्चारले अब ॥

९३
पह्लाये दुइ-चारोटा कलिला फूलका कलि ।
कृत्यको तत्त्व जानेको विज्ञजस्तै अली अलि ॥

९४
आरू र आलुचा आलू-बखडा पुष्प-भूषित ।
मानू वसन्तका दिव्य दूत झैँ छन् उपस्थित ॥

९५
लागूजस्तो महाऽऽनन्दी फागुको रङ्गमा परी ।
विलासी-जनको वृन्द रमायेको छ बेसरी ॥

९६
काट्यो जगतले जाडो धैर्य-शस्त्र लिईकन ।
रङ्गका निहुँले रक्त बहन्थ्यो नत्र यो किन ?

९७
जडेको छ जथाभावी अवीर पुरमा सब ।
लोकमा वीरकै हुन्छ प्रतिष्ठा, मान, गौरव ॥

९८
वसन्ती रङ्गका वस्त्र पहिरी-कन अङ्गमा ।
क्या मजाले डुबेको छ दुनियाँ रस-रङ्गमा ॥

९९
यो हो श्रीकृष्ण-लीलाको रश्मि यौटा पुरातन ।
प्रकाश जसको हामी लिँदै छौँ अझ पावन ॥

१००
पूर्णिमा तिथि हो आज पूर्ण भो शिशिर-स्थिति ।
भोलि अवश्य देखिन्छ वसन्त मधुराऽऽकृति ॥

१०१
सकल ऋतु-विचार प्रेमका साथ हेरी
गुण जति लिनु-होला दोषलाई नटेरी ।
भनि सकल गुणीका सामने भक्ति-साथ
अतिशय झुकि बिन्ती गर्छ यो 'लेखनाथ' ॥

इति शिशिर-विचार
समाप्तं शुभम्