Ritubichar/basanta bichar
१
हिमालमा गयो जाडो लोक साऽऽनन्द देखियो ।
उदायो रसिलो राम्रो ऋतु-राज वसन्त यो ॥
२
नाम-शेष भयो सारा पुरानू शिशिर-स्थिति ।
लियो वसन्तले अर्कै नयाँ गौरव-पद्धति ॥
३
ऋतु हुन् अरु पाँचोटा, वसन्त ऋतु-राज हो ।
लोक गौरवले भर्नु यसैको मुख्य काज हो ॥
४
वसन्तमा समानै छन् ठण्डी गर्मी दुवै गुण ।
तुल्य तुल्य दया दण्ड राजाका हुन् विभूषण ॥
५
देखिन्छ नाऽतिशीतोष्ण महिमा ऋतु-राजको ।
दया-दण्डज्ञ राजाको नीति झैँ राजकाजको ॥
६
पशुपक्षी लता-वृक्षलगायत चराचर ।
ऋतु-नायकको गर्छ प्रेमले स्वाऽऽगताऽऽदर ॥
७
सेतो कमलको छाता मञ्जरी-मय चामर ।
ऋतु-राजत्वका चिह्न देखिन्छन् अति सुन्दर ॥
८
भुमराहरु वीणाको दिव्य झङ्कार गर्दछन् ।
गुण-गायक भै पक्षी गानमा तान भर्दछन् ॥
९
बर्र बर्र लता-वृक्ष लावा झैँ फूल छर्दछन् ।
पुतली नर्तकी-तुल्य नाचदै अघि सर्दछन् ॥
१०
मलयाऽचलको वायु लगातार सिरीसिरी ।
कलिला पालुवा-रूप पङ्खा हम्कन्छ सुस्तरी ॥
११
सजायेको छ सर्वत्र दिव्य सौन्दर्यको रथ ।
शान्तिको जल छर्केको खुला आनन्दको पथ ॥
१२
सारा वन बगैंचामा सजायेको छ आसन ।
ऋतु-राज उतैबाट गर्छ त्यो शुभ-शासन ॥
१३
दिव्य आनन्दको रङ्ग, दिव्य-कान्ति-तरङ्ग छ ।
दिव्य उन्नतिको ढङ्ग, दिव्य सारा प्रसङ्ग छ ॥
१४
त्यो दिव्य रङ्ग पायेका लता-वृक्ष वनस्पति ।
देखिन्छन् योग्य नेताका रैती झैँ उन्नताऽऽकृति ॥
१५
साना-तिना सबैमाथि फैलियेको छ गौरव ।
योग्यको आड पायेको बिग्रला को कहाँ कब ?
१६
पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब ।
विवेक ज्योतिले शुद्ध विद्या-तुल्य बनिन् अब ॥
१७
हजारौँ-मुख भै निस्के लता-वृक्षाऽऽदि हालमा ।
लयाऽवस्था बितायेका जीव झैँ सृष्टि-कालमा ॥
१८
आँकुरा, पिपिरा, साना, काइना, चिउला, टुसा ।
निस्के झपक्क सर्वत्र साह्रै कलकलाउँदा ॥
१९
समाते सूर्यले फेरि उत्तराऽऽकाशको गति ।
प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति ?
२०
दिनमा दीर्घता आयो रातले लघुता लियो ।
ऋतु-राजत्वको सच्चा योग्यता स्पष्ट देखियो ॥
२१
दीपका बीचमा मैलाे धूवाँ झैँ गुप्त भैकन ।
अलिअलि चढेको छ दिनमा धमिलो-पन ॥
२२
जुन जीवनको भाग रातको दिनमा सर्यो ।
उसैले दिनको कान्ति पक्का केही फिका गर्यो ॥
२३
ऋतु-नायकले घाम मन्दै गर्ने लिई सुर ।
तुवाँलोको मिही पर्दा लगायो कि सबै-तिर !!
२४
अलिअलि तुवाँलोले छोपियेका दिगङ्गना ।
देखिन्छन् प्रमदा-तुल्य लज्जाले विनताऽऽनन ॥
२५
पृथिवी छन् शुगा-रङ्गी पिपिराहरुले गरी ।
हरियो रेशमी सारी लायेकी प्रमदा-सरी ॥
२६
वनमा वागमा राम्रा पुष्प लाखौँ थरी फुले ।
कुसुमाऽऽकर यो नाम सार्थ पार्यो वसन्तले ॥
२७
आफनू शिल्प-सौन्दर्य-महिमाको प्रदर्शिनी ।
खोलिन् प्रकृतिले लाखौँ फूलमा मनमोहिनी ॥
२८
प्रत्येक पुष्पको रूप, रेखा, रङ्ग अनेक छ ।
तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ ॥
२९
बेली, जाई, जुही, चम्पा, चमेली, मधु-माधवी ।
सबैमा भरियेको छ भरिलो मोहिनी छवि ॥
३०
पुन्नाग, कामिनी, कीप, कल्की, बकुल, मालती ।
साराको भिन्न भिन्नै छ वासना 'रूप' आकृति ॥
३१
बेगिन्ती पुष्पका भेद बेगिन्ती रूप वासना ।
एकै प्रवाहमा चल्छन् धन्य हो ! विधि-कल्पना ॥
३२
पृथ्वीको दिव्य सौन्दर्य नअटायेर पट्ट भै ।
फुटी बाहिर निस्क्यो कि पुष्पका रूपमा सबै ?
३३
तस्तै सुवासना-पूर्ण पुष्पको तुल्य जीवनी ।
सृष्टि-सौन्दर्यका निम्ति चाहन्छन् देवता पनि ॥
३४
कोही चहकिला पुष्प वासना नभये पनि ।
मूर्ख आडम्बरी जस्तै रूपमा छन् बडा धनी ॥
३५
बगैँचा सब देखिन्छ हजारौँ फूलले गरी ।
वसन्तको बुटे तन्ना कसेको बैठकै-सरी ।
३६
कलिला पालुवामाथि बिछ्यायेर फुलैफुल ।
वसन्त-श्री बसेकी छन् बनी सौन्दर्य-विह्वल ।
३७
लिई सौन्दर्य माधुर्य सौकुमार्य थपी वहाँ ।
पुष्पको सिर्जना गर्ने विधाता धन्य हो अहो !
३८
रसिला फूलमा आई रसिलो दक्खिना हवा ।
कुन कारणले होला बिस्तारै गर्छ 'वाहः वा' ॥
३९
साना छुनुमुनू गर्ने बाल झैँ कलिला फुल ।
ढुलुमुलु भई झुल्छन् बहँदा वायु शीतल ॥
४०
बिस्तारै फूलका साथ खेली खेली मिलीजुली ।
सुटुक्क वासना चोरी चल्छ सुस्तै हवा छली ॥
४१
देखेर आफनै जस्तो पुष्पको रूप-गौरव ।
मित्यारी लाउँदै फिर्छन् बागमा पुतली सब ॥
४२
फक्रेका फूल दाता झैँ रस-धारा लुटाउँछन् ।
झोलामा भिक्षु झैँ मौरी पालामा त्यो जुटाउँछन् ॥
४३
काव्यका रसमा लोभी कवि झैँ लट्ठ भैकन ।
प्रत्येक पुष्पमा थाले भुमराहरु झुम्मिन ॥
४४
आनन्दी पुष्पमा कालो दुःख-रेखा-समानको ।
तुच्छ त्यो भ्रमर-श्रेणी के होला पात्र मानको ?
४५
गुणीका गुण झैँ सारा रसधारा चुमीकन ।
भूँभूँ गरी उडी-दिन्छ स्वार्थी भ्रमरको गण ॥
४६
रस-वेतनका लोभी यद्वा भ्रमर-शिक्षक ।
आफनू जीविका गर्छन् पढाई पुष्प-बालक ॥
४७
हाँसी मुसुक्क बिस्तारै शिर हल्लाउँछन् फुल ।
भुमराको उही 'हुन्न' के होला कुनको भुल ॥
४८
गुलाफको लगायेर विधिले लाल-मोहर ।
दियेको हो कि वा बाग भृङ्गकै भोग-खातिर ?
४९
भृङ्गले रस रित्त्याई चुसेर पुष्प-वाटिका ।
देखिन्छ वैरिविध्वस्त निर्धो देश-सरी फिका ॥
५०
चीसो दक्षिणको हावा बहनाले सिरीसिरी ।
लहरा पालुवा गर्छन् मन्द मन्द फिरीफिरी ॥
५१
तालका सुरमा कोही सिपालू नटको सरी ।
पुष्प पल्लवको निस्क्यो हावामा नृत्य-माधुरी ॥
५२
झर्दछन् भेटनाबाट पुराना पुष्प बर्बरी ।
स्वर्गीय पुण्यको भोग सकेका पुण्यवान्-सरी ॥
५३
हावाको चालमा सारा पराग गगनै-भरी ।
फैलिँदो छ कविद्वारा वीरको वीरता-सरी ॥
५४
परागै हो कि ? त्यो माथि तुवाँलाको स्वरूपमा ।
घाम केही फिका पारी चढेको अन्तरिक्षमा ॥
५५
तुवाँलाबाट निस्केका सूर्यको कान्ति माधुरी ।
झल्कन्छ वनमा मानू सुनको तपकै-सरी ॥
५६
वसन्तले बुनी आफैँ मिही पल्लव चादर ।
माथमा वनदेवीको चढायो कि मनोहर ?
५७
प्रत्येक वृक्षमा निस्क्यो पुष्प-पल्लव-माधुरी ।
संसार जीवको रागी वासना झैँ थरी-थरी ॥
५८
अशोक, महुवा, पैञ्यू, जम्बू, बकुल, चम्पक ।
पलाशाऽऽदि सबै वृक्ष पुष्पले छन् झकाझक ॥
५९
कुनै राता, कुनै सेता, पहेँला भावका कुनै ।
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै ॥
६०
सिन्दुरे वन लक्ष्मीका स्यूँदाको सिन्दुरै-सरी ।
देखिन्छ माझमा राम्रो तलके तिलकै-सरी ॥
६१
बडो विशाल गम्भीर नील आकाश झैँ वन ।
झल्कन्छन् फूलका गुच्छा तारका-तुल्य शोभन ॥
६२
वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो ।
बल विद्या गुमायेको भारतै-तुल्य देखियो ॥
६३
लता-जञ्जालले ज्यादा जकडेका कुनै रुख ।
पापका बोझले ग्रस्त पापी झैँ छन् अधोमुख ॥
६४
लर्काई सुनगाभाको पुष्प-हार कुनै रुख ।
विलासी झैँ डटेका छन् देखाई हँसिलो मुख ॥
६५
साना ऐसेलुका दाना टिपदा ती टपाटप ।
ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप ॥
६६
निस्के नयाँ नयाँ लाखौँ वृक्षमा मञ्जु मञ्जरी ।
रसिला प्रतिभाशाली कविका कविता-सरी ॥
६७
ऋषि झैँ गरदै शुद्ध मञ्जरीमय भोजन ।
रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन ॥
६८
माधुर्य-सिन्धुको यौटा उर्लंदो लहरी-मय ।
त्यो दिव्य स्वरले गर्छ सारा हृदय तन्मय ॥
६९
अदना त्यो चरीलाई त्यो स्वर्गीय 'सरीगम' ।
सघाउने विधाताको धन्य हो त्यो परिश्रम ॥
७०
स्वर माधुर्यको तेस्तो किन्नरै-तुल्य कोइली ।
रूपमा लाजले हो कि बोल्छ राती झुलीझुली ॥
७१
कोकिल-स्वर त्यो सुन्दा संयमीहरुको पनि ।
डग्मगाउन चाहन्छ समाधि-मय जीवनी ॥
७२
कोइलीको कुहूकार सुन्यो राती जती जती ।
उती उती नयाँ लाग्छ यो सारा सृष्टि-पद्धति ॥
७३
कोइली कागको भेद बोलीबाटै खुल्यो सब ।
मौकामा गुण जाहेर नभई रहला कब ?
७४
अघिका वेद-विज्ञाता ऋषिको झैँ मनोहर ।
लाखौँ चराचुरुङ्गीको सुनिन्छ मधुर स्वर ॥
७५
कुनै काँकाँ, कुनै कुर्र, कुनै चिर चिरीरिरी ।
शब्द-सौन्दर्य-भण्डार खोली बोल्छन् थरी-थरी ॥
७६
पुष्प-पल्लवका साथै पक्षीको मोद मङ्गल ।
जुटनाले खुलेको छ नन्दनै-तुल्य जङ्गल ॥
७७
जुरेली, मुनियाँ, मैना, श्यामा, पट्टु, चिभे चरी ।
धोबिनी सब देखिन्छन् उडने रागिनी-सरी ॥
७८
मोहिनी तिनको बोली, मोहिनी भाव-भङ्गि छ ।
अङ्ग अङ्गविषे भिन्नै मोहिनी रङ्गिचङ्गि छ ॥
७९
त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब ।
मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव ?
८०
गन्धर्व-जातिको यद्वा यद्वा किन्नर-जातिको ।
दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको ॥
८१
त्यो चरीका चुचाबाट निस्केको शब्द-माधुरी ।
उही यथार्थ सम्झन्छ जुन होला उही चरी ॥
८२
बोलने उडने लाखौँ खिलौना काखमा धरी ।
पालुवामा वसन्त-श्री खेल खेल्छिन् थरी-थरी ॥
८३
हेर्दा वसन्त-लक्ष्मीको तेस्तो त्यो मोहिनी छवि ।
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि ॥
८४
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन् ।
त्यो सुन्दा जङ्गली जन्तु सब भैँमा रमाउँछन् ॥
८५
पवित्र प्रेम-गङ्गामा गर्दै नित्य निमज्जन ।
थाले हरिणका झाँक हरिणी-सित खेलन ॥
८६
पशु-पक्षी, लता-वृक्ष सबैको भित्र लक्ष्यमा ।
झल्की-रहेछ आनन्दी प्रेम-सौन्दर्य-पूर्णिमा ॥
८७
गौँथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन ।
माया-चेतन झैँ थाले गुण कृत्य जमाउन ॥
८८
पालुवा फूल झैँ राम्रा हलुका कपडाकन ।
पहिरी दुनियाँ लाग्यो वसन्तैको सखा हुन ॥
८९
कसैको अब जाँदैन भद्दा कन्था-विषे मन ।
कालाऽनुगारी सारज्ञ कवि झैँ छन् सबै जन ॥
९०
दबाई जेबमा चम्पा लागे रसिक घूमन ।
सुगन्धका कुनै साक्षात् मूर्ति जस्ता बनीकन ॥
९१
वियोगी पान्थका आगे रसिलो ऋतु-नायक ।
भयो भारतका लेखा कलि झैँ दुःख-दायक ॥
९२
कर्याङ्कुरुङको पङ्क्ति एकतामा जमीकन ।
सभ्य संसार झैँ थाल्यो उत्तरोत्तर लम्कन ॥
९३
त्यो मानू मधु-लक्ष्मीका माथको भृङ्ग-गुञ्जित ।
नील-पङ्कज-माला झैँ देखिन्छ क्षण-लम्बित ॥
९४
बेसी हिउँदमा झर्छ वर्षामा लेख पस्तछ ।
पहाडिया गृहस्थी झैँ क्रौञ्चको श्रेणि बस्तछ ॥
९५
गाम, बेसी गरी लम्बा बिचरा ती चरा सब ।
जीवन-क्रमको शिक्षा स्पष्ट दिन्छन् सगौरव ॥
९६
तडागमा खडा फेरि भयो कमलको वन ।
भित्री बीज छँदासम्म मासिन्थ्यो र कुरा कुन ?
९७
नागले ऋतु-सौन्दर्य हेर्नलाई उँभो-तिर ।
पानीबाट निकाले कि पद्मका रूपमा शिर ?
९८
लक्ष्मीको वास त्यो खास देखी कमल पुष्पित ।
भुन्न भुन्न गरी हर्दम् घुम्न थाले मधु-व्रत ॥
९९
हिलैमा भ्यागुतो बस्छ हिलैमा कमल-स्थिति ।
स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति ॥
१००
संसार नाट्य-शालाका छ-पर्दा-मध्य वास्तव ।
ज्यादा वसन्त-पर्दामा खुशी छ जगतै सब ॥
१०१
बहुत कम हुनाले काव्यको भङ्गि-भाव
अलिकति मलिनै भो यो वसन्त प्रभाव ।
भनिकन पहिले नै केही सङ्कोच-साथ
बुधजनसँग बिन्ती गर्छ यो 'लेखनाथ' ।
इति वसन्त-विचार