Jump to content

Ritubichar/barsha bichar

From Nepali Proofreaders
अथ
वर्षा-विचार


ग्रीष्मको गरमी-भित्र घुमी खायेर चक्कर ।
कविको लेखनी दौड्यो वर्षा-वर्णन-खातिर ॥


प्रजाको हर्षका साथ जल वर्षा गरीकन ।
आई-पुगी प्रिया वर्षा, वर्ष-तुल्य बने दिन ॥


समुद्र चिर्दै उत्रेका मत्त दिग्गजको छटा ।
झल्काई गर्जंदै निस्क्यो चौतर्फी घनको घटा ॥


सुन्दा दिगन्तमा दूर मेघको धीर गर्जन ।
मानो-मयूर उफ्रन्छ लोकको दङ्ग भैकन ॥


छोडी क्षितिजको रेखा सुस्त-सुस्तै उँभो-तिर ।
मैनाक-तुल्य त्यो कालो उठायो मेघले शिर ॥


देखिन्छ नयनाऽऽनन्दी उसकी कान्ति-माधुरी ।
टलक्क टल्कने चिल्लो नाल पर्वतको सरी ॥


खिँची लपलपाऽऽकार तर्बार बिजुलीमय ।
गर्जन्छ रणमा मत्त वीर झैँ मेघ निर्भय ॥


शिवले विष झैँ सारा चर्को गर्मी पिईकन ।
थाल्यो कि बिजुली-जिभ्रो काढी मेघ मडारिन ?


घरी मिलिक्क मिल्कन्छ घरी गडगडाउँछ ।
घरी त्यो नगरा-तुल्य जोरले घुहुनाउँछ ॥

१०
अथवा जलको भारी गह्रुङ्गो भै गलीगली ।
चल्छ त्यो बिजुली-रूप लट्ठी टेकी अलीअली ॥

११
बिजुली नामको यद्वा छहरा अति निर्मल ।
स्वर्धुनीको खसेको हो छिचोली मेघ जङ्गल ?

१२
यस्तै छ जीवन-ज्योति अँध्यारामा भनीकन ।
देखायो विधिले यद्वा बिजुलीको निदर्शन ?

१३
मिलिक्क मिल्कँदा मेघ प्रकाश जुन आउँछ ।
विश्वको जीवन-ज्योति उसैले जग्मगाउँछ ॥

१४
जो त्यो मिलमिली-रूप मेघको मन्दहास छ ।
उसमा तीव्र गर्मीका बलको उपहास छ ॥

१५
हास्य-गर्भित गम्भीर सुन्दा त्यो मेघ-गर्जन ।
सारा संसार सम्झन्छ भावि सौभाग्य-सूचन ॥

१६
मेघमाला मिले एकै-छत्त भै गगनै-भरी ।
उर्लंदै सिन्धुमा चारै-तर्फबाट नदी-सरी ॥

१७
नाट्य-शाला छ आकाश, नाचले बिजुली नटी ।
ताल दिन्छ तबल्ची झैँ मेघ 'धाकिटि धाकिटी' ॥

१८
घरी-घरी त्यो देखिन्छे मेघमा बिजुली परी ।
कृष्णका काखमा मानू लेटेकी राधिका-सरी ॥

१९
राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरी-थरी ।
सङ्घ चक्कर खाँदै छ कविको प्रतिभा-सरी ॥

२०
जति हेर्‍यो उती राम्रो रङ्ग आकाशमा चढ्यो ।
मेघले बिजुली‍-रूप झण्डा विजयको गड्यो ॥

२१
घनक्क पारी घन्काई गम्भीर जय-डिण्डिम ।
गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम ॥

२२
पहिला जलका बिन्दु जोरले जुन आउँछन् ।
रूपमा पुतली-तुल्य धूपमा ती बिलाउँछन् ॥

२३
पहिले पृथिवी-माथि वर्षंदा जल दर्दरी ।
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैँ गरी ॥

२४
साना सीकरले सारा अङ्ग सर्र रसाउँछ ।
स्वर्गीय सुख-वर्षाको मनमा हर्ष आउँछ ॥

२५
रसले रसिली पारी तातेकी पृथिवीकन ।
नगीचैमा बसी मेघ लाग्यो भारी मजा लिन ॥

२६
वर्षन्छ जलको धारा मेघबाट जती जती ।
विरही जनको छाती शुकदो छ उती उती ॥

२७
वर्षंदा जलका धारा मानू मानव-जातिका ।
स्वर्ग-सम्म पुर्‍यायेका तार झैँ छन् जुदा जुदा ॥

२८
सारा सागरको खार चालने चलनी-सरी ।
घुमदै स्वादिलो पानी मेघ छर्दछ छर्छरी ॥

२९
समानै जल सर्वत्र विवेकी मेघले दियो ।
सम-दर्शी महात्माको पक्षपात कहाँ थियो ?

३०
हावाको रूपमा चल्छ जहाँ दुर्भाग्यको बल ।
वर्षंदैन उहीँ मात्र मेघको जल शीतल ॥

३१
कालो भये पनी केही मेघको बाहिरी द्युति ।
झल्कन्छ चित्त-रेखामा भित्र उज्ज्वलता अति ॥

३२
विश्वको दुःख देखेर दयाधारी पयोधर ।
नपग्लेको भयेदेखी के रहन्थ्यो चराऽचर ?

३३
न स्थान, मान चाहन्छ जाति, पाति न गन्दछ ।
जल वर्षाउँदा मेघ मानू ब्रह्मज्ञ बन्दछ ॥

३४
पवित्र परमात्माको भक्तिमा सत्य भक्त झैँ ।
शीतला जलधारामा भिजेको छ प्रजा सधैँ ॥

३५
घरी दरदराऽऽकार घरी सुस्तै सिमी-सिमी ।
जल-वर्षा लगातार गर्छ मेघ घुमी घुमी ॥

३६
चिरिन्छन् जल-धाराले नलिनी-पत्र चर्चरी ।
दुर्वाच्य-वाण-वर्षाले साधुको हृदयै-सरी ॥

३७
दिन रात दुवै कालो पारी धुम्धुमियो झरी ।
मुख-पेट दुवै मैला भयेको दुर्जनै-सरी ॥

३८
झरीले छोपि-राखेका वर्षाका दिन छन् सब ।
अविद्याले अँठ्यायेका जीव-तुल्य गत-प्रभ ॥

३९
अँध्यारो दिन देखेर चखेवी बिचरी चरी ।
रुन्छे व्याकुलता-साथ रात्रिको भ्रान्तिमा परी ॥

४०
जल-वर्षा गरी मेघ तृप्त छैन कुनै दिन ।
दाता देह छँदासम्म के गर्ला मुष्टि-बन्धन ?

४१
यताउता कतै कत्ति डग्दैन घन-मण्डल ।
लब्ध-भूमि महात्माको चित्त झैँ अति-निश्चल ॥

४२
कहाँ सूर्य, कहाँ तारा, कहाँ नक्षत्र-नायक ।
देखिन्छन् कालले गर्दा जुन्किरी नै झकाझक ॥

४३
दिने मेघ सर्‍यो माथि, लिने खोला बगे तल ।
दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल ॥

४४
वर्षाउँदा अहो ! यौटा मेघले जल सम्पति ।
कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति ॥

४५
लोक भन्छ पुग्यो पानी किन्तु मेघ खन्याउँछ ।
यस्तै व्यक्ति महादानी लोकमा कहलाउँछ ॥

४६
पियारी बिजुलीलाई लोकले खीँचदामहाँ ।
रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ ॥

४७
जथाभावी छरी पानी जुवाको हरुवा-सरी ।
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी ॥

४८
जाती पानी कतै छैन, बाढीले सब मैलियो ।
भलले कलिले तुल्य एकैछत्त गरी-दियो ॥

४९
मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ ।
गुणलाई पनी मूर्ख दोष-पूर्ण तुल्याउँछ ॥

५०
धमिला भलका साथ माछा पनि बडे बडे ।
कलिको सङ्ग पायेका दुराचार-सरी बढे ॥

५१
काला पहाडका सेता पानीमा छहरा छुटे ।
कृष्णका छातिमा मुक्ता-हारको उपमा लुटे ॥

५२
दायाँ बायाँ दुवै-तर्फ हान्दै खोला दगुर्दछन् ।
संसारमा छुचा यस्तै काममा अगि सर्दछन् ॥

५३
जरा खनेर खोलाले खसाले तीरका रुख ।
छोटाको आड लागेर मिलदैन कतै सुख ॥

५४
सारा कीट-पतङ्गाऽऽदि आत्तिये भेलमा परी ।
दारिद्र्यले डुबाएका भारतीय प्रजा-सरी ॥

५५
घुमाई लहरी-हात दौडन्छन् नाचदै नदी ।
दानी पयोदको दिव्य झल्काई कीर्ति-कौमुदी ॥

५६
लडाउँदै मुढा ढुङ्गा खहरे गड्गडाउँछ ।
छोटो मानिस मौकामा ज्यादा जोश बढाउँछ ॥

५७
कलिले श्रौत-यागादि कर्म झैँ बटुवाकन ।
झरीले बाटबाटैमा रोकेको छ प्रतिक्षण ॥

५८
पार जाने डुँगा साँघु उडायो भलले सब ।
छोटो बढेपछी विघ्न नगरी छोडला कब ?

५९
हिले आहाल देखिन्छन् धमिला भलले भरी ।
ज्यादा दुर्वासना-जाल जमेका हृदयै-सरी ॥

६०
फुलाएर गला धोत्रो काढी सङ्गीतको धुवाँ ।
हिले आहालमा पाहा गर्न थाले टुवाँटुवाँ ॥

६१
छिन्नभिन्न गर्‍यो मैला भलले मार्ग बेसरी ।
पाखण्डी लतले हाम्रो राम्रो वेद-पथै-सरी ॥

६२
नौनी-समान वर्षाले गालेको भूमि-भाग यो ।
करुणाले पगालेको सज्जनै-तुल्य देखियो ॥

६३
कुल्चदामा पनी गज्ज पर्ने मूर्ख-समानको ।
हिलो संसारमा निस्क्यो मूर्ति झैँ अपमानको ॥

६४
लोकोपकारमा जत्ति खर्चन्छ जल-सम्पति ।
उत्ती उज्यालो देखिन्छ मेघको वदन-द्युति ॥

६५
बाँध बाँधी-दिँदा सोझै चढ्यो पानी कुला-भरी ।
चित्त रोकी सुषुम्णामा लगेको प्राण झैँ गरी ॥

६६
बेसरी गाँजियो रोपो कुलाको जलले गरी ।
पुर्खाको धर्म-धाराले पह्लायेको कुलै-सरी ॥

६७
खस्क्यो पर्वतको शोभा अनेक पहिरा परी ।
दुःखका चोटले गर्दा धीरको धीरता-सरी ॥

६८
अघिका खुर्खुरे नाङ्गा तुच्छ डाँडाहरू पनि ।
तृण-सम्पत्ति पायेर बने सौन्दर्यका धनी ॥

६९
ग्रीष्म-तप्त वसन्तश्री नुहाई पोखरीमहाँ ।
हाँस्तै जुर्लुङ्ग निस्किन् कि पद्मका रूपमा अहा ?

७०
कोइलीको मिठो बोली बिलायो कालले गरी ।
भ्यागुताको रुखो शब्द बढेको छ घरी घरी ॥

७१
अगाध सिन्धुमा चुप्पै चल्छन् तिमि-तिमिङ्गिल ।
भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो भल ॥

७२
भ्यागुताको जहाँ वास वहीँ कमल फुल्दछ ।
तर त्यो चाल पाउन्न हिलैमा मात्र भुल्दछ ॥

७३
कहाँ तुच्छ हिलो तेस्तो, कहाँ कमलको रस ।
दुर्भाग्यले हिलैमा छ बिचरो भ्यागुतो खुश ॥

७४
संसार यो हिलो सारा पद्मको रस मुक्ति हो ।
जीव छन् भ्यागुता-तुल्य पद्म ईश्वर-भक्ति हो ॥

७५
अँध्यारा रातमा सुन्दा वर्षाको झम्झमावट ।
परमाऽऽनन्दका ढोका स्वयं खुल्छन् खटाखट ॥

७६
मानू स्वर्गीय सङ्गीत-कलाको दिव्य माधुरी ।
वर्षन्छ जल-धाराको साथैमा त्यो थरी-थरी ॥

७७
आकाश-गृहमा काली बुढिया मेघ-मालिका ।
घुम्दछे रातमा बाली बिजुली-मय दीपिका ॥

७८
खेतमा जलका धारा वर्षंदा-खेरि बाहिर ।
उर्लन्छ खेतिवालाका मनमा सुख-सागर ॥

७९
विरही-जलको श्रेणी आँशुले परिपूरित ।
पला पलामा दाँजिन्छ वर्षाको रजनी-सित ॥

८०
पखालियो, बग्यो गैगो भलमा पुष्पको रस ।
भयो भ्रमरका निम्ति यो वर्षाकाल नीरस ॥

८१
विधिले फूलको सार कदम्‌का फूलमा भरी ।
गोलाऽऽकार बनायो कि सबै बग्ला भनी डरी ?

८२
गुणका भारले नम्र गुणी-तुल्य अली तल ।
झुके दारीमका हाँगा लागनाले ठुला फल ॥

८३
वनमा विरही बोली बोल्दछन् न्याहुली-चरी ।
चिरिन्छ परदेशीको दुःखी हृदय चर्चरी ॥

८४
मेघको शब्द सुन्नाले प्रेमले दङ्ग भैकन ।
थाले मयूरका भाले नाची नाची कराउन ॥

८५
विरही-जनको छाती बन्चराले सरी चिरी ।
बोल्दछन् मत्त भै तित्रा 'तित्तिरी, तित्तिरी' गरी ॥

८६
मानी त्यो हंसको श्रेणी पुग्यो मानसरोवर ।
अपमान जहाँ हुन्छ वहाँ को वास गर्छ र ?

८७
तामे ढुक्कुरका भाले करायेर घुमी घुमी ।
नाचेका देखदा-खेरी मन हुन्छ रिमी-झिमी ॥

८८
नाचे पुच्छर हल्लाई बोली फेरि चिभे-चरी ।
वियोगिनी निभायेका कालका दूतिका-सरी ॥

८९
झर्नाले शिरको सारा भुवा सारौँ कठैबरी !
मुडुला भै घुमेका छन् मानू क्षपणकै-सरी ॥

९०
इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ थरी-थरी ।
अप्सराले खसालेका रत्नका हारको सरी ॥

९१
गर्मी-रूपी बडो तेजी अल्झेको मेघ-पाशले ।
मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले ?

९२
अँध्यारो मुख लायेर मेघ लत्र्यो जती जती ।
उज्यालो खेतिवालाको चित्त हुन्छ उती उती ॥

९३
लाम्खुट्टे रोकनालाई मेघ-रूपी ठुलो झुल ।
हाले कि दिननाथैले छोपी टम्म नभस्तल ?

९४
घूम-घाम अघी हुन्थ्यो बीचमा खालि घाम भो ।
अहिले घूमको काम, 'घूम-घाम' तमाम भो ॥

९५
साध्य छैन यहाँसम्म हरियाली बढ्यो भनी ।
पन्नाको कान्ति झल्कन्छ ईंट पत्थरमा पनि ॥

९६
बिझाउने बडा ठाडा देखदा बाँसका मुना ।
गाम पिर्ने पिराहाको मनमा हुन्छ सम्झना ॥

९७
हेरी नशकनू पारी परखाल बडेबडे ।
नेपाली कविले खुट्टा काटेका वर्ण झैँ लडे ॥

९८
धपक्क मेघको घुम्टो हाली कुल-बधू-सरी ।
दिगङ्गना बसेका छन् लुकाई मुख-माधुरी ॥

९९
लोकोपकारमा सुम्प्यो मेघले सब जीवन ।
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे ! किन ?

१००
वर्षाको शुरुमा हर्ष अन्त्यमा पनि हर्ष छ ।
विशेष अरुमा भन्दा वर्षामा यो प्रकर्ष छ ॥

१०१
हुन त मधुर मेरो छैन वर्षा-विचार
नजर गरनु-होला तैपनी एक बार ।
भनिकन कर जोडी हार्दिक स्नेह-साथ
गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥

इति वर्षा-विचार