Jump to content

Page:Tarun tapasi.pdf/87

From Nepali Proofreaders
This page has been validated


कुनै द्यौता जस्ता सुघर, सुकिला बाहिर भने
कलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने ।
कुनै काला, मैला, मलिन, फुहरी बाहिर भने
मुटू छामी हेर्दा हृदय सहसा गद्‌गद हुने ॥


हजारौँ के ! लाखौँ पथिकहरुमा भित्र सुकिला
थिये यौटा दोटा, अरु सकल काला र कुचिला ।
कठै ! रुञ्चे दुःखी हृदय सबको लाखन थरी
दुराशाले गर्दा गरम ऋतुको चातक सरी ॥


कसैलाई कोही न अनुभव विश्रान्ति-सुखको
कसैको देखिन्थ्यो न त चहकिलो कान्ति मुखको ।
जता हेर्‍यो तृष्णामय विकट 'कालाज्वर' उठी
डढेको छातीमा हरबखत कालो भुटभुटी ॥