२७
अँध्यारा पैसाको अति जटिल जालोबिच परी
झिँगा झैँ संसारी मनुज बिचरा भुन्भुन गरी ।
मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटी
कठै ! के फुत्कन्थे तर सब तिनी प्राण नछुटी ?
२८
विषालू पैसाको विकट बढदो व्याधि सरुवा
छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा ।
बगैँचा ब्रह्माको सब सहज खङ्गार नगरी
कठै ! तेसै जाला कठिनतम यो व्याधि कसरी ?
२९
कडा जोशी, दोषी, तमक, हठ वा गर्व-गुरुता
अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता ।
सबै हो यै पैसामय जहरको ग्याँस ननिको
हर्यो जस्ले सारै सकल सहसा मर्त्य-जुनिको ॥
३०
सदा यै पैसाले कठिन हिमले पङ्कज सरी
थिची दैवी सम्पद् गुण-मधुरिमा सोत्तर गरी ।
लतारेको देख्दा अब भुवन भो सङ्कटमय
भनी बाधा मानी हरबखत यो रुन्छ हृदय ॥
३१
भनून् अन्धा लोभी मनुजहरु पैसाकन धन
म सम्झन्छू शा(सा)पै कुटिल विधिको त्यो सनिधन ।
कठै ! जस्का लागी अबुझ दुनियाँ लाखन थरी
विपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी ॥
३२
इनै पैसा उम्ली तमकसित शस्त्राऽस्त्रहरुको
झिकी तीखो जिभ्रो जुग जुग कठै ! जीवहरुको ।
गला काटी तातो रगतकन चाटी लपलपी
अकालैमा कालाऽनल विकट फुक्छन् धपधपी ॥
Page:Tarun tapasi.pdf/79
Appearance
This page has been validated
