१९
हवाको नाघी त्यो खटन बँटवारा हठ गरी
जथाभावी डोकाहरुसहित जाबीतक भरी ।
बटुल्थे लोभीले जब अधिक खाना अनि पछि
म भन्थेँ त्यो देखी मनमन घिनाईकन छिछिः ॥
२०
जती जो चाहिन्थ्यो जठर-हरिको खातिर उति
लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति !
त्यसैले गर्दामा कति गरिबको भाग हरियो
विधाताको खाताउपर सब त्यो पाप दरियो ॥
२१
कठै ! रित्तो पारीकन सब सदावर्त-भवन
हरी सारा साजा पथिकजनको जीवन-धन ।
लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी
कुहाई थन्क्याई कसरि शुभ होला ? हरि ! हरि !!
२२
सबै खाये पक्का पिर अपचको पर्दछ कडा
नखाये अर्कैले हरण अथवा गर्छ झगडा ।
कठै ! बाधैबाधा उभयतिर देखिन्छ त पनि
भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी ॥
२३
वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी
धनी बन्छौँ भन्दै कृपण-विधिमा लम्पट परी ।
कठै ! अन्धा लोभी मनुज फिर मौरी दुइ थरी
अशान्ति-ज्वालामा मुफत किन जल्छन् ? हरि ! हरि !!
२४
जमाई देखाई महजडित चाका र चकला
अभागी मौरीले मनुजहरुमा सञ्चय-कला ।
शिकायो होला वा मनुज-पशुको नक्कल गरी
बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि ॥
Page:Tarun tapasi.pdf/71
Appearance
This page has been validated
