Jump to content

Page:Tarun tapasi.pdf/61

From Nepali Proofreaders
This page has been validated


सुखा जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन
अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन ।
खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी
कठै ! मानू गन्थ्यो कठिनसँग त्यो जीवन-घडी ॥


क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको
अवस्थाले गर्दा लय-समय वा मृत्यु-तिथिको ।
दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि
म शक्थेँ त्यो सारा सहन कसरी निष्ठुर बनी ॥


कठै ! त्यो दुःखीको उस बखत जो हालत थियो
सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो ।
भयेँ केही वेलातक म पनि जीवन्मृत सरी
पछी उर्ले मेरो हृदय-दहमा तर्क-लहरी ॥