Jump to content

Page:Tarun tapasi.pdf/52

From Nepali Proofreaders
This page has been validated

१५
घडी बग्थिन् गङ्गा परम शुचिता सेचन गरी
घडी आई-पुग्थे हरकिसिमका देव-नगरी ।
घडी नीलो तारा-जडित गगनै झ्वास्स छिनमा
स्वयं आई पस्थ्यो हृदयमय सानू सदनमा ॥

१६
घडी देखा पर्थ्यो चमचम गरी दीर्घ बिजुली
घडी आत्मज्ञानी पुरुष अथवा सिद्ध सकली ।
घडी पानी पानी सबतिर छताछुल्ल धरणी
घडी आगो बल्थ्यो धपधप, घडी वासरमणि ॥

१७
न मिल्थ्यो त्यो शिक्षा सितिमिति कुनै शास्त्रहरुमा
न वा ज्ञानी ध्यानी धरणितलका सिद्धहरुमा ।
लिँदा एकै गोता निमिषभर चुर्लुम्म जसमा
रसीलो निस्कन्थ्यो पल पल चमत्कार-सुषमा ॥

१८
अहो ! यस्तै यस्ता अघट घटनारूप चटक
मजा मानी भित्रै अनुभव गरी धेर पटक ।
पछी सुस्तै मेरो चपल मन त्यो कौतुक भुली
झुली लिन्थ्यो निद्रामय अतुल शय्या मखमली ॥

१९
उषाले यस्तैमा पवनमय पङ्खा सिरिसिरी
ममाथी हम्कन्थी, तर मकन लाग्थ्यो किरिकिरी ।
म झोक्रिन्थेँ, भन्थेँ किन सब टुट्यो कौतुक, भनी
कडा रातो देख्थेँ गगन-गुरुजीको मुख पनि ॥

२०
बित्यो रात्री सारा, तम पर सर्‍यो, सर्र रविको
प्रभा झुल्क्यो, टल्क्यो टलक कलना-तुल्य कविको ।
बनी अर्कै निस्किन् प्रकृति-जननी, विश्वभरमा
रमायिन् चौतर्फी विकसितमुखी जागृति-रमा ॥