१८
कहाँ त्यो सुत्केरी प्रणय-पुतली ! त्यो गुँड कहाँ !
कहाँ प्यारा साना शिशुहरु ! कठै ! त्यो सुख कहाँ ।
कहाँ प्रेमी साथी ! स्मरण पनि हा ! कष्टमय भो
कठै ! मेरा लेखा अब सब कुराको प्रलय भो ॥
१९
न चाँडो जाने भो सहजसित यो प्राण-पवन
न शक्छू यो बाधा सहन अथवा शान्त रहन ।
न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगति
कठै ! कस्तो पापी कति कुपित यो क्रूर नियति ॥
२०
सिला खोजी चर्ने सफर-सुख गर्ने गगनमा,
ठहर्ने शाखामा, मधुर सुर भर्ने पवनमा ।
सिधा-सादा, निर्धा विहगकन मार्ने नियतिले
दियेकी हुन् के त्यो करयुगल माता प्रकृतिले ?
२१
नजानी आनन्दी मनुज-कुलको उन्नति-कला
म जस्ता निर्धाको बलसित अँठ्याईकन गला ।
वृथा त्यस्तो चोखो करयुगल त्यो दूषित गर्यौ
धरित्रीमा कालो जहर अथवा पातक छर्यौ ॥
२२
दया राखी हाम्रा उपर विधिले कार्य-कुशल
दिँदो हो ता तिम्रै सदृश बलियो बाहुयुगल ।
पुगी टाढा टाढा फलफुल टिपी लाखन थरी
भरी-दिन्थ्यौँ ल्याई प्रणयसित तिम्रा घरभरी ॥
२३
चुचो साह्रै सानू धन फगत हाम्रो छ त पनि
कुनै देख्नासाथै थकित जन भोको रुखमनि ।
चुचैले पाकेको फलफुल चलाई बल गरी
खसाल्थ्यौँ, त्यो खाओस् भनिकन दयाको वश परी ॥
Page:Tarun tapasi.pdf/46
Appearance
This page has been validated
