Jump to content

Page:Sunko bihani.pdf/31

From Nepali Proofreaders
This page has been proofread
फूल-परी

(१)
बगैंचामा मेरा रङबिरङका छन् कति परी
कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि ।
सिंगारेका छाँटी मगमग छिटो अत्तर मिही
लगाएका सारी नरम रँगिला रेशमसरि ॥

(२)
हरीया खोपीमा टहल छ हवाको हरहर
सधैं नाच्ने झुल्ने चलमल हुने नै छ रहर ।
लगाई हीराको टप झलल हाँसी मुसुमुसु
इशाराले डाकी मसँग सब गर्छन् खुसुखुसु ॥

(३)
चरा पंखी राम्रा नरम रङ पत्ती फरहर
उडूँ झैं बस्छन् ती वरपर हररर ।
कलीला यस्ता छन् कि त छुन पनी लाग्दछ डर
फुका छाती बोल्छन् मसँग परबाटै सब तर ॥

(४)
"कहाँदेखिन् आयौ भनन सुकुमारी वनपरी ?"
भनी सोद्धा भन्छन् मुसुमुसु बनी लज्जितसरि ।
"जहाँ झुल्छन् रंगी नरम कलिला बादलभरी ।"
जहाँ फुल्छन् ऊँचा धनु रंग मिसेका बहु थरी ॥