Jump to content

Page:Sunko bihani.pdf/12

From Nepali Proofreaders
This page has been proofread

पैसा सिकाउँछ सबै जनमा चलाखी
पैसा बनाउँछ, गराउँछ दोष माफी ।
पैसा भए छुटिगए दुखदाग साफी
देखिन्न हेर दुनियाँभरमा खराबी ॥
यो पापको तर छ बीउ अनेक काला
चल्छन् छुरी र तरवार अनेक भाला ।
चिन्ता बढाउँछ यही मनभित्र ज्वाला
यो दु:खको घर छ घोर खराब छाला ॥
हुन्छन यसैक भजी सब काटमार
हुन्छन् नजीक यसका सब धर्मसार ।
राम्रा कुरातिर लगाउनु हुन्छ स्वर्ग
गर्दा खराब तर लाग्छ अनेकतर्फ ॥
पैसा सँगाल तर खूब स्वभाव जान
लागू नहोस् तर बनोस् सुखको मुहान ।
पैसा हुँदा पुछिदिनु दुख आँसुदाना
गर्नू सकेभर भलाइ नठान्नु साना ॥
यो हातको हक भनीकन धर्म निंति
गर्नु सधैं असल बाबु छ यत्ति विन्ति ॥