Jump to content

Page:Shakuntala.pdf/56

From Nepali Proofreaders
This page has been proofread
पञ्चम सर्ग

यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन ।
आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन्‌ दिन ॥
बन्दो कुड्मल फुल्दथ्यो हृदयको संवादसौगन्ध्यमा ।
बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥
(१)

चल्छन्‌ वन्य समीर मन्द गतिका आनन्दमा मन्दमा ।
हुन्छन्‌ रङ्ग अनङ्ग वाणहरुमा भूङ्गादिका सङ्गमा ॥
स्वादु स्पर्श प्रसून शीतल लिँदै ती छालको छन्दमा ।
आनन्दी वनका सुगन्ध मनका छर्छन्‌ फुली रङ्गमा ॥
(२)

उड्दा स्वर्ण-पखेरु चारु दिन छन्‌ लाली सुनौलासँग ।
गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥
प्याला फूल छ, चाँदनी रस भरी पङ्खा छ हाँगाभरी ।
कल्लोली मृदु अप्सराहरु नटी छन्‌ नाच्न कल्कल्‌ गरी ॥
(३)

राम्रा वन्य कुरा सबैतिर त्यहाँ स्वादिष्ट छन्‌ रञ्जन ।
मिल्छन्‌ पुष्पसुरा र मूल, फलका आनन्दका व्यञ्जन ॥
त्यस्तो प्राकृत मञ्जरी रँग फुटी हिल्दा लतागेहमा ।
पाउँ बस्न त बन्दथें त्रिभुवनी राजा भई रङ्गमा ॥
(४)