त्यहाँ शुभ्र सोताहरू खान पानी ।
झरे झैं सफा बाग झैं देखिनाले ॥
जटाजूटका दिव्य ती कण्ठभूषा ।
सुगन्धी फुली केश झैं धूर्जटीका ।
झरेतुल्य नाला थिए क्षेत्रमाथि ॥
(२३२)
ओर्ल्यो दिव्य विमान शैल-शिरमा फाटेर हुस्सू अब ।
देखिन्थ्यो तल दृश्य चार महिमा चीरा परी गौरव ॥
साना छन् कुइरा यताउति अझै देखिन्छ नाला पनि ।
झीनो बाफ उठेर मिर्मिर हुने क्यै वक्ररेखा बनी ॥
(२३३)
किरण सूर्यका प्रथम कोमल ।
समर गर्दथे बाफका तल ॥
विविध रङ्गमा जुट्न गैकन ।
ठाउँ ठाउँमा हृदयरञ्जन ॥
(२३४)
अरुण कान्तिले वरुण-स्वप्नमा ।
थोर बेरको मृदु विलास ली ॥
शुभ्रता लिँदा बिउँझिँदो जगत्-
तुल्य दृश्य त्यो ललित देखियो ॥
(२३५)
सलिलसुन्दरी त्वरित निम्नगा ।
झलल भल्किइन् धवल रश्मिमा ॥
(२३६)
कोरिई सफा लहलहाउँदा ।
हरित खेतका कोण सुन्दर ॥
स्पष्ट बन्दछन् प्रबलता लिँदो ।
गगन दीपका धवल रश्मिमा ॥
(२३७)
Page:Shakuntala.pdf/361
Appearance
This page has been proofread
