त्यहाँ आँखामा छन् चमक हँसिला दिव्य सुखका ।
जहाँ व्याधा छैनन्, शरहरु न पुग्छन् निठुरका ॥
खुलस्ती आनन्दी दिलभर भई कण्ठ भरिला ।
त्यहाँ बोल्छन् पन्छी मृदु किरणले प्रेरित भला ॥
(१८१)
कन्याई चुच्चाले जिउतिर मिलाईकन भुवा ।
गरी फर्फर् राम्रो सुरभित चलाई मृदु हवा ॥
यसो तानी घाँटी लघु ढलक ली दृक् चमकका ।
हँसीला वाणीले हृदयकन छुन्छन् कति निका ॥
(१८२)
सफा ऊँचा मीठो विधुलसित आनन्द हलुका ।
सूगन्धी ज्यूनाको रसमधुरता लीकन निको ॥
बने झैं हृद्वाणी पुलकित त्यहाँ प्राकृत ध्वनि ।
सुखै झैं ज्यूनाको मुखरित छ हाँगाहरुमनि ॥
(१८३)
यहाँका हावामा अमृत-रसको गन्ध हलुका ।
यहाँका दृश्यैमा मधुर सुषमा फुल्दछ फिका ॥
यहाँका शब्दैमा दुखरहितताको मृदुपना ।
छ झल्केकी बागै कलकल सुखाऽस्वादन घना ॥
(१८४)
नयाँ बोली मीठा अवनितलमा नै नसुनिने ।
नयाँ झल्का राम्रा उदधि पृथिवीबीच नहुने ॥
मसीना तृष्णाका सकलपन झैं शोभन मिही ।
त्यहाँ क्यै पाइन्थ्यो जुन रहित भै दुःख छ मही ॥
(१८५)
त्यहाँका फूलैमा रँगहरु नयाँ क्यै मधुरता ।
नयाँ बान्की, अर्कै ढँग मृदुलता दिव्य हलुका ॥
छिनाले ब्रह्माको कनकमय मानो कुँदिइँदा ।
बने झैं रेखा छन् हृदयकन सन्तोष रहने ॥
(१८६)
त्यहाँको सन्तोषै पनि न छ दिने श्रान्ति दिलमा ।
छ यौटा नै बाँकी अब लघुसिँढी पूर्णतिरमा ॥
Page:Shakuntala.pdf/353
Appearance
This page has been proofread
