बनी मीठा बान्की सरस कलिला भै लहलह ।
शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥
जुनेली आभामा अलि अलि दिने चारु झलक ।
रसीला राम्रा छन् मधुमय सुगन्धी किसलय ॥
हिलेका हाँगामा मृदु अनिलले लोल ललित ।
इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥
छिटो ज्यूँदो मीठो सरसपनका कोमल मुना ।
कतै झुप्पा झुप्पापसित चलिरहेछन् छुनुमुना ॥
(१६९)
त्यहाँका चाला नै रसमय उज्याला मृदुकला ।
त्यहाँ छैनन् केही विरह-गर्हुँगा भाव अमिला ॥
छ अस्तित्वै सत् झैं पुलकमय रङ्गीन हलुका ।
हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला ॥
(१७०)
लिपिन्छिन् बास्नाले सरस छविले भूमि सिहँली ।
फुलेका छन् ढुङ्गा पनि कुसुम झैं कोमल त्यहाँ ॥
नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय ।
थुँगा झैं ढुङ्गामा विधुकर झझल्किन्छ मधुर ॥
(१७१)
कतै ता बोल्ने छन् तरु पनि मुनामा स्वर भरी ।
झरेका अर्नाका निकट रजत-स्वादु लहरी ॥
छ छं छं छं छं छे सलिल स्वरमा गानतरल ।
सधै नाची बोल्छन् मुखरित हुँदा वृक्ष मृदुल ॥
(१७२)
कुँदेका जस्ता छन् दलहरु हरा बोटहरुका ।
त्यहाँ ज्यादा देख्थे नृपति सुख चैतन्य तरुका ॥
नदेख्ने भै आँसु प्रखर दुखका पार्थिवकण ।
सुधाले पोषेका तरुवर फुलेका सुखसँग ॥
(१७३)
जहाँ जन्मै छैनन् मरणहरुको अन्त पनि नै ।
जहाँ दुःखै छैनन्, कटु वचन काँढा पनि न छ ॥
Page:Shakuntala.pdf/351
Appearance
This page has been proofread
