अझ माथि रहेकै छ जहाँबाट लिई कर ।
हामी फुल्छौं र फल्दा छौं पाउँछौं दिव्य स्न्दर ॥
पूर्णता अझ पाइन्न स्वर्गमा पनि सुन्दर ।
ब्रह्माको वासना एक बाँकी नै छ अगोचर ॥
हजाराँ चन्द्रमा निस्की हाँसेको छ नभस्तल ।
सपना झैं बनाएर प्रेमको स्वर्ग मञ्जुल ॥
तर ती चन्द्रमा यौटै ब्रह्मा-भास्कर-रश्मिले ।
प्रतिभासित छन् सारा स्वर्ग राम्रो तुल्याउन ॥"
(१६२)
हेरे दुष्यन्तले माथि विष्णुका मुसकान झैं ।
सुधा-रश्मि हजाराँमा पुष्पको दिव्य बाग झैं ॥
विचित्र व्योमको बल्दो सपनामय आकृति ।
झझल्ल झल्ल झल्केका चन्द्रमाहरुका गति ॥
शान्त आनन्दका ज्योति मुस्कुराहट मौन झैं ।
जीवनी-शक्ति पीयूष छर्दथे शीत रश्मिले ॥
व्योमको तर्फ फर्केर इच्छा गर्दा मनोहर ।
अनुसारी झरी ज्योति, फुल्ने फल्ने सबैतिर ॥
(१६३)
शान्तिको सूचना दिव्य जस्तो त्यो वायुमण्डल ।
पियो जत्ति हुने उति तृप्त-आनन्द शीतल ॥
आत्माले दिव्य आनन्द यही हो भन्दथ्यो त्यहाँ ।
सत्यचेती होश पनि बन्थ्यो गद्गद नै जहाँ ॥
नसामा चल्दथे नाला कल्कलाई मिही ध्वनि ।
शिरा शिराभरि 'राम' अभिराम जगाउँदै ॥
प्रशंसातुल्य आनन्द, आनन्दरसरि तारिफ ।
तारीफ झैं भजनको प्राकृतध्वनि मञ्जुल ॥
सङ्गीतमय भै चल्दा बीन झैं दिव्य जीवनी ।
हर्षोत्फुल्न बनी यूँथ्यो सच्चिदानन्दको ध्वनि ॥
निर्मलाएर आए झैं हृद्व्योमी शारदीयता ।
बन्थ्यो प्रभा-पटलले गोल आनन्द झैं सफा ॥
पृथिवी नफिरूँ जस्तो, नसम्झू झैं अरू करा ।
Page:Shakuntala.pdf/348
Appearance
This page has been proofread
