विशाल त्यो लोक थियो उज्यालो सत्वमण्डल ।
देखिन्थे देव त्यसमा भर्दा गगनमण्डल ॥
(१५१)
ग्रह-गोलाहरु धेरै थिए त्यो लोकमा सफा ।
काँच गोलाहरू जस्ता अथवा स्फटिकप्रभा ॥
(१५२)
प्रतिबिम्बित आभाले आभासित मनोहर ।
सात चन्द्र थिए साथै मुस्किएका सुधाकर ॥
(१५३)
ताराका बदला सारा देवता ज्योतिरूपका ।
साकार शान्त देखिन्थे पङ्खवाला यताउता ॥
(१५४)
कोही अचल देखिन्थे कोही चल्थे मनोहर ।
पङ्ख चालेर सङ्गीत सुरमा ताल सुन्दर ॥
(१५५)
देखिए ऋषिका मूर्ति तपमा ध्याननिश्चल ।
स्वर्गङ्गातीरमा बस्दा, काँसकेशी समुज्ज्वल ॥
(१५६)
बालुवाका कणा जस्ता ताराले लहरीमय ।
गङ्गा बग्छिन् पवित्रै ती व्योममा कवितामय ॥
(१५७)
त्यहाँका लहरी बोल्थे विश्वसङ्गीतका स्वर ।
जो हुन्छन् मर्त्य-आँखामा ज्योति झैं तल मिर्मिर ॥
(१५८)
चम्किला ती जूनमा छन् फुल्दा द्रुमलताहरू ।
सिँगारिएका शोभा झैं कामिनीका सुकोमल ॥
(१५९)
अमृताऽऽलोक बास्ताले हँसिलो स्वप्न सुन्दर ।
चकोर नेत्रमा पर्छन् प्रेमले क्यै मदाऽऽलस ॥
रोमाञ्च बल्किँदा गात्र सुगन्धानिल स्पर्शमा ।
ढल्किन्छन् सुस्त ती बैंसे सोर्हशृङ्गारले भरि ॥
Page:Shakuntala.pdf/346
Appearance
This page has been proofread
