दुष्यन्तले गरे झट्ट सङ्गीतास्त्र प्रयोग र ।
लाग्यो आकाश नै सारा गाना गर्न मनोहर ॥
(१११)
जिज्ञासा दैत्यको जन्म्यो नयाँ अज्ञानप्रेरित ।
सन्तोष नभई पूरा दैत्यको हृदयङ्गत ॥
(११२)
"को होला त्यो ?" प्रश्न उठ्यो, त्रास अज्ञानको उठ्यो ।
अडे टक्क बनी छक्क खोजी चर्चा त्यहाँ बढ्यो ॥
(११३)
न आउने हो ओर्लेर खान त्यो दैत्यको कल ।
न त्यो सलहको गाना न वा माया न वा छल ॥
(११४)
प्रश्न लाखौं उठे भित्र विचित्रसँग त्यो क्षण ।
लाखौं भाव नयाँ जन्मे विश्लेषण लिनाकन ॥
(११५)
जिज्ञासा कान ठाडा नै आफूबाहिरका कण ।
काँपीरहेका सुन्ने भै रङ्मगाई घनाघन ॥
(११६)
कल्पना पङ्ख हालेर उड्छे बाहिर निस्किई ।
स्थिरता क्यै नपाएर रूप रङ्ग नयाँ भई ॥
(११७)
रङ्गीचङ्गी बनी राम्रा पातला भाव नाच्दछन् ।
लदिन्छन् क्षणमै फेरि क्षणमै आफु जाँच्दछन् ॥
(११८)
अनेक रङ्गका भाव विषाक्त मधु-मोहन ।
नाच्न लागे घुसी भित्र दैत्यका दलमा घन ॥
(११९)
आशा जस्ता कतै, भाषा जस्ता मीठा विदेशका ।
त्रास जस्ता कतै मीठा सबका दिलका फिका ॥
(१२०)
Page:Shakuntala.pdf/342
Appearance
This page has been proofread
